क्लबहाउसमा झुम्मिँदै युवाहरू, सेलिब्रिटीको पनि आकर्षण – Nepal Press

क्लबहाउसमा झुम्मिँदै युवाहरू, सेलिब्रिटीको पनि आकर्षण

पारसको अनुभव: शतर्कतासाथ चलाए फाइदाजनक

काठमाडौं । स्मार्टफोनलाई लक्षित गरी विश्वमा दिनदिनै नयाँ-नयाँ एपहरू निर्माण भइरहेका हुन्छन् । तर, ती सबै एप सफल र चर्चित बन्दैनन् । एपहरूको भीडमा नयाँ आएका सामाजिक सञ्जाल तथा सोसियल एपले सजिलै ‘एटेन्सन’ पाउने अवस्था छैन ।

तर, पछिल्लो समय एउटा नयाँ सोसियल एपले विश्वभर एकाएक चर्चा कमाउन सफल भएको छ । नेपालमा पनि व्यापक लोकप्रिय बनिरहेको यो एप हो- क्लबहाउस । अडियो मिडियममा आधारित एप क्लबहाउसका दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदै छन् । हल्काफुल्का मनोरञ्जनात्मक एपहरूमा भुलिरहेका युवाहरूलाई क्लबहाउसले बौद्धिक बहसमा तानेको छ ।

यसरी बन्यो लोकप्रिय

अमेरिकाको सान् फ्रान्सिस्को बेस्ड एक कम्पनीले २०२० को मार्चमा बनाएको क्लबहाउस एप पहिले एप्पलको आइओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो । गत मे २१ मा एन्ड्रोइडका लागि पनि यो उपलब्ध भएपछि यसले एकाएक व्यापकता पाएको हो ।

सन् २०१९ मै पाउल डेभिसन र रोहन सेथले सामाजिक सञ्जाल स्टार्टअपको रूपमा सुरु गरेको यो प्लेटफर्म विशेषगरी पोडकास्टका लागि बनाइएको थियो । तर, सोही एपलाई पुन: ब्रान्डिङ गरेर २०२० मा ‘क्लबहाउस’ नामाकरण गरी आइओएस प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको हो ।

अल्फा एक्सप्लोरेसन कम्पनीका अनुसार क्लबहाउसमा सक्रिय प्रयोगकर्ताको संख्या एक करोड नाघिसकेको छ । जबकि गत जनवरीसम्म २० लाख मात्र प्रयोगकर्ता थिए । टेस्लाका एलन मस्क, फेसबुकका मार्क जुकरवर्गजस्ता प्रख्यात धनाढ्यहरू यो एपमा प्रवेश गरेपछि यसको चर्चा चुलिएको थियो ।

राष्ट्रियस्तरमा मात्र नभएर अन्य देशहरूमा चलिरहेका अनेकथरि छलफल सुन्न, सहभागी हुन र अन्तरक्रिया गर्न पाइने भएकाले पनि यो एपमा आकर्षण बढेको छ ।

के-के छन् विशेषता ?

कुनै पनि एप लोकप्रिय बन्नका लागि यसमा नयाँपन हुनैपर्छ । क्लबहाउस एकदमै नयाँ फिचर भएको एप हो । यसमा च्याट, म्यासेज, भिडियो कल, अडियो कल जस्ता परम्परागत सुविधा छैनन् ।

यो नितान्त: अडियो डिस्कसन एप हो । अन्य एपहरू फेसबुक-ट्वीटर-इन्सटाग्राम जस्तो सुविधा नभए पनि विभिन्न विषयमा रूम बनाएर बोलेर छलफल गर्न सकिने भएकाले यो एप लोकप्रिय भएको छ ।

क्लबहाउसमा ज्वाइन हुनका लागि इन्भिटेसन आवश्यक हुन्छ । पहिल्यै क्लबहाउसमा रहेको प्रयोगकर्ताले इन्भिटेसन पठाइसकेपछि तपाईंले आफ्नो मोबाइल नम्बर राखेर अकाउन्ट खोल्न सक्नुहुन्छ । लग इन गरेर भित्र पसिसकेपछि आफूले चाहेको रूममा ज्वाइन गर्न सकिन्छ ।

क्लबहाउसका मुख्य फिचर भनेको विविध विषयहरूमा गरिने बहसहरू हुन्, जुन मौखिक रूपमा हुन्छ । तपाईं आफ्नो रूची अनुसार कुनै पनि रूममा छिरेर पर्यवेक्षकका रुपमा वा वक्ताका रूपमा सहभागी हुन सक्नुहुन्छ । केही बोल्न मन लाग्यो भने हात उठाएको संकेतमा थिच्नुपर्छ । बोल्नु छैन भने चुपचाप सुनेर बस्ने र मन लागेको बेला बाहिर निस्किन सकिन्छ ।

आफैं मोडरेटर भएर कुनै विषयमा छलफल गराउन पनि सकिन्छ । ‘क्लबहाउस’भित्र एउटै रूममा पाँच हजारसम्म व्यक्तिहरू अकोमोडेट हुन सक्छन् । यसभित्र राजनीतिकदेखि खेलकुद, साहित्यदखि मनोरञ्जनसम्मका क्षेत्रहरूमा छलफल हुने गरेका छन् ।

स्टारहरू तानिँदै

देश-विदेशका चर्चित सेलिब्रिटी तथा स्टारहरूसँग आममानिसहरूले सोझै सम्पर्क र कुराकानी गर्न सहज हुन्न । तर, क्लबहाउसले यसलाई केही हदसम्म सहज बनाइदिएको छ । क्लबहाउसमा हुने डिस्कसनहरूमा सेलिब्रिटीहरू सामेल हुने क्रम बढ्दो छ ।

अहिले नेपालमा पनि कलाकार, अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा अन्य परिचित व्यक्तित्वहरू क्लबहाउसमा आएर छलफल गर्न थालेका छन् । फ्यानहरूले आफ्नो प्रिय सेलिब्रिटीहरूसँग मन लागेको प्रश्न सोध्न सक्छन् । लकडाउनको समयमा फुर्सदिला बनेका कलाकारलाई पनि यो फ्यानसँग जोडिने माध्यम बनेको छ क्लबहाउस ।

क्रिकेटरहरू पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी करण केसी, अभिनेत्रीहरू केकी अधिकारी, सुरक्षा पन्त, प्रियंका कार्की तथा मिडिया पर्सनालिटीहरूले क्लब हाउसको स्वाद चाखिसकेका छन् ।

सावधानी साथ चलाए फाइदाजनक: पारस खड्का

क्लब हाउसलाई सावधानीपूर्वक प्रयोग गर्ने हो भने सूचना प्राप्त गर्ने माध्यम बन्ने र आफ्नो व्यक्तिगत विकासमा पनि सहयोग गर्ने क्रिकेटर पारस खड्का बताउँछन् । आफ्नै सर्कलका साथीले यसमा इन्भाइट गरेपछि एउटा छलफलमा सहभागी भएका पारसले यसको प्रयोगले वाक क्षमतामा विकास गर्न सकिने बताए ।

‘धेरै खालका सामाजिक सञ्जालहरू छन् । अहिले क्लबहाउस पनि एकदमै चलेको छ । त्यहाँबाट नयाँ-नयाँ कुराहरूको ज्ञान लिन सकिन्छ र छलफलमा सहभागी हुँदा आफ्नो बोल्ने बानीको पनि विकास हुन्छ,’ पारस भन्छन्, ‘तर, क्लबहाउसमा कन्फेस गरेका कुराहरूले कति जना ‘हर्‍यास्ड’ हुनुपरेको पनि रहेछ । त्यसैले आफूले सावधानी अपनाएर चलाउने हो भने फाइदाजनक नै देखिन्छ ।’

पब्लिक डिस्कसन रूमहरूमा गएर प्रयोगकर्ताले आफ्ना गोप्य कुराहरू सेयर गर्दा त्यसबाट निम्तिन सक्ने जोखिमको बारेमा पनि सचेत हुनुपर्ने पारसको भनाइ छ ।

फुटबल कमेन्टेटर सन्जीव शिल्पकारलाई पनि क्लब हाउसले लोभ्याएको छ ।

‘क्लबहाउसबारे मलाई त थाहा थिएन । नेपाल र चाइनिज ताइपेइबीचको खेल भएको दिन साथीहरूले बोलाएर जोडिएको थिएँ,’ शिल्पकार भन्छन्, ‘क्लबहाउसमा गएको पहिलो दिन नै नेपालले फुटबलमा जितेको थियो । फुटबलकै विषयमा चलिरहेको बहसमा ३ बजेसम्म छलफल गरिएछ ।’

क्लबहाउसमा हुने गरेका केही छलफलहरू सबैका लागि फाइदाजनक हुने उनको बुझाइ छ ।

‘कुनै विषयको विज्ञ मानिसले त्यस्ता छलफलमा सहभागी हुने हो भने आफूसँग भएको ज्ञान अरूलाई बाँड्न पाउँछन्, त्यसले एकदमै फाइदा हुनसक्छ,’ उनी भन्छन्, ‘तर, सूचनाको स्रोत चाहिँ आधिकारिक हो वा होइन भन्ने विषयमा शतर्क हुनु जरूरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर