भ्रष्टाचार नगर्ने कसम खाँदै ललितपुरमा विवेकशीलका मेयर उम्मेदवार घोषणा – Nepal Press

भ्रष्टाचार नगर्ने कसम खाँदै ललितपुरमा विवेकशीलका मेयर उम्मेदवार घोषणा

ललितपुर । विवेकशील–साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ ।

मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो । पार्टीको बागमती प्रदेशका संयोजकसमेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरी भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका थिए ।

ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले बताए ।

सबै पार्टीहरूले ठुला–ठुला सपना देखाएर पूरा नगरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठुला–ठुला सपना देखाउँदिन । तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु । इमानदारी मेरो पहिलो सर्त हो ।’

कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘विश्वमा अमेरिका भन्ने देश पत्ता नलाग्दै र काठमाडौँ र भक्तपुरको सभ्यता सुरु नहुँदै पाटनको सभ्यता र वैभव थियो । हाम्रा पिता–पुर्खामा रहेको सांस्कृतिक र पुरातात्त्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न सकिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर