बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती २१ दिनपछि छुटे – Nepal Press

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती २१ दिनपछि छुटे

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र पत्नी माधवी २१ दिन प्रहरी हिरासतमा बसेर छुटेका छन् । बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन बिचौलियाको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान अपुरो रहेको भन्दै सीआईबीलाई फाइल फिर्ता पठाएपछि सुवेदी दम्पती मंगलबार छुटेका हुन् ।

सीआईबी प्रमुख धिरजप्रताप सिंहले सरकारी वकिल कार्यालयको अनुमति लिएर उनीहरूलाई छाडिएको बताए । ‘तत्काल मुद्दा अघि बढ्ने अवस्था रहेन । त्यसैले उनीहरूलाई छाडिएको हो’, डीआईजी सिंहले भने ।

किर्ते मुद्दामा पक्राउ परेको बढीमा २५ दिनभित्र अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने कानुनी व्यवस्था छ । सिंहले सरकारी वकिल कार्यालयले ६५ बुँदे निर्देशन दिएको र त्यसको अध्ययन गरेर थप अनुसन्धान अगाडि बढ्ने बताए ।

यसअघि अनुसन्धानमा सरकारी वकिल कार्यालयले समेत सँगसँगै काम गरेको थियो । तर, मुलुकी फौजदारी अपराध संहिताअनुसार हद म्याद सकिन एक दिन बाँकी रहँदा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाएको थियो ।

सरकारी वकिल कार्यालयले मुलुकी ऐनअनुसार मुद्दा दर्ता हुने र त्यस ऐनमा किर्तेको हदम्याद नरहेको भन्दै अनुसन्धान पूर्ण भएपछि मात्र मुद्दा दर्ता हुने बताउँदै आएको छ । त्यसअघि प्रहरी अधिकारीले नै हदम्याद पुस २७ गतेसम्म रहेको बताउँदै आएका थिए ।

प्रहरीले यस मुद्दामा करिब ४ सयजनालाई प्रतिवादी बनाउन प्रस्तावित राय दिएको थियो । हदम्याद सकिन लागेको भन्दै अन्तिम समयमा सुवेदीदम्पतीलाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर