समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ – Nepal Press

समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

काठमाडौं । मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।

समीक्षाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धोका खानुपर्छ, जस्तो समीक्षालाई भइरहेको छ ।

नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको रिलेसनसीप सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको सम्वन्धमा तीव्र उतारचढाव आइरहेको छ । केही समय प्रेमपछि पलले समीक्षालाई पन्छाउन खोजे । समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । समीक्षा ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको छ ।

पछिल्लो दिनको कुरा गर्ने हो भने पल र समीक्षा फेरि मिलेका छन् । नेपाल प्रेसले पलका ‘मल्टिपल रिलेसनसीप’ बारे शनिबार समाचार प्रकाशन गरेसँगै पलले समीक्षालाई अर्को एक राउण्ड फकाएका छन् । उनीहरूले आफूनिकट एउटा युट्यूव च्यानलमार्फत अन्तर्वार्ता दिएर समाचार खण्डन गरे । आफूहरूबीच असल मित्रता मात्रै भएको भन्दै उनीहरूले एकस्वरमा भने- अफेयरको कुरा झुट्टा हो ।

एकोहोरो प्रेममा परेकी नाबालिग समीक्षालाई पलको समूहले ‘होस्टाइल’ बनाइरहेको छ । होस्टाइल भन्ने शब्द अदालती भाषामा प्रयोग हुन्छ । त्यो भनेको कुनै पीडितलाई दबाब, प्रभाव वा धाकधम्की दिएर बयान फेर्न बाध्य पार्ने वा पीडकको पक्षमा उभिन लगाउने काम हो । समीक्षाका यसबीचका फेसबुक स्टाटस र उनले यो अडिओमा बोलेका कुरा सुन्दा उनी होस्टाइल भएको पुष्टि हुन्छ ।

यो पनि पढ्नुहोस् : ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

त्यसो त केही समयअघि उनी पलविरुद्ध जाहेरी दिन कास्की प्रहरीको शरणमा पुगेकी थिइन् । उनले यो अडिओमा पनि आफूलाई एसपीले छोरीजस्तै व्यवहार गरेर कानूनी लडाइँको लागि हौसला र आइडिया दिएको बताएकी छन् । तर, जाहेरी लिनका लागि कास्की प्रहरीको कार्यक्षेत्र नभएकाले उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । तर, पलले उनलाई पुनः होस्टाइल बनाएर कानूनी कारबाहीबाट जोगिएका थिए । नाबालिगसँगको सम्बन्धलाई कानूनले सहमतिमै भए पनि दण्डनीय अपराध मान्छ, त्यसका लागि पीडितले नै जाहेरी दिनु पनि पर्दैन ।

पाँच दिनअघिसम्म समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन् । गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन् । जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ । समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी छन् ।

समीक्षाले पलबाट पीडित बनेको भन्दै आफूले चिनेका केही मिडियाकर्मीहरूसँग पहिलेदेखि सहयोग मागेकी थिइन् । तर, नेपालको मनोरञ्जन पत्रकारितामा एक प्रकारको सिन्डिकेट छ । पलले मुलधारका थुप्रै मनोरञ्जन पत्रकार र युट्यूवर गोजीमै राखेका छन् । आर्थिक वा अन्य प्रभावमा परेर यस्ता पत्रकारले अहिले पनि पलको महिमा गाउँदै बोलिरहेको/लेखिरहेको पाइन्छ ।

धेरै पत्रकारले पलका विरुद्ध प्रशस्त प्रमाण भेटेर पनि कार्पेटमुनि लुकाएका थिए । त्यसैले यो सिन्डिकेटभन्दा बाहिर निस्किएर आफ्नो वास्तविकता बाहिर ल्याउन समीक्षालाई निकै सकस भइरहेको थियो । नेपाल प्रेसले गत ५ कात्तिकमा समाचार प्रकाशित गरेपछि यो विषय पहिलोपटक बाहिर आएको हो ।

शनिबार ‘रियल हिरो कि प्ले व्वाई’ शीर्षकको अर्को समाचार प्रकाशित भएपछि पल र उनको गोजीका पत्रकारबीच खैलाबैला मच्चिएको छ । समाचारलाई झूटो सावित गर्न उनीहरू जति लागिपरे पनि सत्य सत्य नै हुन्छ । हामी बिनाआधार-प्रमाणका काल्पनिक कथा छाप्ने ‘मनोरम कहानियाँ’ होइनौं । समाचार प्रकाशित भएपछि पलका थप दुई प्रेमिकाहरूबारे हामीलाई जानकारी प्राप्त भएको छ । यद्यपि, उनका प्रेमिकाहरू गनेर बस्नेभन्दा पनि ‘पल प्रवृत्ति’ लाई एक्सपोज गर्ने मात्रै हाम्रो ध्येय भएकाले धेरै खोजीनीति गरिएन ।

अधिकारकर्मी ओझासँगको कुराकानीमा समीक्षाले पलबाट आफू अन्याय परेको भन्दै उनलाई सजाय दिन चाहेको स्पष्ट शब्दमा बताएकी छन् । न्यायका लागि लड्ने समझदारीका आधारमा समीक्षाले उक्त कुराकानी गरेकी थिइन् । तर, समीक्षाको पछिल्लो अन्तर्वार्ताले ओझा आश्चर्यमा परेकी छन् ।

उनी भन्छिन्, ‘मैले समीक्षा बहिनीसँग कुरा गर्दा हिंसामा परेको महसुस गरेकी थिएँ । तर, दुई दिनपछि नै बयान फेरिनुमा उनलाई दबाब र प्रभावमा पारिएको हुनसक्छ । यस विषयमा महिला र मानवअधिकारमा काम गर्ने निकायहरूको ध्यान जानुपर्छ ।’

(समीक्षाको आग्रहमा अडिओ हटाइएको छ । असुविधाका लागि क्षमाप्रार्थी छौं । )


प्रतिक्रिया

4 thoughts on “समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

  1. मान्छेले थुतुना र मुतुना जोगाउनु पर्छ । नत्र त्य्स्तै हुन्छ।

  2. समिक्षाको धारावाहिक कथा नलेख्नु यार ऽऽ प्रगतिपथमा बढ्दै गरेको कोपिला हो । मानसिक टर्चर नदिनुस ।कानूनी लडाँई लड्नुपरे उनका परिवार आफन्तले सहयोग गरिहाल्छन नी

  3. लेख्नु पर्छ लेख्दै गर्नुस। हामि पाठक छौ तपाइको कलमलाई भाचिन दिदैनौ। नेपाली संस्कृतिमा बिकृति कसैले भित्र्याएको छ भने त्यो हो कलाकार। फोहर गाली राखेर फिल्म बनाउने , लव ,हेट ,बिबाह , लिभिङ्ग टुगेदर , बहु बिबाह आदि आदि , खासमा नेपालमा कलाकार आधा दर्जन मात्रै होला अरु त सेलेब्रेटी होइनन सेलरोटी हुन् । लेख्नुस पत्रकार महोदय अझै लेख्नुस

  4. यही होला तिम्रा खोज पत्रकारिता?यदि साच्चै अन्यायमा परेको हो भने उनको अभिभावक छैन?अन्य कलाकारहरु छैनन्?यस्ता अनर्गल समाचार पटकपटक प्रकाशित हुदा नाबालिक को मानसिकतामा कति असर पर्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर