एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति – Nepal Press

एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

अखिल इन्चार्ज भन्छन्- पार्टीमा युवा पुस्ता हस्तक्षेपकारी भूमिकामा स्थापित भयो

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन महासचिव तथा हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब एमालेमा तीन लियरको नेतृत्व स्थापित हुने बताएका थिए ।

उमेर समूहका आधारमा उनले आफूहरूसहितको पहिलो पुस्ता, ४० वर्षमाथिका दोस्रो पुस्ता र भर्खरै युवा विद्यार्थी राजनीतिबाट अघि बढेको तेस्रो पुस्तालाई मिलाएर सबै तहको नेतृत्व अघि बढाउने पोखरेलको धारणा थियो ।

यसपटक जिल्ला अधिवेशनहरुबाट पोखरेलले सोचेभन्दा ठूलो संख्यामा ३० वर्षमुनिको विशेषगरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ । अखिल राजनीति गरिरहेकी आरती भण्डारी प्रदेश २ कमिटीको एमाले उपसचिव भएलगत्तै जिल्ला अधिवेशनमा ठूलो संख्यामा युवा विद्यार्थीको प्रतिनिधित्व देखिएको छ ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य रविन्द्र सुवेदी ३० वर्षको उमेरमा इलाम जिल्ला कमिटीको उपसचिव निर्वाचित हुँदै २३ वर्षकी कल्पना पाल दार्चुला जिल्ला कमिटीमा चुनाव जितेर सदस्य बनिन् ।

देशभर एकैसाथ सम्पन्न भएका एमाले जिल्ला अधिवेशनबाट २५ वर्ष उमेर समूहका सयौं युवा जिल्ला कमिटीमा निर्वाचित भएका छन् । यसपटक जिल्ला कमिटीहरूमा युवा नेतृत्व स्थापित भइरहेका बेला अनेरास्ववियुको विभिन्न कमिटीमा रहेका धेरैले पार्टी राजनीतिमा सफलता पाएको महासचिव समिक बडालले बताए ।

बाजुरा जिल्ला कमिटीमा २३ वर्षीया समी विष्टले जितेपछि देशभरका अखिल कार्यकर्ताले कान्छी सदस्य भन्दै बधाई दिए । उनकै उमेर समूहकी कल्पना दोङ अनेरास्ववियु काभ्रेको सहसचिवबाटै एकैचोटी एमाले जिल्ला कमिटी सदस्यमा फड्को मार्न सफल भएकी छन् ।

सोही उमेर समूहकी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् । एक वर्षदेखि उनी केन्द्रभन्दा जिल्लाको राजनीतिमा सक्रिय बनेकी थिइन् ।

पार्टी राजनीतिमा पाइला राख्दै भूगोलमा संगठन बलियो बनाउने भनेर जिल्लातर्फ लाग्नेमा अस्मिताजस्तै अखिलकी केन्द्रीय सदस्य सुष्मा रोकाहा पनि गोरखा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् ।

काभ्रे जिल्ला कमिटीमै यो उमेर समूहका कल्पना दोङ, सुनिता थापा, नवराज ढकाल, हरिशचन्द्र घिमिरेलगायत लोकप्रिय मतसहित चुनाव जितेका छन् भने इलामजस्तो सिनियर नेताहरूको प्रतिस्पर्धा रहेको जिल्लामा २५ वर्षीय प्रवेश पराजुली जिल्ला कमिटी सदस्य निर्वाचित भए ।

एक वर्षअघि नेकपा विभाजनको बेला गाउँपालिका कमिटी अध्यक्ष हुन पुगेकी अखिल स्थायी कमिटी सदस्य सजिना थापा मगर धादिङ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी छन् । अखिल उपाध्यक्ष कल्पना वाइबा र निशा अधिकारी यसअघि नै जिल्ला नेतृत्वमा स्थापित भइसकेका थिए । अध्यक्ष सुनिता बराल त एमालेको केन्द्रीय सदस्य भइसकेकी छन् ।

यसपटक देशभर जिल्ला अधिवेशनहरुले एमालेमा युवाहरुको वर्चस्व कायम गरेको र नयाँ जोश जाँगरसहितका युवा पुस्ताको आकर्षण देखिएको राष्ट्रिय युवा परिषद्का पूर्वउपाध्यक्ष समेत रहेका एमाले नेता तथा अनेरास्ववियुका इन्चार्ज माधव ढुंगलले बताए । ढुंगेलले एमालेमा हस्तक्षेपकारी भूमिकामा युवा अगाडि आएको बताए ।

जिल्ला अध्यक्षहरूमा समेत ४० वर्ष उमेर समूहका धेरै युवा नेता स्थापित भएका छन् । अखिल र युवा संघको राजनीतिबाट उदाएकाहरू जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा ठूलो संख्यामा स्थापित भएको ढुंगेलले जानकारी दिए ।

जिल्ला अध्यक्षहरुमध्ये उदयपुरका परमेश्वर घिमिरे, रामेछापका आनन्द श्रेष्ठ, ललितपुरका पुरुषोत्तम आचार्य, बागलुङका हिरा केसी, प्युठानका विजयविराज विष्टलगायत भर्खरै युवा र विद्यार्थी राजनीति छाडेर पार्टीमा गएका हुन् ।


प्रतिक्रिया

One thought on “एमालेका जिल्ला नेतृत्वमा ३० वर्षमुनिका युवा विद्यार्थीको आकर्षक उपस्थिति

  1. अनेरास्वबियु केन्द्रीय सचिबालय सदस्य कमरेड प्रदिप शर्मा २९ बर्ष पनि ललितपुर जिल्ला कमिटिमा निर्बाचित !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर