सुदूरपश्चिम प्रदेश : आँगनमा राखेर संक्रमितको उपचार – Nepal Press

सुदूरपश्चिम प्रदेश : आँगनमा राखेर संक्रमितको उपचार

कैलाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले सुदूरपश्चिमका अस्पतालमा चाप बढेको छ ।

प्रदेशको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । कोरोना संक्रमितको उपचारका लागि ५५ शय्या छन् । अहिले ५८ जना भर्ना भएका छन् ।

तीमध्ये ३ जना भेन्टिलेटरमा छन् भने २० जना आईसीयूमा छन् । २८ जनालाई अक्सिजनको सहायतामा राखिएको र ७ जना मेड्रेटमा रहेको अस्पतालले जनाएको छ ।

बेड अभावका कारण कोभिड-१९ को लक्षण भएकाहरूको आकस्मिक कक्षमै उपचार भइरहेको छ । १५ शय्याको आकस्मिक कक्ष भरिएपछि ग्यालरी र अस्पतालको आँगनमा राखेर उपचार भइरहेको छ ।

‘दिन प्रतिदिन सङ्क्रमितहरू बढिरहेका छन्’ अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने ‘अहिले ग्यालरीमा र आँगनमा पनि राखेर उपचार गर्न बाध्य छौँ ।’ उनका अनुसार संक्रमितलाई प्राथमिकतामा राखेर लक्षण देखिएकाहरूलाई आकस्मिक कक्षमा लैजाने र अन्य बिरामीहरूलाई त्यहाँ राख्ने गरी टेन्ट बनाइएको थियो । तर अहिले ठाउँ अभाव छ ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर तीव्र फैलिएको बताए । ‘कोरोना नियन्त्रणभन्दा बाहिर गइरहेको छ । हामीसँग भएको क्षमता भन्दा धेरै संक्रमित आइरहेका छन्’ उनले भने ‘अहिले सम्मत हामीले जेनतेन थेगेका छौँ । अब गाह्रो छ ।’

अक्सिजन अभाव

सेती प्रादेशिक अस्पतालमा अहिले अक्सिजन अभाव छ । ‘अक्सिजन भएको बेला एउटा बिरामीले एउटा अक्सिजन पाउँछन् । नत्र दुई बिरामीलाई एउटा अक्सिजन दिनु पर्ने बाध्यता छ ’पाण्डेले भने ‘पर्याप्त अक्सिजन नहुँदा हामीलाई संक्रमितको उपचार गर्न समस्या छ । ’

आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिन्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

‘अहिले ५५ देखि ६० सिलिन्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिन्डर को आवश्यकता पर्छ’ मेसु पाण्डे भन्छन् ।

अस्पतालका अनुसार गर्मीका कारण लोड धान्न नसक्दा र बेला-बेलामा विद्युत बन्द हुँदा अक्सिजन उत्पादनमा कमी आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर