बैंकिङ क्षेत्रमा फेरि शुरू भयो कोरोना प्रभाव, निक्षेप र कर्जा दुवै ऋणात्मक

काठमाडौं । कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थासमेत पर्न थालेको छ । महामारीको त्रासका कारण कर्जा र निक्षेप दुवै घट्न थालेको बैंकहरूले बताएका छन् ।

चाँडै निषेधाज्ञा वा लकडाउन हुन सक्ने आँकलनले उद्योगी-व्यवसायी र निक्षेपकर्ताले वित्तीयरुपमा सुरक्षित हुन खोजेपछि बैंकिङ क्षेत्रमा असर देखिएको हो । वैशाखमा ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाको निर्णयले पनि कर्जा प्रवाहमा असर गरेको छ ।

वैशाख महिनाको पहिलो सातामा १७ अर्ब रूपैयाँ र दोस्रो सातामा ५ अर्ब गरी दुई सातामा २२ अर्बले निक्षेप घटेको छ । यस्तै, वैशाखको पहिलो साता कर्जा प्रवाह ८ अर्बले ऋणात्मक भएको छ । चैत महिनासम्म आक्रामकरूपमा कर्जा विस्तार गरेका बैंकहरूले तरलता अभाव हुन थालेको भन्दै वैशाख महिनाका लागि ब्याजदर वृद्धि गरेका थिए ।

अधिकांश वाणिज्य बैंकले वैशाख महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा निक्षेपतर्फको ब्याजदर वृद्धि गरेका छन् । जसले गर्दा बैंकहरूको कर्जातर्फको ब्याजदर पनि बढेको छ ।

किन घट्यो कर्जा प्रवाह ?

तेस्रो चौमासिकमा बैंकले गर्ने आम्दानीभन्दा ‘लोन प्रोभिजनिङ्ग’ को लागत बढी हुने भएकाले बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न चाहँदैनन् । यो अवधिमा निक्षेपको ब्याजदर बढाएर बैंकहरुले तरलता सञ्चित गर्ने लक्ष्य लिएका हुन्छन् ।

आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने भएकाले बैंकिङ च्यानलमा २ खर्ब हाराहारीको रकम जाने गर्दछ । वर्षको अन्त्यसम्म तरलता बढाउने र नयाँ आर्थिक बर्षबाट कर्जा विस्तार गर्ने बैंकको नीतिका कारण कर्जा घटेको हो ।

वैशाख महिनाको पहिलो सातामा ८ अर्ब रूपैयाँले कर्जा घटेकोमा दोस्रो साता भने केही सुधार भएर १७ अर्ब रूपैयाँ पुगेको छ ।

निषेधाज्ञामा आवतजावतमा कडाइ गरिने तथा सीमित बैंकिङ शाखाहरू मात्रै सञ्चालनमा आउने भएकाले सर्वसाधारणले नगद आफैसँग राख्न खोज्छन् । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ र एटीएम मेसीनबाट राष्ट्र बैंकको सीमाभन्दा बढी रकम झिक्न नपाइने भएकाले निक्षेपकर्ताले नगद होल्ड गरेका छन् ।

बिहीबारदेखि सरकारले काठमाडौं उपत्यका लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गर्न सक्ने भएकाले निक्षेप तथा कर्जा दुवै थप घट्ने देखिन्छ ।

कोभिड-१९ को दोस्रो लहरका कारण लगानीकर्ताको मनोवलमा गिरावट आउँदा कर्जाको मागमा कमी आएको देखिन्छ ।

ब्याजदर घट्न सक्ने

गत वर्ष कोभिड-१९ को सतर्कतास्वरूप सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थामा २ खर्ब हाराहारीको अधिक तरलता रहेको थियो । आर्थिक गतिविधिमा आएको संकुचनका कारण निक्षेप बढेपनि कर्जा लगानी बढ्न नसक्दा ब्याजदरमा गिरावट आएको थियो ।

कोभिड १९ का कारण बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदरमा ब्यापक कटौति गरेका थिए । १३ प्रतिशतसम्म कायम रहेको कर्जातर्फको ब्याजदर घटेर ९ प्रतिशतको हाराहारीमा आइपुगेको थियो ।

निक्षेपतर्फको ब्याजदरमा नेपाल राष्ट्र बैंकले कायम गरेको ५ प्रतिशतको स्प्रिड दरका कारण साधारण बचतको ब्याजदर घटाएका बैंकहरुले मुद्धतीतर्फ पनि घटाएका थिए । १.५ प्रतिशतसम्म साधारण बचतमा ब्याज दिएका बैंकहरुले मुद्धतीमा ५.५ प्रतिशतसम्मको ब्याजदर कायम गरे । निक्षेपको ब्याजदरमा आएको गिरावटले बैंकहरूको कस्ट अफ फण्डमा कमीले आधार दर समेत कम भयो । जसका कारण बैंकहरूले कर्जातर्फको ब्याजदर समेत घटाए ।

त्यस्तै बजेटमार्फत सरकारले कोभिड-१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थानका लागि पुनर्कर्जाको व्यवस्था गरिदिएपछि केन्द्रीय बैंकको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित उद्योगी-व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा २ खर्बको पुर्नकर्जा कोषको व्यवस्था गरिदिएको थियो । त्यस्तै केन्द्रीय बैंकले कोभिड प्राभावित उद्योगी व्यवसायीको कर्जाको पुनःतालिकीकरण गर्दा अधिकांश बैंकको खराव कर्जा बढेको बैंकहरुको तेस्रो क्वाटरको प्रतिवेदन मार्फत देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *