असन्तुष्ट नारायणकाजीलाई मागे अनुसारकै विभाग – Nepal Press

असन्तुष्ट नारायणकाजीलाई मागे अनुसारकै विभाग

काठमाडौं । पार्टीभित्र चाहे अनुसारको जिम्मेवारी नपाउँदा असन्तुष्ट बनेका नारायणकाजी श्रेष्ठले रोजे अनुसारकै जिम्मेवारी पाएका छन् । विदेश मामिला विभागको नेतृत्व सम्हाल्न चाहेका श्रेष्ठलाई प्रवास समिति इन्जार्जको जिम्मेवारी दिइएको थियो ।

तर, विहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उनलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ । स्थायी समिति सदस्य गणेश साहका अनुसार अध्यक्ष पुष्पकमल दाहालकै प्रस्तावमा श्रेष्ठलाई विदेश विभाग प्रमुख बनाइएको हो ।

यसअघि पनि विदेश विभाग प्रमुख रहेका उनले गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गर्दा खुलेर विरोध गरेका थिएनन् ।

माओवादी केन्द्रका एक नेताले त्यति बेला सरकार विस्तारको कुरा चलिरहेको र श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जान चाहेकाले त्यसको खुलेर विरोध नगरेको बताए । तर, सरकार उनी जाने सम्भावना नरहेपछि श्रेष्ठले असन्तुष्टि प्रकट गर्न थालेका थिए ।

पछिल्लो समय कार्कीकै नेतृत्वमा विभाग गठन गर्ने गरी सदस्यहरुको सूची तयार भएको थियो । त्यसप्रति उनले सार्वजनिकरूपमा असन्तुष्ट व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर