चाप बढेपछि अस्पताल प्राङ्गणमै राखेर बिरामीको उपचार – Nepal Press
कोरोना कहर

चाप बढेपछि अस्पताल प्राङ्गणमै राखेर बिरामीको उपचार

उपचार सहज बनाउन सीडीओलाई उपप्रधानमन्त्रीको निर्देशन

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र ग्यालरी समेत भरिएपछि शंकास्पद र संक्रमितको अस्पताल बाहिरै उपचार थालिएको छ ।

५५ शय्याको अस्थायी कोरोना अस्पताल भरिएको छ । १५ शय्याका आकस्मिक कक्षमा पनि उत्तिकै छ । आकस्मिक कक्षमा कोरोनाका लक्षण भएका र अन्य बिरामीहरू पनि छन् । आकस्मिक कक्षकै ग्यालरीमा पनि बिरामीको चाप छ ।

भित्र बेड र भुइँसमेत भरिएपछि केही बिरामीलाई अस्पताल बाहिरै उपचार गराउन थालिएको हो ।

कोभिडका लक्षण भएका तर, पुष्टि नभएका बिरामीहरूको प्राङ्गणमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

‘बेड छैन भनेर बिरामी फर्काउनु भन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु ठिक हो ’उनले भने ‘अहिले हामीले यसै गरी व्यवस्थापन गरिरहेका छौँ ।’

पीसीआरको रिपोर्ट आएपछि भने उनीहरूलाई त्यहाँबाट सारिने गरिएको छ ।

‘संक्रमित पुष्टि भएपछि कोरोना अस्पताल पठाउँछौँ नभए सम्बन्धित वार्डमा लैजान्छौँ’ सूचना अधिकारीले भने ‘अहिले अवस्था जटिल बन्दै गइरहेको छ।’

केही दिनयता रिपोर्ट आउनु भन्दा अघि नै आकस्मिक कक्ष र ग्यालरीमै संक्रमितहरूको मृत्यु हुन थालेको । अहिलेसम्म ६ जनाको कोरोना संक्रमणबाट आकस्मिक कक्ष र ग्यालरीमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

‘कोरोनाको लक्षण हुँदा पनि पुष्टि नहुँदा सम्म कोरोना अस्पताल लगिने गरिएको छैन’ एक स्वास्थ्यकर्मीले भने, ‘संक्रमण यकिन नभएसम्म त्यही अनुसारको उपचार शुरू नगरिने भएकोले ६ संक्रमितकको ज्यान गइसकेको छ ।’

प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अस्पतालमा शय्या अभावमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न नसकिएको वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले बताए ।

‘हामीसँग ठाउँ र जनशक्ति दुवैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यहीँ उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’

विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा उपचारमा संलग्न चिकित्सक र नर्सहरू पनि संक्रमित भएपछि झन् समस्या भएको बताइएको छ ।

प्रजिअलाई उपप्रधानमन्त्रीको फोन

संक्रमित र मृत्युदर पनि बढेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई फोन गरेर रोकथाम र उपचारमा प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् ।

मंगलबार उपप्रधानमन्त्री पोखरेलले प्रजिअ रिजाललाई फोन गर्दै जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले सीमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सीडीओसँग जानकारी लिएको प्रशासन स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर