एमालेका ६ हजार प्रतिनिधि स्वागत गर्न तयार गोदावरीको सनराइज सम्मेलन केन्द्र (फोटो/भिडिओ) – Nepal Press
एमालेका ६ हजार प्रतिनिधि स्वागत गर्न तयार गोदावरीको सनराइज सम्मेलन केन्द्र (फोटो/भिडिओ)
रामकुमार डिसी २०७८ असोज १३ गते १९:४४
सरोज बैजु २०७८ असोज १३ गते १९:४४

काठमाडौं । नेकपा (एमाले)ले पहिलोपकट आयोजना गर्न लागेको विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ । नेपालकै ठूलो सभाहल ललितपुरको गोदावरीस्थित ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’मा हुने विधान महाधिवेशन तीन दिनेसम्म चल्ने छ ।

एमाले नेता खिमलाल भट्टराई यति धेरै प्रतिनिधि सहभागी हुने यो देशकै पहिलो अधिवेशन भएको बताउँछन् ।

‘यो प्रथम विधान महाधिवेशन पनि हो र यसलाई साँच्चै ऐतिहासिकरुपमा सम्पन्न गर्दैछौं,’ गोदावरीस्थित सनराइज हलको परिसरमा नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने, ‘प्रतिनिधि संख्याको हिसाबले पनि नेपालको इतिहासमा यो पहिलो महाधिवेशन हो । हाम्रो पार्टीमा पनि यति ठूलो संख्यामा कुनै पनि महाधिवेशन र भेलाहरु गर्ने गरेका थिएनौं । र, अन्य पार्टीले पनि अहिलेसम्म गरेको थाहा छैन ।’

करिब ६ हजार प्रतिनिधिको उपस्थिति रहने महाधिवेशनमा तीन दिनसम्म एमालेका तीन प्रस्तावमा छलफल हुने छ ।

महाधिवेशन शुरु हुन दुई दिन मात्रै बाँकी रहेका बेला सम्मेलन स्थलको तयारीबारे बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरल, सचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु बुधबार गोदावरी पुगे । उनीहरुलाई भट्टराई, कार्यालय सचिव शेबहादुर तामाङ, प्रतिनिधिसभामा गोदावरी क्षेत्रबाट प्रतिनिधित्वि गर्ने सांसद नवराज सिलवाल लगायतले तयारीबारे जानकारी गराएका थिए ।

अध्यक्ष ओलीले त्यहाँ करिब १ घण्टा अवलोकनमा बिताएपछि ब्यवस्थापनका बाँकी काम छिटो गर्न निर्देशन दिएका थिए । नेपाल प्रेसले गोदावीरमै भट्टराईसँग कुराकानी गरेर महाधिवेशन स्थलको व्यवस्थापकीय तयारीका विभिन्न पक्षबारे बुझेको छ ।

६ हजार प्रतिनिधि, डिजिटल स्क्रिन

सनराइज हलमा ६ हजारजति प्रतिनिधिहरुको व्यवस्थापनको तयारी भइरहेको छ । भवनको मुख्य हलमा ३ हजार प्रतिनिधि अट्ने राख्ने र दायाँ-बायाँ ‘प्यासेज’ मा एक-एक हजार गरी दुई हजार जना अट्नेगरी व्यवस्थापन गरिएको छ । दुवैतिरको प्यासेजमा र मुख्य हालको भित्रपट्टि दुवैतिर ‘डिजिटल बोर्ड’ को प्रयोग हुने छ । त्यसबाट भाषण सुन्न प्रतनिधिहरुलाई सहज हुने छ ।

बिहान हाइजेनिक खाना, दिउँसो खाजा

बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय तोकिएको छ । दुई घण्टाभित्र ७ हजारलाई ‘हाइजेनिक’ खाना खुवाउन प्रबन्ध गर्न सक्ने गरी क्याटरिङको व्यवस्थापन गरिएको छ । दिउँसो तीन बजे खाजा खुवाइने छ । त्यसका लागि एक घण्टा खाजा खाने समय छुट्याइएको छ ।

प्रतिनिधिलाई प्याकेट खाजाको प्रबन्ध गरिएको छ । साँझको खाना भने आवासमै खुवाइने छ । सम्बन्धित प्रदेश कमिटीले सम्बन्धित सम्पर्क मञ्चहरुको सहयोगमा आवासको प्रबन्ध गर्नेछन् । बाहिरबाट आएका धेरै प्रतिनिधिहरु आफन्तकोमा बस्ने भएकाले आवास धेरै नचाहिने विश्वास एमालेको छ ।

सातदोबाटोदेखि २५ बस

प्रतिनिधिहरुलाई सातदेबाटोदेखि सम्मेलन केन्द्रसम्म पुग्नलाई सुविधाजनक बसहरुको व्यवस्था गरिएको छ । २५ वटा बसको प्रबन्ध गरिएको छ भने १५ सयदेखि १२ सयसम्म प्रतिनिधि आफ्नै साधनमा आउने विश्वास व्यवस्थापकले गरेका छन् ।

ट्राफिक व्यवस्थापनका लागि प्रशासनसँग समन्वय भइरहेको बताइएको छ । बिहान ९ बजेदेखि ११ बजेसम्मको समयमा स्थानीय साधनहरु कम चल्नेगरी व्यवस्थापन गरिने छ ।

मास्क र सेनिटाइजर अनिवार्य

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सम्मेलन केन्द्रमा सेनिटाइजर र मास्कलाई अनिवार्य गरिएको छ । थर्मल गनबाट सबैको ज्वरो नापिने छ । रुघा, खोकी, ज्वरो भएका प्रतिनिधिहरुलाई सकभर नआउन आग्रह गरिएको छ । धेरैजसो प्रतिनिधि चाहिँ खोप लगाएकै आउँछन् भन्ने व्यवस्थापकहरुको विश्वास छ ।

उच्च गतिको इन्टरनेटसहितको मिडिया सेन्टर

मिडिया व्यवस्थापनलाई ध्यान दिँदै उच्च गतिको इन्टरनेट र वाइफाइ सेवा भएको मिडिया सेन्टर बनाइएको छ । र, महाधिवेशनबारे तारन्तार ‘ब्रिफिङ’ दिन छुट्टै कक्ष पनि बनाइएको छ ।

सिट व्यवस्थापन ‘रोटेसनल’

सम्मेलन केन्द्रमा सिट व्यवस्थापन ‘रोटेसनल’ हुने छ । बाहिर बसेकाहरु पनि भित्र आउन पाउन् भनेर यस्तो प्रवन्ध गरिएको भट्टराई बताउँछन् ।

‘सबै प्रतिनिधिका लागि स्थान तोकिएकै हुन्छ । जहाँ मन लाग्यो, त्यहाँ बस्ने स्थिति चाहिँ हुँदैन । सिट कब्जा गर्नका लागि दौडेर आउन पनि पर्दैन,’ उनले भने ।

महाधिवेशन व्यवस्थापनका लागि अनेरास्ववियू, युवासंघ, जी फन्ट र खेलकुद महासंघबाट दुई सय स्वयंसेवक परिचालन गरिने छ ।