क्रिकेट संघका महासचिव भन्छन्- पारसको निर्णय अनपेक्षित, तर सम्मान गर्छौं – Nepal Press

क्रिकेट संघका महासचिव भन्छन्- पारसको निर्णय अनपेक्षित, तर सम्मान गर्छौं

काठमाडौं । पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणालाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘अनपेक्षित’ बताएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले मिडियाबाट खबर थाहा पाएको भन्दै यसबारे बुझ्ने बताए ।

उनले भने, ‘हिजोसम्म उहाँ ट्रेनिङमा नै हुनुहुन्थ्यो । आज अचानक सन्न्यासको कुरा मिडियामा आयो । यसबारे के-कसो हो भन्ने बुझ्दैछौं ।’ सन्न्यास फिर्ता गराउन पहल गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् ।

प्याकुरेलले भने, ‘उहाँले अझै नेपालका लागि योगदान दिन सक्नुहुन्थ्यो भन्ने हो । हामीले निर्णय फिर्ता लिन आग्रह गर्ने एउटा पार्ट भयो । तर पनि उहाँको व्यक्तिगत निर्णयका सम्मान गर्नुपर्छ । मुख्य कुरा उहाँले के कारणले सन्न्यास घोषणा गर्नुभएको हो भन्ने बुझ्नुपर्छ ।’
लामो समय राष्ट्रिय क्रिकेटमा योगदान दिएका खेलाडीको सम्मानजनक विदाइ हुनुपर्ने विषयमा क्यान सचेत रहेको उनले बताए ।

‘उहाँले नेपालको क्रिकेटमा उच्च योगदान दिनुभएको छ । उहाँको बिदाइ सम्मानजनक गराउनका निम्ति हामी कुनै कञ्जुस्याइ गर्दैनौं । तर त्यो अलि परको कुरा हो अहिले चाहिँ ओमान जाने टिममा पारसको प्रतिस्थापन कसरी गर्ने भन्ने चिन्ता छ । ओमान टुरको लागि हामीले सबै खेलाडीको भिसा एप्लाइ गरिसकेका छौं ।’

पारसको क्यानसँग कुनै असन्तुष्टिको विषय रहेको आफूलाई जानकारी नरहेको प्याकुरेलले बताए । केही दिनअघि एभरेष्ट प्रिमियर लिगका संस्थापक आमिर अख्तरले दिएको उजुरीको विषयमा उनले यो उनीहरूको आन्तरिक भएको बताए ।

‘यदि आइसीसीको कोड अफ कन्डक्ट उल्लंघन भएको छ भने त्यहाँ हामीले हेर्ने कुरा हुन्छ । यसमा त्यस्तो केही देखिएको छैन । मलाई लाग्दैन कि उहाँको सन्न्यास यो विषयसँग जोडिएको छ,’ प्याकुरेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *