कूटनीतिक बहिष्कार र भाइरस संकटबीच बेइजिङ ओलम्पिक सुरु (तस्बिरहरु) – Nepal Press
कूटनीतिक बहिष्कार र भाइरस संकटबीच बेइजिङ ओलम्पिक सुरु (तस्बिरहरु)
नेपाल प्रेस २०७८ माघ २२ गते १२:४३
२०७८ माघ २२ गते १२:४३

बेइजिङ । कोभिड-१९ महामारी, कूटनीतिक बहिष्कार र उइगुर समुदायमाथि चिनियाँ ब्यवहारजस्ता चुनौतिबीच बेइजिङ शीतकालिन ओलम्पिक्स सुरु भएको छ । शीतकालको झल्को आउने र नीलो प्रकाशमा हिउँ चित्रित हुन खाले भव्य समारोहबीच राष्ट्रपति सी जिनपिङले ओलम्पिक सुरुआत भएको घोषणा गरे । ९० मुलुकका ३ हजार खेलाडीले प्रतियोगितामा भाग लिएका छन् ।

बेइजिङ सहर शीतकालिन र ग्रीष्मयाम ओलम्पिक आयोजना गर्ने पहिलो सहर बनेको छ । सन् २००८ मा बेइजिङले समर ओलम्पिक गेम आयोजना गरेको थियो । विन्टर ओलम्पिकको शुभारम्भ समारोहमा ५००० वर्ष पुरानो चिनियाँ सभ्यता झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । शुभारम्भ समारोहमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुकलाई खेलकुद पावरहाउस बनाउने भनाई दोहोर्‍याए ।

कोरोना संकटको कारण ‘क्लोज्ड लुप’ भनिने ओलम्पिक भिलेजमा प्रतियोगिता आइरहेका छन् । उक्त थलोबाट खेलाडी र डेलिगेट्सलाई बाहिरी मानिसहरुको सम्पर्कमा जान दिइएको छैन । अन्तर्राष्ट्रिय फ्यानलाई पनि प्रतियोगितामा जान अनुमति दिइएको छैैन । तस्बिरहरु : सिन्ह्वा, एपी, एएफपी

क्यानडा, अष्ट्रेलिया, बेलायत, भारत र अमेरिकाले चीनको मानवअधिकार नीतिप्रति प्रश्न उठाउँदै कूटनीतिक बहिष्कार गरेका छन् । तर, ती मुलुकका खेलाडी र डेलिगेट्स भने ओलम्पिकमा सहभागी छन् । चीनले कूटनीतिक बहिष्कार गर्ने मुलुकले गल्तीप्रति मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएको छ । सिन्जियाङ प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक मुसलमान समुदायप्रति चीनले मानवअधिकार उल्लंघन गरेको आरोप ती मुलुकले लगाएका छन् ।

आगामी शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगिता इटालीका दुई सहरहरु मिलान र कोर्टिना डी अम्पेजोमा सन् २०२६ को फेब्रुअरी ६ देखि २२ सम्म आयोजना हुँदैछ ।