युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी – Nepal Press

युरो २०२०: अब बेन्चमा थन्क्याउन नहुने ५ खेलाडी

एजेन्सी । एक वर्ष ढिलो सुरु भएको युरो २०२० को पहिलो चरणमा प्राय देशले टिम छनोटमा रिस्क लिन चाहेनन् । तर, केही टोलीले सुरुआती-११ मा नयाँ प्रयोग गर्न खोज्दा चाहेजस्तो नतिजा निकाल्नबाट चुके ।

हुनत खेलाडी छनोट र टोली निर्माणको सम्पूर्ण निर्णय र स्वामित्व पनि फुटबल संघले मुख्य प्रशिक्षकलाई सुम्पिएको हुन्छ । र, प्रशिक्षकहरूले आफ्नो टोली हरतरहले बलियो बनाउन कुनै कसर बाँकी राख्दैनन् ।

यद्यपि, युरोका सुरुआती खेल हेर्ने हो भने सुरुआती-११ छनोटमा प्रशिक्षकहरू चुकेको स्पष्ट हुन्थ्यो । जसको ज्वलन्त उदाहरण स्पेनका प्रशिक्षक लुइस इनरिके हुन् । २४ जनाको टोली घोषणा गर्दा केही अपेक्षित नाम समावेश नगरेपछि चौतर्फी आलोचनाको शिकार भएका इनरिकेले पुन: एक पटक स्वीडेनविरुद्धको सुरुआती-११ लाई लिएर आलोचित हुनुपर्‍यो ।

युरो २०२० मा सहभागी सबै टोलीले कम्तिमा एक खेल खेलिसकेका छन् । र, समूह चरणको पहिलो खेल खेलिसकेपछि केही प्रशिक्षकले यदि आफ्नो टोलीलाई नक आउटमा पुर्‍याउन सुरुआती-११ को छनोटमा पुनर्विचार गर्नुपर्ने देखिन्छ । पहिलो चरणको समाप्तिसँगै यसरी बेन्चमा राख्न नहुने पाँच खेलाडी यसरी सूचीकृत गर्न सकिन्छ ।

गेरार्ड मोरोनो, स्पेन

बार्सिलोनाका कप्तान लियोनेल मेसीले (३०) मात्रै स्पेनिस लालिगामा गत सिजन स्पेनिस फरवार्ड जेरार्ड मोरोनो (२३) भन्दा धेरै गोल गरेका थिए । आफनो करियरकै उत्कृष्ट फर्ममा रहेका मोरोनोले अप्रत्यासित रूपमा युरो २०२० को पहिलो खेलमा स्वीडेनविरुद्ध सुरुआती-११ मा मौका पाएनन् । मुख्य प्रशिक्षक लुइस इनरिकेले उनको स्थानमा युभेन्टसका फरवार्ड अल्भारो मोराटालाई स्ट्राइकरको जिम्मेवारी दिएका थिए । मोरेनोभन्दा मोराटालाई सुरुआती-११ मा नराख्नु उनका लागि घाटा भयो । घरेलु मैदानमा भएको खेलमा पनि फिनिसिङमा चुक्दा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिँदा ६६ मिनेट मौका पाएका मोराटाले तीन पटक मात्रै पोस्टमा आक्रमण गर्न सफल भएका थिए । तीमध्ये कुनै पनि प्रहारले विपक्षी गोलकिपरलाई अप्ठेरोमा पार्न सकेनन् ।

यद्यपि, एक पटक गोल गर्नसके अल्भारो मोराटा आत्मविश्वासी खेलाडी हुन् । एक पटक उनले गोल गर्नसके गोलले नै उनलाई पछ्याउने छ । स्विडेनविरुद्धको बराबरीसँगै इनरिकेले पक्कै मोरोनोलाई छनोट गर्नेछन् ।

ज्याक ग्रेलिस, इङ्ल्यान्ड

आइतबार क्रोएसियामाथि १-० को जित हासिल गरेको इङ्ल्यान्डले विश्वकप २०१८ को बदलामात्रै लिएन, युरोपियन च्याम्पियनसिपमै पहिलो पटक उद्घाटन खेलमा पूरा तीन अंक लिन सफल भयो । वेम्ब्लीमा इङ्ल्यान्डले ऐतिहासि जित निकालेसँगै प्रतियोगितामा उत्कृष्ट सुरुआत पनि गर्‍यो । निरन्तर गोलका अवसरको खोजीमा रहे पनि इङ्लिस खेलाडीले गोल गर्नका लागि उचित मौकाका लागि धेरै समय पर्खनु परेको थियो ।

इङ्लिस टोलीको उक्त प्रतिक्षाको फल स्वरूप राहिम स्टर्लिङ गरेको गोलसँगै पाएको थियो । गेराथ साउथगेटको आलोचना गर्न त कठिन छ । तर, पहिलो खेलको प्रदर्शन हेर्ने हो भने विपक्षी टोलीविरुद्ध फाउल जित्न र फ्रि-किकको मौका सिर्जना गर्न इङ्लिस खेलाडी त्यति सफल रहेनन् ।

र, इङ्ल्यान्डको यो कमी पूरा गर्न ग्रेलिस एकदम उचित विकल्प हुने अनुमान सहजै गर्न सकिन्छ । किनभने, चोटका कारण १२ खेल गुमाएका ग्रेलिसले गत सिजन प्रिमियर लिगमा सर्वाधिक ११० पटक फाउल जितेका थिए । त्यस्तै, प्रभावशाली पासमा भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयनाले मात्रै उनलाई उछिनेका थिए ।

फिल फोडेन इङ्लिस टोलीका युरो २०२० मा ‘गोल्डेन ब्वाइ’ हुनसक्छन् । तर, क्रोएसियाविरुद्धको खेलमा भने उनको प्रभाव देखिएन । साउथगेटले शुक्रबार हुने स्कटल्यान्डविरुद्धो खेलमा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना त देखिँदैन, यद्यपि, उनले ग्रेलिसलाई एक मौका दिनु उपयुक्त हुन्छ ।

निकोला भ्लासिच, क्रोएसिया

वेम्ब्लीमा आइतबार इङ्ल्यान्डसँग पराजित भएसँगै क्रोएसियाको खराब लयले निरन्तरता पाएको छ । विश्वकप २०१८ को उपविजेता क्रोएसियाले पछिल्ला १० मध्ये दुई खेलमा मात्र जित निकाल्न सकेको छ । र, ती दुई जित पनि युरोपेली फुटबलमा स्थापित भइनसकेका साइप्रस र माल्टाविरुद्ध निस्किएको थियो ।

विश्वकपको उपविजेता पहिलो खेलमै पराजित भएसँगै क्रोएसियालाई शुक्रबार हुने खेलमा चेक गणतन्त्रसँग जित्नै पर्ने दबाब बढेको छ । क्रोएसियाली प्रशिक्षक ज्लाट्को डालिचलाई ह्याम्पडेनमा सशक्त प्रदर्शन गर्न निकोला भ्लासिचको उपस्थितिले पक्कै सहयोग पुग्नेछ ।

मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच र लुका मोड्रिकले मिडफिल्डबाट फाइनल थर्डसम्म प्रभावकारी बल सप्लाई गर्न समस्या भइरहेको देखिन्छ । यस्तो अवस्थामा आवश्यक देखिएको मिडफिल्ड र अट्याकबीचको पुल भ्लासिच बन्न सक्छन् ।

इङ्ल्यान्डविरुद्धको खेलमा २० मिनेट मौका पाएका भ्लासिचले क्षमताअनुसारको प्रदर्शन गर्न पर्याप्त समय थिएन । गत सिजन रसियन प्रिमियर लिगमा ११ गोल र पाँच असिस्ट गरेका भ्लासिचले २३ वटा ठूला मौका सिर्जना गरेका थिए । पहिलो खेलमा जित हासिल गरेको चेक गणतन्त्रले स्कटल्यान्डविरुद्ध १९ प्रहार सहनु परेको थियो ।

यस्तै मौका सिर्जना भए क्रोएसियाका लागि भ्लासिचले गोल गर्ने सम्भावना पनि देखिन्छ । त्यसैले चेक गणतन्त्रविरुद्धको खेलमा उनलाई मौका दिनु उचित देखिन्छ ।

चे आडम्स, स्कटल्यान्ड

चेक गणतन्त्रविरुद्धको पराजयमा एन्डी रोबर्टसनले मात्रै चे आडम्सको भन्दा धेरै पास खेलेका थिए । जबकी आडम्स पहिलो हाफपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । उक्त खेलमा स्कटल्यान्डले प्रहार गरेका १९ मध्ये १३ प्रहार आडम्सको उपस्थितिपछि मात्रै सम्भव भएका थिए ।

गत वर्ष आडम्सले स्कटल्यान्डबाट खेल्ने घोषणा गरेपछि उनले स्कटिस टोलीको अट्याकिङ थर्डमा ल्यान्डन डाइक्ससँग सहकार्य गर्ने सम्भावना थियो । तर, प्रशिक्षक स्टिभ क्लार्कको निर्णय यसको विपरीत रह्यो ।

यसअघिका सात खेलमा एक गोल मात्रै खाएको इङ्ल्यान्डविरुद्ध स्कटल्यान्डलाई कम चुनौती हुनेछैन । र, प्रिमियर लिगमा व्यावसायिक फुटबल खेल्ने आडम्स इङ्लिस डिफेन्डरसँग परिचित छन् । त्यसैले आडम्सको उपस्थिति स्कटल्यान्डका लागि फाइदाजनक हुन सक्छ ।

एन्ड्रे सिल्भा, पोर्चुगल

साविक विजेता पोर्चुगलले मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरीलाई ६७ हजार दर्शकसामु उसकै मैदानमा ३-० ले पराजित गर्‍यो । उक्त खेलमा पोर्चुगलका लागि राफाएल गुरेरो र कप्तान क्रिस्टियानो रोनाल्डोले गरेका तीनै गोल सिल्भाको आगमनपछि सम्भव भएका थिए ।

सिल्भा मैदानमा प्रवेश गरेसँगै रोनाल्डो सेन्ट्रल स्ट्राइकरबाट लेफ्ट फ्लान्कमा स्वीच भएका थिए । जसको कारण पोर्चुगिज टोली हंगेरियन डिफेन्स ब्रेक गर्न सफल भएको थियो ।

आइनट्राच्ट फ्रान्कफर्टमा उत्कृष्ट सिजन बिताएका सिल्भाले गत सिजन बुन्डेसलिगामा २८ गोल गरेका थिए । उत्कृष्ट फर्ममा रहेका सिल्भालाई मैदानमा उतार्नु पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषका लागि फाइदाजनक रह्यो । उनको अट्याकिङ हाफमा उपस्थितिसँगै हंगेरियन डिफेन्डर व्यस्त हुँदा रोनाल्डोले गोल गर्ने मौका पाएका थिए ।

त्यसैले, शनिबार हुने खेलमा जर्मनीविरुद्ध सिल्भाको उपस्थितिले रोनाल्डोका लागि जर्मनीको डिफेन्सिभ हाफमा धेरै ठाउँ उपलब्ध हुन सक्छ । यसका कारण गोल स्कोरिङ र विपक्षी डिफेन्डरलाई व्यस्त राख्न पनि सिल्भा प्रभावकारी हुने भएकाले उनी सुरुआती-११ मा स्थान बनाउन डिजर्भ गर्छन् ।

दी गार्जियनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *