अफगानिस्तानका अब्दुल यसरी बने अन्तरिक्षयात्रीबाट लेखापाल – Nepal Press
गृहयुद्धका दु:ख

अफगानिस्तानका अब्दुल यसरी बने अन्तरिक्षयात्रीबाट लेखापाल

दक्षिण एसियाली देशहरुमा अन्तरिक्षयात्राको सौभाग्य पाउने दुईजना छन । एक हुन्, भारतीय अन्तरिक्षयात्री राकेश शर्मा । अर्का हुन्, अफगानी अब्दुल अहद मोहमद ।

शर्मा सन् १९८४ को अप्रिल ३ मा अन्तरिक्ष पुगेका थिए भने अब्दुल १९८८ अगस्ट २९ मा । तर, यी दुवै दक्षिण एसियाली अन्तरिक्षयात्रीहरु आफ्नो देशको मिसनमा गएका थिएनन् । तत्कालिन सोभियत संघले उनीहरुलाई सो अवसर दिएको थियो ।

अहिले अन्तरिक्ष मिसनमा धेरै कोणमा सफल भएको भारतले आफ्नै नेतृत्वमा अन्तरिक्षयात्री पठाउन सकेको छैन । युद्धग्रस्त अफगानिस्तानले त झन् सक्ने कुनै भएन ।

सोभियत संघको इन्टरकोस्मोस नामक अन्तरिक्ष कार्यक्रमबाट लाभान्वित भएर अन्तरिक्ष पुगेका थिए भारतीय र अफगानी सैन्य पाइलटहरु । इन्टरकोस्मोस सन् १९६७ देखि सन् १९८८ सम्म सञ्चालन भएको सोभियत संघको एक लोकप्रिय अन्तरिक्ष कार्यक्रम थियो । यो कार्यक्रमले सोभियत संघ निकटका देशहरुलाई अन्तरिक्ष मिसनमा सहयोग गथ्र्यो । त्यो सेवा पाउने देश दक्षिण एसियाबाट भारत र अफगानिस्तान हुन् ।

भारत सोभियत संघको व्यापारदेखि सैन्य कार्यक्रमको महत्वपुर्ण साझेदार थियो भने अफगानिस्तान सोभियत संघकै नियन्त्रणमा थियो । सन् १९७९ को डिसेम्बर २४ बाट सोभियत संघले अफगानिस्तान कब्जा गरेको थियो । कब्जा गरेकै समयमा अब्दुल अहद मोहमदले अन्तरिक्ष जाने मौका पाएका थिए ।

अन्तरिक्षमा कुरान पढ्ने पहिलो यात्री

जर्मनीको समाचार आउटलेट डिडब्दुका अनुसार सन् १९५९ अफगानिस्तानको राजधानी काबुलको सेरदामा जन्मेका अब्दुल अहद मोहमदले सन् १९७८ मा काबुल पोलिटेक्निक इन्स्टिच्युटमा पढ्दै गर्दा अफगानिस्तानमा कम्युनिस्टहरुको सत्ता आयो । कम्युनिस्ट सत्ता आएको अर्को बर्ष छिमेकी सोभियत संघ नै अफगानिस्तान आएर कब्जा गर्‍यो ।

सोभियत संघ अफगानिस्तानमा आएको करिब ९ बर्ष पुग्नै लाग्दा अब्दुल अहद मोहमदले अन्तरिक्ष यात्री हुने मौका पाएका हुन् । स्पेस फ्याक्ट डट डिइका अनुसार उनले सन् १९८७ मा गागरिन एयरफोर्स मिलिटरी अक्याडेमीबाट स्नातक गरेका थिए । अन्तरिक्षयात्री हुनुअगाडि उनले इन्टरकोस्मसको ४०० स्वयंसेवीहरुमा एक सदस्य हुन पाएका थिए । त्यही तालिमबाट छनौट भएर उनी अन्तरिक्ष पुगे ।

रसिया बियोन्ड पोर्टलका अनुसार उनले अन्तरिक्ष जाँदा दुई थान कुरान र अफगानिस्तानको झन्डा लिएर गएका थिए । अन्तरिक्षमा ८ दिन २० घन्टा बस्दा उनले त्यहाँबाट अफगानिस्तानका दर्जनौँ तस्बिरहरु खिचे । उनले अन्तरिक्षयात्राका दौरानमा अर्बिटबाट अफगानिस्तानका तत्कालिन राष्ट्रपति महोमद नजिमुल्लासँग स्याटेलाइट फोन संवाद गरेका थिए । डिडब्लुसँग अगस्ट ४ मा बोल्दै उनले राष्ट्रपतिमार्फत अन्तरिक्षबाट शान्तीको सन्देश दिएको बताएका छन् ।

उनको सन्देश थियो, ‘छिमेकीसँग हात मिलाउ । हतियार बिसाउ । संवादबाट समस्याको समाधान गरौँ ।’

अन्तरिक्षमा सहजै पुगेका अब्दुललाई पृथ्वीमा फर्कन भने धेरै गाह्रो भयो । जमिनसँगको सम्पर्क टुट्यो । उनी र उनका सोभियत संघका अन्तरिक्षयात्री भ्लादिमिर ल्याकोभ अन्तरिक्षमा २४ घन्टा तैरिरहे । सोभियत मिसनको यो सम्भावित दुर्घटनाको समाचार तत्कालीन समयमा विश्वभर चर्चित बनेको बिबिसीले उल्लेख गरेको छ । अन्ततः जमिनसँग सम्पर्क भयो । अक्सिजन सकिनै लाग्दा सेप्टेम्बर ७ मा उनीहरु जमिनमा ओर्लिए ।

अन्तरिक्ष यात्रामा प्रयोजन गरेको सोभियत संघले उनलाई सोभियत संघको सबैभन्दा उच्च पदक ‘हिरो अफ सोभियत संघ’ समेत प्रदान गरेको बियोन्ड रसिया पोर्टलले उल्लेख गरेको छ । रोचक कुरा चाहिँ अब्दुल अहद मोहमद अन्तरिक्ष पुग्नुभन्दा करिब ९ बर्षअगाडि आएको सोभियत संघ उनी अन्तरिक्ष यात्रा गरेर आएको ६ महिना हुनैलाग्दा सन् १९८९ फेब्रुअरी १५ मा फिर्ता भयो ।

नागरिक उड्यन उपमन्त्रीदेखी जर्मनीको शरणसम्म

बिबिसीका अनुसार अन्तरिक्षयात्रा गरेर काजकिस्तानमा अवतरण भएर अफगानिस्तान आउँदा अब्दुल अहद मोहमदको नायकझैं स्वागत भयो । उनी अफगानिस्तानमा सेलिब्रेटी बने । उनलाई सोभियत संघको बहिर्गमनसँगै नागरिक उड्यनमन्त्री बनाइयो । तर, उनी मन्त्री बन्दैगर्दा अफगानिस्तानमा मुजाहिद्दिन राजधानी काबुलमा हमला गर्न सन्निकट थिए । उनी ६ महिना मात्रै मन्त्री बने ।

सन् १९९२ मा मुजाहिद्दिनका विभिन्न गुटहरुको युद्धले गृहयुद्धको झलक दियो । सोभियत संघमैत्री कम्युनिष्ट सरकार ढल्ने निश्चित भयो । ढल्ने केही दिनअगाडि अब्दुलले बिजनेस ट्रिपको लागी भारत यात्रा गरे । भारतबाट जर्मनी गए । र, त्यहीँ शरण लिए ।

जर्मनीको दक्षिणी शहर स्टगार्टमा उनी पछिल्लो तीन दशकदेखि बसिरहेका छन् । डिडब्लुका अनुसार स्टटगार्टकै एक कम्पनीमा लेखापाल काम गर्छन् अब्दुल । श्रीमती, दुई छोरी र एक छोरासँगै अहिले उनले अफगानिस्तान छोडेर जर्मनीलाई घर बनाएका छन् ।

सन् २०१३ मा अफगानिस्तानका नागरिक अन्तरिक्ष पुगेको २५ बर्षगाँठको अवसरमा उनी अफगानिस्तान आएका थिए । तत्कालीन राष्ट्रपति हादिम कार्गइको निमन्त्रणामा उनी आएका थिए । प्रथम अफगानी अन्तरिक्षयात्री हुँदा अन्तरिक्षबाट दिएको सन्देश र अन्तरिक्षयात्रा सकिएको २५ बर्षगाँठमा उनले दिएको सन्देश एकै थियो । सन् २०१३ मा बिबिसीसँग बोल्दै उनले भनेका थिए, ‘पहिलेजस्तै छ अहिले पनि मेरो सन्देश । अफगानलाई युद्ध आवश्यक छैन । कृपया सबै एकै ठाँउमा आउँ र युद्ध गर्न छोडौँ ।’

अहिले ६२ बर्ष पुगेर लेखापालबाट अवकास हुन लागेका अब्दुल अहद मोहमदले यही अगष्ट महिनामा जर्मनीको मिडिया डिडब्लुँग पनि त्यही कुरा दोहोर्याएका थिए । अगस्ट ४ मा छापिएको समाचारमा उनले पुनः शान्तीको पक्षमा र विश्वबन्धुत्वको पक्षमा तर्क गरे ।

उनले भने, ‘अन्तरिक्षबाट हेर्दा तपाईंको धेरै फरक दृष्टिकोण बन्छ । तपाईं पृथ्वीमा हेर्नुहुन्छ र तपाईंको दिमाग नयाँ भावनाहरुले भरिन्छ । तपाईं कुनै देश, कुनै सिमाना देख्नुहुन्न । तपाईंको पृथ्वीमात्रै देख्नुहुन्छ जुन सारा तपाईंको घर हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर