संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित – Nepal Press

संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा जोडतोडले आवाज उठेको छ । शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले यो विषयलाई महत्वका साथ उठाएका थिए ।

बैठकमा प्रतिपक्षी दल एमालेका संसदहरूले यस घटनालाई लिएर सरकार निरीहरूपमा प्रस्तुत भएको आरोप लगाए । कांग्रेस संसदहरूले चाहिँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापन गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेको भन्दै वर्तमान सरकारको बचाउ गर्न खोजे ।

बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री बालकृष्ण खाणले सो घटनाका सम्वन्धमा सरकारले गरिरेको अनुसन्धान प्रक्रियाबारे जानकारी दिएका थिए । तर, उनले कतै पनि घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीलाई जोडेनन् । बरु बेपत्ता धामीको खोजतलासमा एसएसबीले पनि सहयोग गरिरहेको उनले बताए ।

घटनाबारे छानविन गर्न सरकारले बनाएको छानविन टोली घटनास्थलतर्फ प्रस्थान गरेको भन्दै गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म मृत्यु भएको वा जीवित रहेको केही पत्ता लागेको छैन ।’

यस घटनालाई लिएर सरकारले भारतसँग कुनै कूटनीतिक पहल गरेको उनले जानकारी दिएनन् । बरु जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट भारतीय पक्षमा पत्राचार भएको भनेर टारे ।

गृहमन्त्रीको उक्त प्रस्तुतिपछि एमालेका सांसदहरु उनीप्रति आक्रामक बनेका थिए । सांसदहरू खगराज अधिकारी, महेश बस्नेत, शान्ता चौधरीलगायतले मन्त्रीको चर्को आलोचना गरे ।

अधिकारीले प्रश्न गरे, ‘सरकारको प्रस्तुति हेर्दा जयसिंह धामी तुइन आफैं चुँडिएर खसेको भन्न खाजिएको जस्तो देखियो । यो हाम्रो राष्ट्रिय स्वाभिमानविपरीत छ ।’

सांसद शान्ता चौधरीले प्रत्यक्षदर्शीको बयान आइसक्दा पनि सरकारले सत्यतथ्य लुकाउन खोजेको आरोप लगाइन् ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले यो घटनाका विषयमा दुई देशबीचको संयुक्त टोली बनाएर छानविन गर्न सुझाव दिए ।

उनले भने, ‘भारतीय एसएसबी आफैं पीडकको रूपमा रहेको छ भने उसले कसरी सत्यतथ्य बाहिर ल्याउँछ । त्यसैले संयुक्त टोली गठन गर्नुपर्छ ।’

कांग्रेसका अर्का सांसद गगन थापाले चाहिँ भारतले आफ्ना दुई मछुवारहरूको हत्या हुँदा चार वर्षसम्म न्यायको लागि लडेको स्मरण गराए । एसएसबीले घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको कुरा बाहिर आएको भन्दै उनले यसको सत्यताबारे सरकारले जानकारी दिनुपर्ने बताए ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पनि गृहमन्त्री खाणले घटनामा एसएसबीको संलग्नताबारे मौनता साँधे । सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन नबुझाएसम्म कुनै निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो ।

गृहमन्त्रीले भने, ‘समितिले सत्यतथ्य बाहिर ल्याएपछि त्यसका आधारमा अघि बढ्छौं ।’


प्रतिक्रिया

One thought on “संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर