ओलेको बहिर्गमनपछि म्यानचेस्टर युनाइटेडमा चम्किन सक्ने पाँच खेलाडी – Nepal Press

ओलेको बहिर्गमनपछि म्यानचेस्टर युनाइटेडमा चम्किन सक्ने पाँच खेलाडी

काठमाडौं । म्यानचेस्टर युनाइटेड अन्तिम खेलमा वाटफोर्डसँग ४–१ गोलको नतिजामा पराजित भएसँगै मुख्य प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुनु स्वभाविक थियो । क्लबको नेतृत्व सम्हाल्ने बित्तिकै युनाइटेडलाई राम्रो लयमा अगाडि बढाएका ओलेले जारी सिजनमा भने उपाधि होडको नजिक पनि पुर्याउन सकेनन् ।

युनाइटेडमा क्षमता भएका केही खेलाडीले ओलेको सुरुआती–११ मा स्थान बनाउन सकेनन् । तर, ती खेलाडीले क्लबको नेतृत्व परिवर्तनसँगै टोलीमा प्रभावशाली प्रदर्शनसहित स्थान बनाउने अनुमान गर्न सकिन्छ ।

ओलेको बहिर्गमनसँगै अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका माइकल क्यारिकको नेतृत्वमा युनाइटेडले मंगलबार राति भिलारियालसँग पहिलो खेल खेल्दै छ । आजको खेलसँगै युनाइटेडको सुरुआती–११ मा स्थान बनाउन सक्ने पाँच खेलाडीको सूची यस्तो छ ।

१. जाडोन सान्चो

युनाइटेडमा नयाँ करियरको नयाँ अध्यायको सुरुआत गर्ने योजनामा छन्, जाडोन सान्चो । युनाइटेडबाट ७ खेलमा मात्रै सुरुआती ११ मा स्थान बनाउन सफल भएका सान्चोले गोल वा असिस्ट दुवै दिन सकेका छैनन् ।

प्रिमियर लिगमा आफूलाई स्थापित गर्न संघर्षरत सान्चो म्यासन ग्रिनउडसँग पहिलो रोजाइमा पर्न फाइट गर्न सकिरहेका छैनन् । यद्यपि, ओलेको बहिर्गमनसँगै सान्चाले मौका पाउने र खराब सुरुआत भएको सिजनलाई राम्रो बनाउने सामथ्र्य र सम्भावना प्रवल छ । बोरुसिया डर्टमन्डका पूर्व फरवार्ड सान्चोले पछिल्ला चार सिजनमा बुन्डेसलिगामा ३८ गोल ठोकेका थिए ।

२. डोनी भान डी बिक

युनाइटेडको सुरुआती –११ भन्दा टाढा रहेको अर्को नाम हो, डोनी भान डी बिक । तर, क्लबको नयाँ नेतृत्वसँगै उनले आफ्नो स्थान बनाउन कुनै कसर बाँकी नराख्ने निश्चित छ ।

आफूलाई प्रिमियर लिगमा प्रमाणित गर्न संघर गरिरहेका आयाक्सका पूर्व मिडफिल्डर डोनीले जारी सिजनका दुई खेलमा मात्रै सुरुआती–११ मा स्थान बनाएका छन् ।

उनले प्रिमियर लिगमा खेलेका तीनै खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा मैदानमा प्रवेश गर्नु परेको थियो । यद्यपि, उनले ओलेको नेतृत्वमा खेलेको अन्तिम खेलमा वाटफोर्डविरुद्धको खेलमा मैदान प्रवेश गरेको पाँच मिनेटमै गोल गरेका थिए ।

सन् २०१९ मा युरोपेली फुटबलमा तहल्का मच्चाउँदै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सका महत्त्वपूर्ण हिस्सा रहेका डोनीले युनाइटेडमा भने सीमित मौका मात्रै पाएका छन् ।

यसअघि नै ठूला स्टेजमा आफूलाई प्रमाणित गरिसकेका २४ वषीय मिडफिल्डर डोनीले युनाइटेडका अन्तरिम प्रशिक्षकको विश्वास जित्ने पूरा कोसिस गर्नेछन् ।

३. एन्थोनी मार्सियल

सन् २०१५ मा युनाइट्डले लिभरपुललाई ३–१ गोलको नतिजामा पराजित गर्दा डेब्यूमै गोल गरेका एन्थोनी मार्सियलले हालसम्म एकनासको प्रदर्शन दिन सकेका छैनन् । पछिल्लो दुई वर्षमा युनाइटेडको सुरुआती–११ मा आक्कल झुक्कल मात्रै देखिएका फ्रेन्च फरवार्ड मार्सियलले जारी सिजनका ६ खेल खेलेका छन् ।

२५ वर्षीय मार्सियलले युनाइटेडबाट खेलेका २ सय ६६ खेलमा ७९ गोल गरेका छन् । यद्यपि, जारी सिजनमा गरेको गोल संख्या भने एक मात्रै छ । आफ्नो भविष्यबारे चिन्तित फरवार्ड मार्सियल अहिले युनाइडेडको आक्रमक लाइन अपको सम्भवतः अन्तिम विकल्प रहन थालेका छन् ।

टोलीमा पुनः आफूलाई पहिलो रोजाईको खेलाडी बनाउन मार्सियलले नयाँ प्रशिक्षकको फाइदा उठाउने भरपूर कोसिस गर्ने निश्चित छ ।

४. जिसे लिङ्गार्ड

लिङ्गार्डले सबैभन्दा धेरै केही चाहेका थिए भने त्यो युनाइटेडको टोलीमा पुनरागमन थियो । २८ वर्षीय इङ्लिस विङ्गर लिङ्गार्डले ६ महिना लोनमा वेस्ट ह्याम युनाइटेडमा बिताउँदा १६ खेलमा ९ गोल र चार असिस्ट दिएका थिए ।

जारी सिजन युनाइटेडबाट पनि ६ खेलमा २ गोल गरेका लिङ्गार्डले पूर्ण रूपमा गेम टाइम भने पाएका छैनन् । आज राति हुने भिलारियालको खेलदेखि नै नयाँ प्रशिक्षकको ध्यान आफूतिर तान्ने कोसिसमा लिङ्गार्ड लाग्ने निश्चित छ ।

५. एलेक्स टेलेस

सोल्सायरको बहिर्गमनको फाइदा उठाउने ध्यानमा अर्को कोही छ भने ती एलेक्स टेलेस हुन् ।

सन् २०२० मा पोर्टोबाट युनाइटेड सरुवा भएका टेलेस युनाइटेडमा ल्युक सहको स्थान लिन असफल छन् । हालसम्म दुई सिजनमा मात्रै १० खेलमा मौका पाएका टेलेसले टोलीमा आफ्नो स्थान बनाउन साना अवसरको सदुपयोग गर्नुको विकल्प छैन ।

सहको उत्कृष्ट फर्मका कारण टेलेसलाई लेफ्ट–ब्याकको पोजिसनमा आफूलाई पहिलो रोजाईको खेलाडी बनाउन कम चुनौती छैन । २८ वर्षीय ब्राजिलियन टेलेसले पनि नयाँ प्रशिक्षकको ध्यान आफूतर्फ तान्ने पूर्ण कोसिस गर्नेछन् ।

पोर्टोबाट सन् २०१९–२० सिजनमा टेलेसले ११ गोल र ८ असिस्ट गरेका थिए । यदि त्यो आँकडालाई प्रिमियर लिगमा ढाल्न सके उनी निसंकोच युनाइटेडको पहिलो रोजाइका लेफ्ट ब्याक बन्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *