‘अब दक्षिणपन्थी गठबन्धन केपी ओलीको र वामपन्थी गठबन्धन माधव नेपालको नेतृत्वमा रहन्छ’ – Nepal Press
नेपाल टक

‘अब दक्षिणपन्थी गठबन्धन केपी ओलीको र वामपन्थी गठबन्धन माधव नेपालको नेतृत्वमा रहन्छ’

काठमाडौं । श्रीप्रसाद साह मधेसमा एमालेको र एमालेमा मधेसको वकालत गर्ने नेताका रूपमा स्थापित भए । जनकपुरका साह मधेसका एमाले नेताहरूमध्ये युवा तर वैचारिक, राजनीतिक रूपमा प्रखर मानिन्थे । तर, अब उनको पहिचान एमालेबाट फेरिएर नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य भएको छ ।

अनेरास्ववियू र युवा संघको केन्द्रीय नेतृत्वबाट एमालेको राजनीतिमा होमिएका साह नवौं महाधिवेशनमा केपी ओली प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, यसबीचमा उनी ओलीसँग रहन सकेनन् ।

मधेसका नेताहरू धर्मनाथ साह, रामप्रिप पासवानहरूसँगै उनले पनि ओली छाडेर माधव नेपाललाई साथ दिए । उनको साथ माधव नेपालको पार्टी विभाजनसम्म पनि कायमै रह्यो ।

दोस्रो तहका नेताहरूले माधव नेपाललाई छाडेपछि श्रीप्रसादको पुस्ता एकीकृत समाजवादीको दोस्रो पुस्ता बनेको छ । अरु प्रदेशको तुलनामा प्रदेश २ मा माधव नेपाल पक्ष बलियो छ ।

दोस्रो तहका नेताहरू एमालेमै बस्दा अरु प्रदेशमा ठूलो पंक्ति एमालेमै रहे पनि प्रदेश २ फरक बनेको छ । दोस्रो तहका नेताहरू एमालेमा बस्दा एकजना पनि नेता उनीहरूसँग रहेनन् ।

प्रदेशसभामा पनि एकीकृत समाजवादीका धेरै सांसद रहे । अब चाँडै सरकारमा पनि सहभागी तयारी रहेको साह बताउँछन् । नेकपा एमाले विभाजनपछि अझ सक्रिय बनेका साहसँग नेपाल प्रेसले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

– एमालेमा माधव नेपाल समूहसँग पार्टीको करिब-करिब आधा हिस्सा नै रहेको मानिन्थ्यो । फुट्दा चाहिँ २० प्रतिशत हाराहारीले मात्रै साथ दियो । यो विभाजन किन उत्साहप्रद भएन ?

विभाजन हाम्रो रहर होइन, बाध्यता हो । माधव नेपालले एमाले विभाजन खुसीसाथ गर्नु भएको होइन । आँसु पिएर हामीले विभाजनमा हस्ताक्षर गरेका छौं । केपी ओलीले कम्युनिष्ट पार्टीलाई विचारशील भएर, श्रमजिवी सर्वहारा वर्गीय पक्षमा रूपान्तरण भएर कार्यकर्तालाई पनि रूपान्तरणको पक्षमा लाने भन्दा आफैं रूपान्तरित हुनुभयो । केपी ओलीको पक्षपोषण गर्नेहरूको वर्ग रूपान्तरण हुँदै गयो । दलाल, पुँजीपतीको पक्षपोषण गर्दै हिँड्नुभयो । त्यसकारण हामीले यो बाटो रोज्नुपर्‍यो ।

– केपी ओली त्यसरी कम्युनिष्ट चरित्रबाटै च्युत भइसकेका थिए भने यत्रो समय केका लागि पर्खिनु भयो त ? तपाईंकै समूहका केही प्रभावशाली नेताहरू विभाजनमा लागेनन् । यसको अर्थ त माधव नेपालका लागि मात्रै विभाजन चाहिएको जस्तो देखियो नि ?

त्यस्तो देखिए पनि वास्तविकता होइन । कमरेड माधव नेपालले एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपामा पनि शालिनतापूर्वक पार्टी काम अगाडि बढ्न दिनुभयो । कमरेड केपी ओली र कमरेड प्रचण्ड पार्टी अध्यक्ष हुनुभयो । दुईजनाको हस्ताक्षरमा हिँड्ने भएपछि पहिलो वर्ष कहीँ, कतै समस्या भएन ।

१० बुँदेको कभरमा उहाँहरूले केपी ओलीसँग आत्मसर्मपण गर्नु भएको छ । म सोध्न चाहन्छु आदरणीय कमरेड भीम रावल र सुरेन्द्र पाण्डेहरूलाई- तपाईंहरूले हिजो दुई/दुई पटक प्रतिनिधिसभा विघटन गर्ने ओलीविरुद्ध गरेको आन्दोलन र अदालतको निर्णयमा गरिएको दीपावली सही थियो कि केपी पक्षधरले ‘श्रीमान् ५ हरूले असंवैधानिक ढंगले प्रतिनिधिसभा जोगाए’ भनेर गरेको खिसिट्युरी सही थियो ? तपाईंहरू प्रष्ट पार्नुहोस् के ठीक थियो ?

– तर, पार्टी विधि, पद्धतिमा हिँडेन । सरकारको कार्यकाल अढाइ वर्षको हुँदा पनि घोषणापत्र अनुसार चलेन । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा सरकार बनेको थियो । सबैले मत दिएको होइन ?

९७ सिटमा चुनाव लडेको एमालेले ८० सिट कसरी जित्यो ? किनकी त्यहाँ एमालेको मतसँगै माओवादीको पनि मत आयो । २० सिट मात्रै समानुपातिकतर्फ पाएको माओवादीले ३३ सिटमा कसरी चुनाव जित्यो ? किनभने एमालेको मत परेर । तर, समानुपातिकमा एमाले हाराहारी सिट जित्ने नेपाली कांग्रेस २३ सिटमा किन खुम्चिनुपर्‍यो ? माओवादी र एमालेको भोट एकातिर ‘डाइभर्ट’भएर होइन ?

– माधव नेपालले आफ्नो समूहमा जसलाई भर गर्नु भएको थियो, उनीहरूले साथ छोडेकोमा कति दु:ख छ ?

यो दुःखद कुरा हो । अनुशासन आयोगका अध्यक्ष अमृत बोहरासहित स्थायी कमिटीका ९ जना यो आन्दोलनका नेताहरू हो । तर, आज एक्कासी आफ्नो राजनीतिक ‘फेस सेभिङ’ गर्नलाई केपी ओलीको पर्दा पछाडि जानुभयो । यो अत्यन्तै आश्चर्यको विषय हो ।

केपी आलीले जसलाई अभियोगपत्र भने त्यसको सिर्जनाकर्ता को थिए ? यीनै ९ जना नेतासहितको अगुवाइमा भएको थियो । केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुपर्छ भन्दा बरु माधव नेपालले त्यो गर्नुहुँदैन, एउटा पद रोज्न दिउँ भनेर भन्नुभएको थियो ।

– माधव नेपाललाई साथ नदिएका ९ स्थायी कमिटी सदस्यको आरोप के छ भने सामूहिक निर्णय गरेर मात्रै अघि बढ्नुपर्नेमा माधव नेपाल एक्लै अगाडि बढ्नुभयो । त्यस्तै हो ?

यस्तो भन्ने मान्छेहरू सरासर झुटो बोल्दै हुनुहुन्छ । साउन २१ र २२ मा भएको केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरूले मज्जाले दुईवटा कुरा भनेका थिए । पहिलो, तपाईंहरू वार्ता कमिटी वा वार्ता कमिटीमा बाहिर रहनुभएका स्थायी कमिटी सदस्यहरूको ल्याङ-ल्याङ लामो भयो । एमालेभित्रको माधव नेपाल-झलनाथ खनाल विचार समूहको सम्मानजनक वैचारिक, सैद्धान्तिक एकता हुन्छ भने हामी एकतामा जाने हो । तर, त्यसको पहिलो सर्त भनेको प्रगिगमनविरोधी आन्दोलनको जुन सार थियो, त्यो कुरालाई कमरेड केपी ओलीले स्वीकार गर्नुपर्छ । १० बुँदेमा त्यसलाई समेटेर ११ बुँदे बनाउनुपर्छ ।

दोस्रो, कमरेड केपी ओलीले अहिले मान्लान्, तर पछि कार्यान्वयन गर्दैनन् । त्यसैले निर्णयलाई प्रमाणीकरण गर्न यस्तो संयन्त्र बनाउने जो केपी ओलीको एक्लो हस्ताक्षरले नचलोस् । कम्तीमा यो विचार समूहको अर्को व्यक्ति अध्यक्षका रूपमा होस् वा वरिष्ठ नेताका रूपमा होस् वा उपाध्यक्षका रूपमा होस् ।

एक हप्ताभित्र एकता हुन्छ भने हुन्छ, हैन भने पार्टी निर्माण प्रक्रियामा अघि जानुपर्छ भन्ने सुझाव थियो । त्यसमा साविक एमालेका ८४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । अहिले ५५ जनाले गरेका छन् । अनि माधव नेपालले कसरी एक्लै निर्णय गरेको हुन्छ ?

– हामी छुट्टिने भयौं भन्ने निर्णय गर्दा सहभागी गराइएन, एकलौटी भयो भन्ने उहाँहरूको चित्तदुखाइ छ नि त ?

यो उहाँहरूको बहानाबाजीमात्रै हो । उहाँहरू आज यो आन्दोलनबाट कायरतापूर्ण ढंगले भाग्नु भएको छ । उहाँहरूले केपी ओलीविरुद्ध सार्वजनिकरूपमा दजर्नौं अभिव्यक्ति दिनु भएको थियो । त्यसको १० प्रतिशतमा पनि उहाँहरू अड्नु भएन ।

१० बुँदेको कभरमा उहाँहरूले केपी ओलीसँग आत्मसर्मपण गर्नु भएको छ । म सोध्न चाहन्छु आदरणीय कमरेड भीम रावल र सुरेन्द्र पाण्डेहरूलाई- तपाईंहरूले हिजो दुई/दुई पटक प्रतिनिधिसभा विघटन गर्ने ओलीविरुद्ध गरेको आन्दोलन र अदालतको निर्णयमा गरिएको दीपावली सही थियो कि केपी पक्षधरले ‘श्रीमान् ५ हरूले असंवैधानिक ढंगले प्रतिनिधिसभा जोगाए’ भनेर गरेको खिसिट्युरी सही थियो ? तपाईंहरू प्रष्ट पार्नुहोस् के ठीक थियो ?

– उहाँहरूलाई के चिजले तानेर लग्यो होला त उता ?

यो समयक्रममा बुझिँदै जाला । मलाई के लाग्छ भने उहाँहरूको आत्मविश्वासमा कमी आयो । उहाँहरूलाई के लाग्यो भने एमाले विभाजित भएर बनेको माले लामो समय टिक्न सकेन । मालेले ६ लाख लोकप्रिय भोट ल्याउँदा पनि एउटा प्रत्यक्ष सिट जित्न सकेन । र, अन्तत्वगत्वा धेरै हिस्सा माओवादीमा बुझाएर थोरै हिस्सा लिएर पुनः एमालेमा आउनुपर्‍यो । विभाजनपछि हाम्रो पनि त्यो हालत होला कि भनेर वनको बाघले खाए पनि नखाए पनि मनको बाघले उहाँहरूलाई खायो ।

– उहाँहरू केपी ओलीलाई सत्ताबाट हटाउन पनि सफल हुनुभयो । माधव नेपाललाई एमालेबाट निकाल्न पनि सफल हुनुभयो । अन्तिममा सबैलाई धोका दिएर एमालेमै बस्नुभयो हैन त ?

हो, वास्तमा तपाईंले भनेकैजस्तो देखिदै छ । उहाँहरूले केको लागि आन्दोलन गर्नुभयो ? आज उहाँहरू एमाले एकता जोगाउनका लागि पार्टी नफोड्ने भन्दै हुनुहुन्छ । एकता बचाउनका लागि दुई कदम ‘व्याक’ हौं भन्नुहुन्छ ।

म उहाँहरूलाई भन्न चाहन्छु- एमालेको एकता बचाउन यति चिन्ता थियो भने हिजो नेकपाको एकतालाई किन बर्बाद पार्नुभयो ? केपी ओलीको अन्याय, अत्याचार भनिएको, एकाधिकार भनिएको कुरालाई सहिदिएको भए के हुन्थ्यो त ? उहाँले भन्दै हुनुहुन्थ्यो म दोस्रो कार्यकाल अध्यक्ष हुन्न, दोस्रो कार्यकाल प्रधानमन्त्री हुन्न । केपी ओलीले पार्टीमा जे गरे पनि, सरकारमा जे गरे पनि सहिदिएको भए क्या गजब एकता हुन्थ्यो । नेकपामा मुर्दाशान्ति हुन्थ्यो । त्यसो किन नगरेको ?

रियल हिरो भनेको माधव नेपाल हो । प्रतिनिधि पात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, त्यो सबैले बुझेको छ । माधव नेपाल तरवारको धारमा हिँड्नुभयो । आफ्नै पार्टीका अध्यक्षले प्रतिगमन गरेका थिए, त्यो प्रतिगमन पनि सच्याउनु थियो । पार्टी पनि जोगाउनु थियो । शेरबहादुर देउवालाई विश्वासको मत दिइसकेपछि अब हामी त्यो गठजोडमा छैनौं भनेर एमाले जोगाउन दुई महिना प्रयास गर्नुभयो ।

– उहाँहरूले साथ नदिँदा विभाजनपछि तपाईंहरूको तल्लो तहसम्मको ‘स्ट्रेन्थ’त कमजोर हुने भयो नि ?

प्रदेश २ मा त उहाँहरूको खासै प्रभाव देखिएको छैन । ९० प्रतिशत केन्द्रीय सदस्य एकै ठाउँमा छौं । प्रदेश सांसददेखि जिल्ला कमिटीसम्म यस्तो अवस्था छ । अरु प्रदेशमा फाट्टफुट्ट प्रभाव पर्ला ।

– अरु प्रदेशमा त व्यापक प्रभाव पर्ने देखिएको छ नि ?

धेरै प्रभाव पर्दैन । ९५ प्रतिशत हिजोको आन्दोलनकारी शक्तिहरू केपी ओलीको प्रविृत्तिको विरुद्धमा छन् । माधव नेपालसँग पुरानो स्थायी कमिटी सदस्य त अहिले मुकुन्द न्यौपाने एकजना मात्रै देखिनुभयो । झलनाथ खनाल अहिले बिरामी हुनुहुन्छ । बेदुराम भुसाल नेकपाको बेला थपिएको स्थायी कमिटी हो । तर, आधारभूत तहमा माधव नेपालको साथ छाडेर जानेहरूको शक्ति ५ प्रतिशत भन्दा छैन ।

– नेपालको राजनीतिक विभाजनको इतिहास हेर्ने हो भने टुक्रिएर गएको शक्ति कुनै पनि पार्टीको रूपमा स्थापित हुन सकेका छैनन् । ती स्थायी कमिटीकै नेताहरू माधव नेपाल चाँडै फर्किनुहुन्छ र पार्टी एमालेमै बुझाउनुहुन्छ भनिरहेका छन् नि ?

यो उहाँहरूमा आत्मविश्वासको कमी हो । यो समय २०५४ को होइन । त्यतिबेला नजम्मेका मान्छेहरू अहिले राजनीतिमा निर्णायक भइसकेका छन् । २५ वर्षका युवाहरू अहिले कुन राजनीतिक शक्ति सही र गलत भनेर छुट्याउने भइसकेका छन् । त्यसैले हामीले नयाँ पार्टीको विधानमा २५ प्रतिशत नेतृत्व ४० वर्षमुनिको ल्याउनुपर्छ भनिरहेका छौं । अबको चुनावमा एकीकृत समाजवादी यो देशको निर्णायक शक्ति हुन्छ ।

– कांग्रेस र माओवादीले तपाईंहरूलाई जिताइदिएर तपाईंहरू निर्णायक शक्ति बन्ने हो ?

यो गठबन्धन स्वभाविकरूपले प्रतिनिधिसभालाई पूर्णकालसम्म लैजानुपर्छ भन्नेमा छ । चुनावका बेलामा त मुद्दा मिल्नेसँग गठबन्धन हुने हो । चुनावमा यो गठबन्धनसँगै सहकार्य हुन पनि सक्छ नहुन पनि सक्छ ।

– चार महिनाभित्र माओवादीसँग एकीकरण हुन्छ भनेर तपाईंकै समूहका नेताहरूले भनिरहनुभएको छ नि ?

एकीकरण हुन्छ भन्ने मलाई लाग्दैन । मिल्नु पनि हुँदैन । माओवादीको आफ्नै राजनीतिक ग्राउन्ड छ । उपेन्द्र यादवको पार्टीको आफ्नो ग्राउन्ड छ । एमालेबाट अलग भएका हामी एकीकृत समाजवादीको आफ्नो ग्राउन्ड छ । हामी वैचारिक सैद्दान्तिक रूपमा पार्टीलाई पुनर्गठन गर्छौं, जनताको बहुदलीय जनवादको ग्राउन्डमा ।

अब समाजवादमा पुग्न हामी यो पार्टीलाई संगठित गर्छौं । त्यसपछि मात्रै हाम्रो ‘२१ औं शताब्दीको जनवाद’ पक्षधरहरूसँग छलफल हुन्छ । मुद्दामा सहकार्य हुनसक्छ तर हामी पार्टी पृथक ढंगले पार्टी सञ्चालन गर्छौं ।

– माओवादीसँग एकीकरण नगर्ने हो भने एमालेसँग चाहिँ हुन्छ ?

केपी ओली सच्चिएर आउनुभयो, आफ्ना वरिपरीका भ्रष्टहरूलाई त्यागेर आउनुभयो भने उहाँसँग किन एकता हुन सक्दैन ?

– तपाईंहरूको मित्र शक्ति आजको दिनमा पनि माओवादी भन्दा पनि एमाले हो त्यसो भए ?

सबै वामपन्थी हाम्रा मित्रशक्ति हुन् । त्यही वामपन्थीहरूसँग हाम्रो एकता हुन्छ, जोसँग हाम्रो चरित्र मिल्छ, व्यवहार, आचरण र सिद्धान्त मिल्छ ।

– एमालेको दशौं महाधिवेशन हुँदैछ । तपाईंहरूको त रेल छुटिसक्यो होइन ?

यो १० औं महाधिवेशन भनेको केपी ओलीको चटकमात्रै हो । उनको चाकडी र गुलामी गर्नेहरू जो-जो हुन्छन्, ती नेतृत्वमा आउँछन् । अरु मान्छेहरू त्यहाँबाट फ्याँकिन्छन् ।

– दोस्रो तहका नेताले पार्टीभित्रै अन्तरसंघर्ष गरेर नेतृत्वबाट केपी ओलीलाई विस्थापित गर्ने सम्भावना कति देख्नुहुन्छ ?

हेरौं न कहिलेसम्म गर्नुहुन्छ । संघर्ष गर्नुभयो भने मेरो उहाँहरूलाई साधुबाद छ। तर, उहाँहरूको अन्तरसंघर्ष केपी ओलीको अगाडि टिक्दैन । केपी ओलीले त पद्धति र प्रक्रिया नै मान्दैनन् ।

– तत्कालै माओवादीसँग एकता पनि नगर्ने अनि अहिलेको गठबन्धनको निरन्तरता चुनावसम्म हुने सुनिश्चित पनि छैन भने तपाईंहरू कसरी मुलुकको प्रभाशाली शक्ति बन्नुहुन्छ ?

हाम्रो मुद्दा मिल्नेसँग चुनावमा गठजोड हुन्छ । गठबन्धन बन्छ । भारतमा जसरी एनडीए, यूपीए गठबन्धन छ । त्यस्तै संरचनामा अब मुलुक जानसक्ने सम्भावना बढ्दै छ ।

– एमाले र गैरएमाले गठबन्धन हुन सक्छ ?

अहिलेको जुन निर्वाचन प्रणाली छ, त्यसमा कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सक्दैन । यसकारण पनि अब गठबन्धन ‘कल्चर’ अगाडि बढ्छ ।

मैले के सम्भावना देख्छु भने माधवकुमार नेपालको एकीकृत समाजवादी, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र उपेन्द्र नेतृत्वको जसपाको एउटा गठबन्धन अगाडि बढ्न सक्छ । अर्को भनेको केपी ओली, कमल थापा र राजेन्द्र महतोहरूको गठबन्धन अगाडि बढ्न सक्ने सम्भावना छ । दक्षिणपन्थी गठबन्धन केपी ओलीसँग रहन्छ, वामपन्थी गठबन्धन माधव नेपालसँग रहन्छ ।

अनि कांग्रेसलाई लाग्न सक्छ- एमाले पनि टुक्रियो, जसपा पनि टुक्रियो, हामी सीधै पहिलो शक्ति हो । त्यो अहंकार रह्यो भने कांग्रेससँग पनि सहकार्य हुँदैन । उ ‘रियल बेस’ मा आयो भने लोकतान्त्रिक-वामपन्थी गठबन्धन हुनसक्छ ।

– कांग्रेस आउने चुनावमा पहिलो शक्ति हुन्छौं भन्ने हिसाबले अगाडि बढ्ला । अनि कांग्रेससहितको गठबन्धनमा तपाईंहरूले पाउने सिट त निकै थोरै होला नि ?

अघिल्लो चुनावमा एमालेले पाएको लोकप्रिय मतको लगभग ५० प्रतिशत प्लस मत अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग छ भन्ने मानेर जानुपर्ने दर्जनौं आधारहरू दिन सक्छु । जसपाको दुई तिहाइभन्दा बढी शक्ति छ भन्ने धेरै आधारहरू छन् ।

–तपाईंको भनाइअनुसार अहिले जुन सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धन छ, यसको रियल लिडर चाहिँ माधव नेपाल हो ?

एकदम हो । रियल हिरो भनेको माधव नेपाल हो । प्रतिनिधि पात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, त्यो सबैले बुझेको छ । माधव नेपाल तरवारको धारमा हिँड्नुभयो । आफ्नै पार्टीका अध्यक्षले प्रतिगमन गरेका थिए, त्यो प्रतिगमन पनि सच्याउनु थियो । पार्टी पनि जोगाउनु थियो । शेरबहादुर देउवालाई विश्वासको मत दिइसकेपछि अब हामी त्यो गठजोडमा छैनौं भनेर एमाले जोगाउन दुई महिना प्रयास गर्नुभयो ।

– तपाईंहरू सरकारमा कहिले जानुहुन्छ र पाउने भाग कति हो ?

सत्ता भागबण्डा ठूलो कुरा होइन । शेरबहादुर देउवाको सरकारलाई यो प्रतिनिधसभाको पूर्णकालसम्म लम्ब्याउँछौं । यसको लागि स्वभाविकरूपमा अलग पार्टी भइसकेकाले सरकारमा जान्छौं ।

यो सरकारमा मात्रै होइन, प्रदेश १ र ३ मा पनि एमालेको जुन मुख्यमन्त्रीहरू छन्, तिनीहरू एकीकृत समाजवादीमा आउनुपर्छ । अन्यथा हाम्रो नेतृत्वमा त्यहाँको सरकारहरू पुनर्गठन हुन्छन् । प्रदेश २ मा हामी प्रमुख प्रतिपक्ष छौं, सम्भवत: हामी त्यहाँ पनि सरकारमा जान्छौं ।

– अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा साथ रहन्छ ?

निश्चय पनि । उहाँ अब २१ दिनभित्र एकीकृत समाजवादीको पक्षमा आउनुभयो भने उहाँ नै हाम्रो मुख्यमन्त्री हो । उहाँ आउनु भएन भने हामी विकल्प खोज्छौं ।

– उहाँले माधव नेपाललाई नै एमालेमा फर्काउँछौं भन्नुभइरहेको छ । अनि तपाईंहरूको पार्टीमा कसरी आउनुहोला ?

ठीकै छ । उहाँलाई २१ दिनसम्मको सुविधा दिऊँ । २१ दिनभित्र उहाँले माधव नेपाललाई नै फर्काइहाल्नु भयो भने उहाँ रहनु होला । होइन भने २२ औं दिनपछि अर्को सरकारको प्रक्रिया शुरू हुन्छ ।

– तपाईंहरूले राष्ट्रिय सम्मेलन गर्ने भन्ने कुरा पनि छ । त्यो कलिहेसम्म होला ?

चाँडै हुन्छ । पदाधिकारी चयन गर्नेदेखि केन्द्रीय कमिटी विस्तारसम्म त्यही भेलाले गर्छ ।

–जबज तपाईंहरूले छोडेको हो ?

जबज हामीले छोडेका छैनौं । यसमा हामी छलफल गर्दै छौं । यसको अन्तिम टुंगो हामी राष्ट्रिय भेलाबाट गर्छौं ।

– तपाईंहरूको दस्तावेजमा वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाइएको छ । त्यसमा जबज कतै पनि उल्लेख छैन । अनि जबज छोडेको भन्न मिलेन र ?

जबज हाम्रो सुदूर लक्ष्य हो । अब पुँजीवादी क्रान्ति सम्पन्न भएको छ । अब देश समाजवादी क्रान्तिमा अगाडि बढ्छ ।

– जबजलाई बोक्दा पनि नबोक्ने, अनि प्रष्टरूपमा छोडेको पनि नभन्ने । तपाईंहरूमा केको डर हो ?

अहिलेसम्मका उपलब्धी जबजकै मार्गदर्शनमा प्राप्त भएका हुन् । अब पुँजीबादी क्रान्ति नै सम्पन्न भइसक्यो । अब त्यसलाई बोकीराख्नुपर्छ भन्ने छैन । जबजको जगमा हामी समाजवादको यात्रा गर्छौं ।

– उसोभए केपी ओली र माधव नेपालको मिलन हुने सम्भावना अब सकियो ?

केपी ओली आफ्नो दक्षिणपन्थी भड्काउबाट अलग हुनु भयो भने त्यो सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर