अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए – Nepal Press

अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।

अध्यादेशमार्फत ल्याएको बजेट लेखनको कोर टीममा संलग्न सहसचिवहरूलाई सरुवा गरिएको हो । अबको ३ दिन भित्रमा ४ सहसचिवहरू प्रदेश जाने तयारीमा रहेका छन् ।

आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बराल, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र आन्तरिक राजस्व विभागका पूर्वप्रमुख झक्कप्रसाद आचार्य सरुवा हुने भएका छन् ।

विचार नमिलेको भन्दै आफूसहितको पुरानो टिमलाई सरुवा गर्न लागिएको एक सहसचिवले बताए । प्रतिस्थापन विधेयक तयारीमा समेत आफूहरूसँग परामर्श नगरिएको ती अधिकारीले बताए ।

प्रतिस्थापन विधेयक आफू अनुकूल परिवर्तन गर्नका लागि अर्थमन्त्री शर्माले अर्थमन्त्रालयभन्दा बाहिरका सहसचिवहरू अर्थमन्त्रालय तानेका छन् । उनले कृष्णहरी पुष्करलाई राजस्व सचिवको जिम्मेवारी सुम्पिएका छन् ।

केन्द्रीय तथ्यांक विभागमा लामो समयसम्म काम गरेर सचिव बनेका सुमन अर्याललाई महालेखा नियन्त्रक बनाएका छन् । विधि र पद्धतिलाई भत्काएर अर्थमन्त्रालयभन्दा बाहिरका क्याडरमार्फत बजेटमा आफू अनुकूल संशोधनको प्रयास भएको अर्थमन्त्रालयले स्रोतले बतायो ।

अर्थमन्त्रालका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीको तजबिजमा कर्मचारी व्यवस्थापन गर्ने र बजेट संशोधनको काम भएको एक सहसचिवले बताए । बजेट प्रतिस्थापन विधेयकको तयारीमा बजेट महाशाखाभन्दा बाहिरबाटै काम भएपछि महाशाखा प्रमुख भुपाल बरालले आफूलाई हटाउन माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर