नायक पल शाहविरुद्ध जबरजस्ती करणीकाे आरोपमा जाहेरी – Nepal Press

नायक पल शाहविरुद्ध जबरजस्ती करणीकाे आरोपमा जाहेरी

काठमाडौं । ‘रियल हिरो’ को उपमा पाएका नायक पल शाहविरुद्ध नाबालिगमाथि जवरजस्ती करणी गरेको आरोपमा जाहेरी परेको छ ।

एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् । गायिकाकाे तर्फबाट उनका बुबाले जाहेरीमा हस्ताक्षर गरेका छन् ।

नायक पलले एउटा कुराकानीमा उनीसँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । ती गायिका उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

पल र ती गायिकाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

यस्तै, ती गायिकाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथीहरूले उनलाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा उनी पुगेकी हुन् ।

हिजो काठमाडौंबाट दिदी-भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो ।

जाहेरीमा उनले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई कडा सजायको माग उनले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

जाहेरी दर्ता गर्नुअघि प्रहरीले उनको अडिओ/भिडिओ बयानसमेत लिएको थियो ।

यसअघि पनि उनले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले ती गायिकालाई बिहेको आश्वासन दिएर थामथुम पारेपछि उनी रोकिएकी थिइन् ।

अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । उनले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

पल र ती गायिकाको सम्बन्धबारे नेपाल प्रेसले पहिलोपटक खुलासा गरेको थियो । ‘रियल हिरो कि प्लेवाई’ शीर्षकमा गत शनिबार समाचार प्रकाशित भएपछि पलको समूहले ती गायिकालाई होस्टाइल बनाएर उक्त समाचार खण्डन गर्न लगाएका थिए । अहिले उनी उक्त समूहको चंगुलबाट बाहिर निस्केर प्रहरीमा पुगेकी हुन् ।

यो पनि पढ्नुस् : ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

यो पनि पढ्नुस् : समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर