सार्वजनिक नभएकी रहस्यमय सांसद विमला वली – Nepal Press

सार्वजनिक नभएकी रहस्यमय सांसद विमला वली

रुपन्देही । लुम्बिनी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद विमला वली चर्चामा आउँछिन् । तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा उनले पनि तेस्रो पटक दल फेरेकी छन् ।

नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सांसद बनेकी विमला वली अहिले फेरि चर्चामा छिन् । श्रीमान उत्तम कुमार वली दुर्घटनामा गुमाएपछि दाङकी विमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनलाई कसैले खोजेन र चर्चामा पनि आइनन् । उनका पति एमालेबाट निर्वाचित थिए । तर उनले उपचुनाव जित्ने बेलासम्म नेकपा बनिसकेको थियो ।

शुरुमा नेकपाबाट चुनाव जितेपनि वली फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेमै रहिन् । सत्तारुढ एमालेलाई दिएको समर्थन माओवादीले फिर्ता लिएसँगै गत बैशाख ६ गते विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि संसदको जोडघटाउ शुरु भयो ।

अनि उनको भूमिकालाई लिएर एमाले र माओवादी केन्द्रबीच तानातान सुरु भयो । तत्कालीन नेकपाबाट निर्वाचित भएपनि ंसर्वोच्च अदालतले गरेको फैसलाका आधारमा नेकपा विभाजित भयो । त्यसपछि उनलाई आफू कुन दलमा आबद्ध हुने प्रष्ट्याउनु पर्ने भयो ।

नेकपाबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकाले एमालेमै रहनुपर्ने जिकिर सत्ता पक्षले गर्‍याे । शुरुमा एमालेका संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि सहभागी भइन् ।

तर, मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि हटाउने योजना बनाएका विपक्षी गठबन्धनले उनलाई माओवादी केन्द्रमा सामेल गराएर बहुमत पुराउने तयारी गरे । यसैलाई टेकेर वलीले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक दिइन् ।

माओवादीमा गएको सार्वजनिक कार्यक्रममा खुलासा गरे पनि त्यसपछि मौन जस्तै बसिन् । कानूनी हिसाबले एमालेले उनलाई आफ्नो दलको सांसद गन्दै आयो र माओवादीले पनि । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनमा बसेको भन्दै एमालेले स्पष्टिकरण लियो उनले एमालेसँग कुनै साइनो नभएको र आफू माओवादी नै भएको उत्तर दिइन् ।

तर केही दिनअघि दाङ पुगेकी उनी एकाएक सम्पर्कबिहीन भएको माओवादी केन्द्रले सूचना बाहिर ल्यायो र सरकारले अपहरण गरेको आरोप लगायो । तर उनी एमालेमा रहेको विज्ञप्ती बाहिर आयो उनी सम्पर्कमा आइनन् । बुधबार पुनः उनी माओवादी केन्द्रमै आएको सो पार्टीका नेताहरुले सावैजनिक गरे तर फेरी पनि उनी सम्पर्कमा आएकी छैनन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएपछि उनी फेरी चर्चामा आएकी हुन् । पछिल्लो पटक नयाँ प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि आफ्नो कुरा लागू नहुने बुझेको एमालेले पक्षमा बहुमत पुर्याउन विभिन्न रणनीति अपनाइरहेको छ ।

विपक्षी गठबन्धन आफ्नो बहुमत कायम राख्ने प्रयासमा देखिन्छ । यस्तो रस्साकस्सी सुरु भएको केही दिनमा फेरि सांसद वली सम्पर्कबिहीन भएको खबर सार्वजनिक भयो । लगत्तै उनी एमालेमै फर्किएको प्रचार सुरु भयो । तर बुधबार पुन उनी माओवादीमा गएको विषय बाहिर आयो ।

सायद आज उनी आफैं सार्वजनिक हुनेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर