विश्व नर्सिङ दिवस

कोरोनाले चहराएको घाउमा मल्हम लगाइरहेका योद्धा (भिडियो)

आज विश्व नर्सिङ दिवस । विश्वरभरका नर्सिङ पेसामा रहेकाहरू यतिबेला कोभिड महामारीसँग जुधिरहेका छन् । नेपालमै पनि यतिबेला आफ्नै ज्यानको जोखिम मोलेर नर्सहरू बिरामीको सुरक्षा र उनीहरूलाई निको पार्न तल्लीन छन् ।

नेपालमा पनि कोभिड संक्रमितको दर उच्च भएसँगै नर्सहरू २४सै घण्टा बिरामीको सेवामा छन् । यतिबेला आफू संक्रमित हुन्छु भन्ने परवाहै नगरी बिरामीको सेवामा कटिबद्ध नर्सका अनुभूति के-के छन् त ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई नर्ससँग नर्सिङ पेसाप्रतिको आकर्षण र महामारीमा खटिदाँको अनुभूतिबारे नेपाल प्रेसले कुराकानी गरेको छ । उनीहरूसँग गरेको कुराकानीको सम्पादित अंश :

मित्रा देवकोटा, नर्सिङ अधिकृत

म टेकु अस्पतलामा काम गर्न थालेको १५ वर्ष भयो । यो पेसाका आएको चाहिँ २९ वर्ष । यो पेसामा म रुचिले त आएको थिइनँ । पारिवारिक दबाबले आएको थिएँ ।

दाइलाई नर्सिङ पेसा रुचि भएकाले उहाँले यही विषय पढ्न जोड गर्नुभयो । सुरुमा त न पढ्न मन लाग्थ्यो न काम गर्न नै । तर, विस्तारै काम गर्दै गएपछि यो पेसाले मलाई तान्यो । रुचि बढ्दै गयो । बिरामीको दुःख देख्दा र आफूले गरेको केयरले पेसाप्रति अपनत्व बढ्दै गयो । अनि लाग्न थाल्यो- मैले जे गरेछु राम्रै गरेछु ।

हुन त टेकु अस्पतालमा पहिल्यैदेखि नै सरुवा रोगका बिरामीको उपचार हुन्थ्यो । सुरुमा एचआईभी भन्नेबित्तिकै पनि डर हुन्थ्यो । तर, काम गर्दै गएपछि सामान्य लाग्न थाल्यो । दुई वर्षअघिसम्म डेंगु पनि हामीले पार गर्‍यौं । कैयन् डरहरू त काम गर्दागर्दै गायब हुन्छन् । कोभिडको हकमा पनि त्यस्तै भयो । कोभिडका बेला पनि हामी सकेसम्म जोगिँदै काम गरेका छौं । सकेसम्म संक्रमण हुन दिएका छैनौं । हामीलाई चाहिँ पहिल्यैदेखि सरुवा रोगबाट कसरी बच्ने र कसरी काम गर्ने भन्ने पहिल्यैदेखिको अभ्यास थियो ।

सुरुमा त कोभिडको प्रसंगमा पनि डर नलागेको होइन । बाहिरका डाटाहरू हेर्दा पढ्दा पनि डर लाग्थ्यो । तर, विस्तारै बिरामीको सेवा गर्दै जाँदा बानी पर्न थाल्यो । हामीलाई स्वास्थ्य सामानहरूको अभाव भएन ।

अहिले भने एकदमै चिन्ता छ । सिरियस बिरामी धेरै आएका छन् भने हामी पनि थारै स्टाफले धेरै बिरामीको रेखदेख गर्नुपर्ने अवस्था छ । हाम्रो आफ्नो समय भन्ने नै छैन । आफू पनि संक्रमित हुने हो कि भन्ने पिर भइरहन्छ । तापनि बिरामीको दु्ःख देख्दा भोक प्यास नै मेटिन्छ । बिरामीको स्वास्थ्यलभाको कामना गरिन्छ ।

पहिला र अहिलेको कोभिड बिरामीको अवस्था फरक छ । पहिले कोभिडका बिरामी आफैं ट्वाइलेट जान सक्ने र केयर गर्न सक्ने हुन्थे । तर अहिले भर्ना भएका बिरामी बेडबाट उठ्यो कि सेचुरेसन एकदमै कम हु्न्छ । भरसक हाम्रो केयर उहाँहरूलाई बढी छ । हामीले जस्तोसुकै अवस्थामा पनि हार खाएका छैनौं । अझैपनि खानु नपरोस् । यही छ कामना ।

एन्जिला ढकाल, नर्स

मेरो बच्चादेखिकै रुचि हो नर्स बन्ने । उपचार गराउन जाँदा पनि मेरो ध्यान भने अरु नै तिर जान्थ्यो । डाक्टर, नर्स कस्ता हुन्छन् ? अस्पतालभित्र के-के हुन्छ होला ? कसरी काम गर्छन् होला भन्ने खुल्दुली भइरहन्थ्यो । म आफैं पनि लडेर हात भाँचिदा हातको पीडा भएन । हातको उपचार कसरी गर्छन् भन्नेतिर ध्यान हुन्थ्यो ।

एसएलसीपछि मलाई नर्सिङ नै पढ्न मन लाग्यो । र यो क्षेत्रमा प्रवेश गरेँ ।

६ वर्ष भयो, म नर्सिङ पेसामा प्रवेश गरेको । म टेकु अस्पतालको ग्यास्ट्रो आइसोलेसनमा कार्यरत छु । यतिबोला हामीलाई चुनौती अत्यधिक छ । पहिलेको कोभिडको तुलनामा अहिले निकै कठिन छ । अहिलेका बिरामीलाई अक्सिजनको मात्रा पुगेको छैन । प्रत्येकलाई अक्सिजन लगाउनुपर्छ । बिरामीको हेरचाह पहिलो लहरकोलाई भन्दा अहिले धेरै छ । बिरामी एकैपटक आईसीयूमै लैजानुपर्ने खालको आउनुहुन्छ । बेड नहुँदा तत्काल लैजान नपाउँदा दुःख लाग्छ ।

कुनै समय त ड्युटी आवर २४ घण्टा समेत भयो । तर, अहिलेचाहिँ ६/६ घण्टाको सिफ्ट ड्युटी हुन्छ । यसरी काम गरिरहँदा थुप्रै समस्या आउँछन् । अहिलेको अवस्थामा उपचारका क्रममा संक्रमितसँग बस्नुपर्छ । अस्पतालबाट काम गरेर घर जाँदा मन खिन्न हुन्छ । हाम्रो पनि घरमा बच्चाहरू छन्, बुढा बा आमा छन् । कतै हाम्रो कारण उहाँहरूलाई सर्ने त होइन भन्ने डर लागिरहन्छ । ‘बरु भए मलाई नै होस्’ परिवारलाई केही नहोस् भन्ने लागिरहन्छ ।

जति नै दुःख परे पनि जागिर छाडौं जस्तो चाहिँ यो पेसामा आएपछि नलाग्दो रहेछ । हामीले केयर गरेर नै बिरामी बाँच्छन् भने किन भाग्ने भन्ने लाग्दोरहेछ । हामी नै भाग्यौं भने आम मानिसको के अवस्था होला ? त्यसैले जस्तोसुकै अवस्था आए पनि मन दह्रो बनाउनुपर्छ भन्ने लाग्छ ।

(फोटो/भिडियो : निशान्तसिंह गुरुङ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *