निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ – Nepal Press

निर्वाचनलाई खोइ बजेट ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

काठमाडौं । सरकारले संसद विघटन गरी कात्तिक २८ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि कति रकम छुट्याइँदै छ भन्ने कौतुहल थियो । तर, बजेटमा चुनावी बजेटको अंक आएन ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्था गरिएको’ उल्लेख भए पनि अंक तोकिएको छैन । यसलाई लिएर कतिपयले सरकार आफैं चुनाव हुनेमा विश्वस्त नभएकाले चुनावका लागि बजेट नतोकेको आशंका समेत गरेका छन् ।

अर्थमन्त्री पौडेलले मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव खर्चको विषयमा जवाफ दिएका छन् । यद्यपि, उनको जवाफ टालटुले थियो । उनले सरकार निर्माणका सबै सम्भावना सकिएपछि संसद विघटन भएको भन्दै नयाँ निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

‘निर्वाचन स्वतन्त्र र निष्पक्ष गर्न सरकारको ध्यान छ,’ उनले भने, ‘त्यसमा हाम्रो सबै सामर्थ्य परिचालन गर्छौं । निर्वाचन लोकतन्त्रको प्राण हो । निर्वाचनका निम्ति हामीले आवश्यक बजेट छुट्याएका छौं ।’

अर्थसचिव शिशिर ढुंगानाले पनि चुनावका लागि अर्थमन्त्रालय बजेटको व्यवस्थापन गर्न सक्षम रहेको बताए ।
उनले भने, ‘सरकारले चुनाव घोषणा गरिसकेपछि त्यसका लागि आवश्यक रकमको कमी हुन दिँदैनौं ।’

यसअघि गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा चालु खर्च कटौति गर्दै निर्वाचन खर्चको व्यवस्था गर्ने बजेटको अर्धवार्षिक समीक्षामा बताइएको थियो । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटन गरेपश्चात निर्वाचन आयोगले माग गरेको बजेट खर्च सरेण्डर भएको थियो ।

आयोगले खर्च गरेको बाहेकको रकम निर्वाचन आयोगलाई निकासा गरिएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर