सिन्धुपाल्चोकमा एमालेको आक्रामक अभियान, सिंगो बस्तीका सबै एमालेमा प्रवेश – Nepal Press

सिन्धुपाल्चोकमा एमालेको आक्रामक अभियान, सिंगो बस्तीका सबै एमालेमा प्रवेश

प्रवेश गर्नेमा अधिकांश माओवादी केन्द्रका

सिन्धुपाल्चोक । कात्तिक ६ गते सिन्धुपाल्चोकका १०३ वडामा एकैसाथ अधिवेशनको तयारीमा रहेको नेकपा एमालेले त्यसको पूर्वसन्ध्यामा विभिन्न वडाका बस्ती–बस्तीमा पुगेर भेटघाट तथा छलफल गरिरहेको छ । जसक्रममा बलेफी गाउँपालिका– ७ चिम्लीङमा भएको भेलामा सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका छन् ।

यसअघि माओवादी केन्द्रमा रहेका दलित बस्तीका सबै स्थानीय एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बिहान दलित बस्तीमा भएको भेटघाट र छलफलपछि सबै नै एमालेको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदै एमालेमा प्रवेश गरेको नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिका अध्यक्षसमेत रहेका केदार क्षत्रीले जानकारी दिए ।

दलित बस्तीमा रहेका करिब ५० जना एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्रमा रहेका उनीहरु सबै एमालेमा प्रवेश गरेपछि बलेफी–७ मा आफूहरुको संगठन अब पहिलाको भन्दा झन् बलियो भएको क्षेत्रीले बताए ।

नवप्रवेशीहरुलाई क्षत्रीले खादा, अबिर लगाएर एमालेमा प्रवेश गराएका थिए । एमाले भित्रको अन्तरविरोध साम्य भएपछि बलेफीका विभिन्न वडाहरुबाट कांग्रेस, माओवादीलगायतका दलबाट एमालेमा हालसम्म करिब ३ सय प्रवेश गरेको क्षत्रीले दाबी गरे ।

वडा अधिवेशनमा पनि सबै वडाहरुबाट विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको सूची लामो रहेको अध्यक्ष क्षत्रीले बताए ।

पार्टीमा समस्या हुँदा केही समय आफूहरु पार्टीको काममा सक्रिय हुन नपाएको र अहिले नेकपा एमाले एकताबद्ध भएपछि एकताको सन्देश लिएर गाउँगाउँमा पुग्दा स्थानीय उत्साही भएको क्षत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर