अरुन्धती रोयविरुद्ध मुद्दा चलाउन अनुमति, कश्मिरमा १४ वर्षअघि भारत विखण्डनको भाषण गरेको आरोप – Nepal Press

अरुन्धती रोयविरुद्ध मुद्दा चलाउन अनुमति, कश्मिरमा १४ वर्षअघि भारत विखण्डनको भाषण गरेको आरोप

काठमाडौँ । भारतको विश्व प्रसिद्ध लेखक अरुन्धती रोयमाथि मुद्दा चल्ने भएको छ । सन २०१० नोभेम्बर २९ मा उनले कास्मिरको विषयमा दिएको अभिव्यक्तिलाई लिएर मुद्दा चल्ने भएको हो ।

दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाले मुद्धा चलाउन अनुमति दिएको भारतीय सरकारको आधिकारी समाचार एजेन्सी पीटीआईको समाचार साभार गरेर विभिन्न भारतीय मिडियाहरुले समाचार बनाएका छन् ।

दि हिन्दुका अनुसार गैरकानुनी गतिविधि रोकथाम ऐन १९६७ मा टेकेर अरुन्धतीलाई मुद्दा चल्ने भएको हो । उनले दिएको अभिव्यक्ति उत्तेजक भएको भन्दै उनलाई मुद्दा चलाउन लागिएको हो ।

अरुन्धती रायले कास्मिर कहिल्यै पनि भारतको अंग नभएको, कास्मिरलाई सैन्य बलले भारतमा गाभिएको र कास्मिरको स्वतन्त्र देशको हक भएको अभिव्यक्ति सन २०१० मा दिएको भिडियो समेत आएको भन्दै मुद्धा चलाउन अनुमति भएको हिन्दुस्तान टाइम्सले उल्ल्लेख गरेको छ ।

कास्मिरका अभियानकर्मी शुसिल पण्डितले जाहेर गरेको उजुरीका आधारमा रोयलाई मुद्धा चल्ने वातावरण बनेको हो । सन १९९७ मा दि गड अफ स्मल थिङ्ग नामक पुस्तकको लागि अरुन्धतीले चर्चित पुरस्कार बुकर पाएकी थिइन् । मुद्दा चल्ने विषयमा अरुन्धतीको पक्षबाट कुनै औपचारिक प्रतिकृया आएको छैन ।

अरुन्धती रोय नरेन्द्र मोदी सरकारको प्रखर आलोचकभित्र पर्छिन् । उनीमाथि भाजपा पक्षले भारत बिखण्डनको पक्षधर र माओवादी पक्षको आरोप लगाउने गरेका छन् । उनी आफ्ना राजनीतिक टिप्पणीका कारण चर्चा र विवादमा आइ रहन्छिन् ।

सन् २०२२ मा उनले द वायर मिडियामा करण थापरलाई अन्तर्वार्ता दिने क्रममा भाजपालाई आतंककारीको संज्ञा दिँदै हिन्दु राष्ट्रवादको सोच बिभाजनकारी विचार भएको भन्दै भारतीय जनताले भाजपाको यो सोच सफल हुन नदिने बताएकी थिइन् ।

उनले भाजपालाई फासिवादी पार्टी भन्दै देशले एकदिन यसको विरोध गर्ने जनता एकदिन यो अँध्यारो सुरुङबाट बाहिर निस्कने बताएकी थिइन् । उनले मोदी सत्तामा आएपछि भारतको लोकतन्त्र र विकास कमजोर भएको बताउने गरेकी छन् ।

उक्त अन्तर्वार्तामा अरुन्धती भन्छिन्–भारत अहिले हिन्दु राष्ट्रवादको अँध्यारो सुरुङभित्र छन् । मलाई भारतीय जनतासँग भरोसा छ कि यो देशलाई अँध्यारो सुरुङबाट एकदिन बाहिर निकाल्नेछन् । नरेन्द्र मोदीको सत्तमा देशका एक सय जनाको हातमा भारतको २५ प्रतिशत जिडिपी छ । उत्तर प्रदेशका एक किसानले भनेजस्तै यो देश चार जनताले चलाउँछन् । दुई जनाले बेच्छन् र अरु दुई जनाले खरिद र्गछन् । र यी चारैजना गुजरातबाट आएका छन् ।

उनले भनेका चारजना नरेन्द्र मोदी,अमित शाह,मुकेश अम्बानी र गौतम अडानी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *