फोहोर उठाएर अनाथ आश्रम बनाउँदै पूर्वलडाकु ‘कमरेड मौसम’ – Nepal Press

फोहोर उठाएर अनाथ आश्रम बनाउँदै पूर्वलडाकु ‘कमरेड मौसम’

झापाको अर्जुनधारा, बिर्तामोड, बुट्टाबारीलगायतका स्थानहरुमा एक व्यक्ति फोहोर टिपिरहेका छन् । हुलियाले उनी फोहर टिपेर गुजारा गर्ने जस्तो देखिँदैनन् । तर फोहरसँग साइनो गाँसिरहेका यी व्यक्ति हुन् अर्जुनधारा नगरपालिकाका गणेश ढुंगाना । ढुंगाना माओवादी पूर्वलडाकु हुन् ।

२०३५ साल असोज ५ मा जन्मिएका गणेश स्व. कुमार ढुंगाना र सविता ढुंगानाका एकमात्र सन्तान हुन् । बुवालाई देख्न नपाएका ढुंगानाले दूध खाँदै आमा गुमाए । अनि टुहुरो बने ।

उनले स्कुल देखेमात्रै । औपचारिक शिक्षा हासिल गर्न पाएनन् । गणेशका अनुसार आमाको मृत्युपछि स्थानीय समाजसेवी कुसन अधिकारीले उनलाई हुर्र्काए र बढाए ।

आमाको माया र बुवाबाट संस्कार पाउन बञ्चित गणेशका आफन्त भन्नेसमेत कोही थिएनन् । हुर्के बढेपछि गणेश आफूलाई सहारा दिने अधिकारीसँगै चक्र सिटौला र गोमा सिटौलाको घर छाडेर हिँडे । झापा छाडेपछि आफ्नो ओछ्यान सडक र सिरक आकाश भएको उनी बताउँछन् । ‘उमेर बढ्दै गयो । अर्काको घरमा कति बस्नु भनेर उहाँहरुको घर छाडेर हिँडें । अहिले सडकमै मेरो बास छ’, उनले भने ।

कहिले इटहरी, कहिले धरान त कहिले विराटनगर र झापाको बिर्तामोड पुगेर प्लाष्टिक टिपेर दिनहरु कटाएको उनले बताए । दुई छाक खानकै लागि प्लाष्टिक टिपेको तर प्लाष्टिक टिप्दा पनि धेरैको भनाइ खानु परेको उनी गुनासो गर्छन् । ‘प्लाष्टिक टिप्दा कतिले खाते खान नपाएको भन्थे त कति पिट्न पनि पछि पर्दैनथे’, उनले भने, ‘यस्तो भोग्नुपर्दा दुःख लाग्छ ।’

गणेशको दैनिकी चलिरहेको थियो । देशमा आमूल परिवर्तनको नारा दिएर नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ फागुन १ देखि जनयुद्ध सुरु गरेको घोषणा ग¥यो । हुनेखानेदेखि हुँदा खाने परिवारका अधिकांश युवामा जनयुद्धको प्रभाव पर्दा गणेश अछुतो रहने कुरै भएन । जनयुद्धले देश तथा विदेशमा चर्चा पाइरहेको थियो ।

गणेश २०५९ साल साउन १९ गते माओवादीको जनसेनामा लामबद्ध हुन पुगे । अर्काको घरमा बसेर घाँस काटेका, हलो जोतेका र प्लाष्टिक टिपेका उनले जीवनमा बन्दुक बोकेको अनुभव पनि संगाल्यो । हातमा बन्दुक आएपछि उनी गणेश ढुंगाना नभई ‘कमरेड मौसम’का नामले चिनिन थाले ।

उनले धेरै मोर्चामा लडाइँ लडेको अनुभव लिन पाएन तर पूर्वी नेपालका केही लडाइँमा आफू बाँच्न सफल भएको उनी बताउँछन् । लडाइँमा सँगै गएका केही साथी ढलेको सम्झँदा गणेश अहिले पनि भावुक हुन्छन् । उनले भने, ‘लडाइँका मोर्चामा सँगैका साथीहरु ढल्दा नरमाइलो लागे पनि त्यसबेला दुश्मनलाई जहाँ भेट्यो त्यही मार्छु जस्तो गरी रगत उम्लिन्थ्यो ।’

माओवादीमा स्वेच्छिक अवकास

माओवादी जनयुद्धको बलमा भएको २०६२–०६३ को जनआन्दोलनले नेपालमा ठूलो परिवर्तन भयो । देशमा गणतन्त्र स्थापना भयो । जनताले पनि आफ्नो जीवनमा परिवर्तन हुने सपना देखेका थिए । जुन सपना क. मौसमले पनि देखेका थिए । तर त्यो सपना सपनामै सीमित रह्यो । ‘धेरै सपनाहरु थिए । म जस्ता अनाथ, विपन्न र हुँदा खानेको जीवन परिवर्तन हुने आशा थियो’, उनले भने, ‘व्यवस्था परिवर्तन त भयो तर हामी जस्ताको अवस्था फेरिएन । हामीले झन् दुःख भोगिरहनु परेको छ ।’

कहाँ गयो माओवादी लडाकुको पारिश्रमिक ?

माओवादी लडाकुहरु क्यान्टोनमेन्टमा रहेको समय गणेश प्रथम डिभिजन कार्यालय ब्रिगेड चुलाचुलीको एफ कम्पनीमा कार्यरत थिए । नेपाल सरकारले उनीहरुलाई पारिश्रमिक उपलब्ध गराएको थियो । सोही पारिश्रमिकसमेत माओवादी लडाकुहरुले पूरा पाउँदैनथे । त्यो पैसा कहाँ गयो अहिलेसम्म अत्तोपत्तो छैन ।

गणेशले जस्तै अरु सयौं माओवादी लडाकुहरुले आफ्नो पारिश्रमिक सहिद कोषमा जम्मा गरेका थिए । पार्टीले त्यही निर्देशन दिएको थियो । सोहीअनुसार उनले आफ्नो पारिश्रमिकबापतको रकम २०६४ असार ११ देखि पार्टीलाई चन्दाको रुपमा बुझाए । जुन रकम कहाँ छ, अहिले गणेशलाई केही थाहा छैन ।

‘मासिक २ हजारका दरले आउने रकम सबै पार्टीलाई बुझाएका थियौं । त्यो रकम कहाँ उपयोग गरियो मलाई केही जानकारी छैन’, उनले भने, ‘झापाका पार्टीका मान्छेहरुलाई हामीले बुझाएको पैसा कहाँ छ, सदुपयोग गरियो कि दुरुपयोग भयो भन्दा कसैले यो ठाउँमा खर्च भयो भन्न सकेनन् । आखिर लडाकुसँग लिएको पैसा माओवादीले कहाँ हाल्यो ?’

आफूले पाउने रकम सबै पार्टीको सहिद कोषमा जम्मा गरेको कारण त्यो रकम कहाँ के भयो भन्नेसम्म आफूलाई थाहा नहुँदा पीडा अनुभूति हुने गरेको उनले बताए ।

जागिरप्रति आफ्नो कुनै चाहना नभएको बताउँदै उनले स्वेच्छिक अवकास लिएर माओवादी लडाकुबाट बाहिरिएको बताए । ‘मैले पाउने ५ लाखमध्ये म ७५ हजार रुपैयाँमात्रै लिएर हिँडें । म जस्ता सयौं लडाकुको पैसा कहाँ के गरियो, अहिलेसम्म केही थाहा छैन’, उनले भने ।

अनि अनाथ आश्रम बनाउने यात्रा सुरु भयो

उनी माओवादी सेनाबाट बहिर्गमन भएपश्चात गाउँ समाजमा केही गरौं भनेर लागि नै रहे । आफू अनाथ भएकै कारण अनाथहरुका लागि केही गरौं भन्ने सोचका साथ उनी अगाडि बढे । तर आर्थिक अवस्था कमजोर भएकाले २०७३ सालबाट फोहर संकलन थालेको गणेश बताउँछन् । फोहर व्यवस्थापन टाउको दुखाइको विषय भइरहेका स्थानमा गणेशले उदाहरणीय काम गरे ।

सुरुमा बोरामा फोहर बोकेर हिँड्दा उनलाई मानसिक रोगी भनेर धेरैले गिज्याए । तर अहिले उनको कार्य देखेर ती नै मानिसहरुले प्रशंसा गर्न थालेका छन् । गणेशले पनि स्थानीयलाई जथाभावी फोहर नफाल्न सचेतसमेत गर्दै आएका छन् ।

दैनिक संकलन गरिएको प्लाष्टिकजन्य फोहोर बिक्री गरी अनाथ बालबालिकाका लागि खर्चको जोहो गर्ने उनको उद्देश्य रहेको छ । त्यसैले फोहर टिप्नु नै गणेशको दैनिकी भएको छ । उनी भन्छन्, ‘मैले जस्तो दुःख र व्यथापूर्ण जिन्दगी कसैले भोग्नु नपरोस् ।’

गणेशले अनाथ आश्रम बनाउने आफ्नो योजनाबारे अरुलाई नभनेका होइनन् । तर धेरैबाट उनले सहयोगको आश्वासनमात्रै पाए । ‘प्लाष्टिकजन्य फोहर बिक्रीबाट आएको रकम बैंकमा छ । अब संकलन भइसकेको दुई ट्रक फोहर बेचेर आएको पैसा लगानी गरेर अनाथ आश्रम निर्माण थाल्ने योजनामा छु’, उनी भन्छन्, ‘केही उद्योगपति तथा विदेशमा हुने सहयोगी मनहरुबाट आश्वासन आइरहेको छ । जग्गाको निधो हुनासाथ भवन निर्माण गर्न केही समस्या छैन ।’

उनको अनाथ आश्रम निर्माण गर्न अर्जुनधारा नगरपालिका– ३ मा एक बिगाहा जग्गा उपलब्ध गराउने भनिएको छ । तर राजमार्गबाट टाढा भएका कारण कन्काइ कोटीहोममा पनि जग्गाको कुरा भइरहेको उनले बताए । कोटीहोममा जग्गा नमिलेको खण्डमा खुदुनाबारीमै पनि बनाउन पर्छ भन्ने सोचमा आफू रहेको गणेशले बताए ।

चुलो बाल्ने अभियान

यतिमात्र होइन, उनले कोरोना भाइरसको महामारीको पहिलो लकडाउन भएको तेस्रो दिन अर्थात २०७६ चैत १३ गतेबाट चुलो बाल्ने अभियान चलाए । उक्त अभियानअन्तर्गत नगरपालिकाको समन्वयमा उनले नगर क्षेत्रमा पहिलोपटक राहत वितरण गरेका थिए ।

उनले हालसम्म झापाको अर्जुनधारा, बिर्तामोड, मेचीनगरलगायतका स्थानमा ४ हजार ५०० बढी विपन्न परिवारलाई चुलो बाल्ने अभियानमार्फत सहयोग गरे । उनले हरेक परिवारलाई दाल, चामल, नूनसहित खाद्यान्न वितरण गरे । स्वास्थ्य उपचार नपाएका मृगौला तथा मुटुरोगीलाई उपचारमा समेत गणेशले सहयोग गर्दै आएका छन् ।

उनले आफ्नो अभियानमा साथ दिने पत्रकार मोहनकाजी न्यौपाने, रञ्जित परियार, समाजसेवी शेरबहादुर थापा, अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिका प्रमुख ध्रुव शिवाकोटी र जगत रानामगरलाई कहिल्यै बिर्सन नसकिने बताए । आफ्नो अभियानमा अमेरिकाबाट अरुण डाँगी र हेम थापा तथा कतारबाट डा. गणेश भट्टराईले पनि साथ र सहयोग गरेको गणेशले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर