युनाइटेडको घरेलु मैदानमा म्यानचेस्टर सिटी विजयी – Nepal Press

युनाइटेडको घरेलु मैदानमा म्यानचेस्टर सिटी विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिगको ११औं चरणको खेलमा शनिबार राति म्यानचेस्टर सिटीले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई ०–२ गोलको नतिजामा पराजित गरेको छ ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको सातौं मिनेटमा एरिक बेलीले गरेको आत्मघाति गोलसँगै सिटीले अग्रता लिएको थियो । घरेलु टोलीमाथि हाबी बनेको भ्रमणकारी सिटीले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता दोब्बर पारेको थियो ।

जुवान कान्सेलोको क्रसमा बर्नार्डो सिल्भाले सुन्दर गोल गरेसँगै पहिलो हाफमै ०–२ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि युनाइटेडमाथि पूर्ण दबाब बनाएको थियो । यद्यपि, युनाइटेडका गोलकिपर डेभिड डिगेयाले सिटीले गरेका उत्कृष्ट केही प्रहार असफल पारिदिएका थिए ।

जितसँगै सिटी ११ खेलबाट २३ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ११ खेलबाट २६ अंक छ ।

शनिबार राति नै भएको खेलमा लिग लिडर चेल्सी घरेलु मैदानमा बर्न्लीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । क्रिस्टल प्यालेसले आफ्नै मैदानमा वुल्भ्सलाई २–० ले पराजित गर्दा नर्विच सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलको नतिजामा हरायो । शनिबारको अन्तिम खेलमा १० जनामा सीमित ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

यस्तै शुक्रबार राति भएको खेलमा साउथह्याम्टनले एस्टोन भिल्लालाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *