२ दिनपछि उठ्न थाल्यो पोखराको फोहोर – Nepal Press

२ दिनपछि उठ्न थाल्यो पोखराको फोहोर

पोखरा । आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको र माग सुनुवाइ नभएको भन्दै बिहीबारदेखि रोकिएको फोहोर उठाउने काम २ दिनपछि आजबाट सुरु भएको छ । चैत मसान्तमै सम्झौता म्याद सकिए पनि आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै कम्पनीले फोहोर उठाउन छोडेका थिए ।

सार्वजनिक निजी साझेदारी अन्तर्गत फोहोर मैला व्यवस्थापन गरिरहेको पोखरा महानगरपालिकाले म्यादसँगै बजेट पनि सकिएकाले कम्पनीलाई भुक्तानी दिन सकेको थिएन । महानगरपालिकाले बाँकी रहेको भुक्तानी पनि दिने र असारसम्म म्याद थप गर्ने सहमतिपछि उनीहरुले फोहोर उठाउन सुरु गरेका हुन् ।

‘महानगरपालिकासँगको सम्झौता म्याद पनि सकिइसकेको थियो । रकमान्तर गरेर फोहोर उठाइरहेका कम्पनीलाई भुक्तानी दिनुपर्ने भएकाले ढिलाइ भएको थियो,’ महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कल्पना बरालले नेपाल प्रेससँग भनिन्, ‘आइतबारसम्म सबैलाई चेक दिने सहमति भइसक्यो । फोहोर उठ्न सुरु भइसक्यो ।’

सार्वजनिक निजी साझेदारी अन्तर्गत पोखरा महानगरपालिकामा अहिले विभिन्न ७ वटा कम्पनीले फोहोर उठाइरहेका छन् । उनीहरुले पोखरा महानगर क्षेत्रबाट दैनिक करिब १ सय ८० टन फोहोर संकलन गरिरहेका छन् ।

‘सम्झौता सकिएका कम्पनीका म्याद थप’
फोहोर मैला व्यवस्थापन गर्दा उठेको आम्दानीबाट ८० प्रतिशत कम्पनीले राखेर बाँकी महानगरपालिकालाई बुझाउने सम्झौता थियो । यद्यपि पोखराको फोहोर मैला संकलन गरिरहेका कम्पनीसँग महानगरले गरेको सम्झौता चैत मसान्तमै सकिइसकेको थियो ।

सम्झौता सकिएर कम्पनीले फोहोर उठाउनै बन्द गरिदिएपछि महानगरले ‘अर्को व्यवस्थापन नहुँदासम्म’ अहिले काम गरिरहेकै कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । महानगरपालिकाको शनिबार बसेको कार्यपालिका बैठकले असार मसान्तसम्म पुरानै कम्पनीलाई म्याद थप गरिदिने निर्णय भएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

‘अहिले हामी नयाँ ल्यान्डफिल्ड साइटको खोजीमा छौं । फोहोर मैला व्यवस्थापन पिपिपी मोडलमै उत्तम हुने भएपछि असार मसान्तसम्म पुरानै कम्पनीसँग सम्झौता गर्ने निर्णय गरियो,’ महानगर प्रवक्ता नेपालीले भने ।
नयाँ ल्यान्डफिल्ड साइट खोज्न गठित समितिले बुझाएको प्रतिवेदन कार्यपालिका बैठकमा पेश भएको र त्यसलाई पनि पिपिपी मोडलमै लैजाने निर्णय भएको प्रवक्ता नेपालीले जानकारी दिए ।

‘समितिले विभिन्न ५ वटा ठाउँको अध्ययन गरेर प्रतिवेदन बुझाएको छ । त्यसलाई पनि प्राविधिक राखेर अध्ययन गर्छौं,’ उनले भने, ‘पिपिपी मोडलमा जाने भएपछि ईच्छुक निजी कम्पनीले पनि यसबारे आफ्नो कुरा राख्न पाउँछन् ।’

पोखरा महागनगरपालिकाले हाल फोहोर मैला व्यवस्थापन गर्दै आइरहेको ल्यान्डफिल्ड साइट निर्मानाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बन्द हुँदैछ । विमानस्थल नजिकै रहेको उक्त ल्यान्डफिल्ड साइटले ‘बर्ड हाजार्ड’ हुने भएपछि अन्यत्र सार्न नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आग्रह गर्दै आएको थियो ।

नयाँ ल्यान्डफिल्ड खोज गर्न वडा नम्बर १३ का वडाध्यक्ष लेख बहादुर तामाङको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले सम्भावित विभिन्न ५ ठाउँ सुझाउँदै महानगरलाई २ महिनाअघि प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनमध्ये २ वटा ठाउँ उड्ड्यन प्राविधिकरणकै प्राविधिकलाई पनि देखाइसकिएको संयोजक तमाङ बताउँछन् ।

यो पनि

उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर