७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको प्रतिवेदन – Nepal Press

७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको प्रतिवेदन

तालिवानद्वारा ३४ मध्ये १८ प्रान्तीय राजधानी कब्जा

काबुल । तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायको एक ब्रिफिङले गरेको छ ।

गुप्तचर निकायको उक्त स्रोतलाई उध्दृत गर्दै सीएनएनले समाचारको पुष्टि गरेको छ । ‘तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र काबुललाई एक्ल्याउन सक्छन् । तर, यसको अर्थ यो होइन कि उनीहरु राजधानभित्रै प्रवेश गर्न सक्नेछन्’ सीएनएनले लेखेको छ ।

यही सम्भावनालाई ध्यानमा राख्दै अमेरिकाले काबुलस्थित आफ्नो दूतावासलाई संवेदनशिल सामग्रीहरु नष्ट गर्न निर्देशन दिएको छ । ती सामग्री नष्ट नगर्दा तालिवानले प्रपोगान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले यस्तो निर्देशन दिएको जनाइएको छ ।

तालिवानले रणनीतिक र व्यापारिकरुपमा महत्वपूर्ण दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जामा लिएपछि अमेरिकाले उक्त अनुमान गरेको हो । तालिवान विद्रोहीले शुक्रबार एकैदिनमा ६ सहर कब्जा गरेका छन् । अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानीलाई तालिवानले कब्जामा लिएका छन् ।

दूतावास धमाधम बन्दै हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार काबुलस्थित दूतावासमा केही खासबाहेकका कूटनीतिज्ञलाई छाडेर अन्य कर्मचारीलाई स्वदेश फर्कन निर्देशन दिइसकेका छन् । त्यहाँ रहेका अमेरिकी तथा उसका साझेदार मुलुकका दूतावास कर्मचारी तथा नागरिकलाई उद्दार गर्न अमेरिका र बेलायतले केही सैनिक अफगानिस्तान पठाउँदैछन् ।

स्विट्जरल्यान्ड, नर्वे, डेनमार्क र फिनल्यान्ड दूतावासले आफ्ना सबै कर्मचारी फिर्ता गर्ने घोषणा गरेका छन् । कर्मचारी धमाधम स्वदेश उड्दैछन् । भारतले पनि कूटनीतिज्ञ र आफना नागरिकलाई स्वदेश फर्कन भनेको छ । अमेरिकाले पुनः आफ्ना नागरिकलाई देश फर्कन सूचना जारी गरेको छ । फ्रान्सले अफगान नागरिक र अधिकारकर्मीलाई सहयोग गर्ने घोषणा गर्दै काबुलमा भिसा प्रणाली जारी गरेको छ ।

जर्मनीले दूतावासको जनशक्तिमा भारी कटौती गरेको छ । भिसाबिना पनि जर्मनी पुग्ने अफगान नागरिकलाई प्रवेश दिने घोषणा गरेको छ । अफगान नागरिकलाई डिपोर्ट गर्ने प्रक्रिया नरोक्ने चेक रिपब्लिकले घोषणा गरेको छ भने अन्य युरोपियन युनियनले भने यो प्रक्रिया स्थगित गरेका छन् ।

उद्दार र नियन्त्रणको पछिल्लो परिस्थितीलाई ख्यालमा राख्दै काबुल र सो क्षेत्र आसपासमा अमेरिका र बेलायती सेना परिचालन भएका छन् । अमेरिकी सेनाले अफगानिस्तान छाड्ने म्याद अझै एकसाता बाँकी छ । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै अफगानिस्तानबाट नागरिकलाई कुशलतापूर्वक उद्दार गर्नेबारे विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रक्षामन्त्री लोएड अस्टिनसँग कुरा गरेका छन् ।

२० हजार अफगानीलाई आश्रय दिने क्यानडाको घोषणा

हिंसाका कारण देश छाड्न बाध्य हुने अफगानीलाई क्यानडाले आश्रय दिने घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले २० हजार अफगानीलाई आश्रय दिने घोषणा गरेका छन् ।

तालिवानको कब्जालाई मान्यता नदिइने नेटोको घोषणा

उत्तर एट्लान्टिक सन्धि संगठन नेटाले तालिवान विद्रोहीले अफगानिस्तानलाई कब्जा गरे मान्यता नदिइने जनाएको छ । नेटो महासचिव जेन्स स्टोलटेनबर्गले एक बयान जारी गर्दै बलपूर्वक अफगानिस्तानलाई नियन्त्रण गरे मान्यता नदिइने बताएका छन् । अमेरिका र उसका साझेदार मुलुकहरु नेटामा आबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर