उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल – Nepal Press

उठाउन छाडियो पोखराको फोहोर, ल्याण्डफिल्ड साइटको विकल्पबारे अन्योल

पोखरा । पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी अन्र्तगत काम सम्पादन गरिरहेको छ ।

संकलित फोहोर व्यवस्थापनका लागि महानगरले पोखरा ३१ को ल्यान्डफिल्ड साइट प्रयोग गरिरहेको छ । जुन निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ । विमानस्थल सञ्चालनमा आइसकेपछि उडान जोखिम हुने भन्दै विज्ञ प्राविधिक टोलीले ल्यान्डफिल्ड साइटलाई त्यहाँबाट अन्यत्र सार्न सुझाउँदै पनि आएका छन् ।

ल्यान्डफिल्ड साइटमा चराका कारण उडान प्रभावित हुनेमात्रै नभइ दुर्घटना नै निम्त्याउने गरी ‘बर्ड हाजार्ड’ हुने प्राविधिकको सुझाव छ । तर, विमानस्थल निर्माण करिब अन्तिम चरणमा पुगिसक्दा पनि महानगरले नयाँ ल्यान्डफिल्ड साइट व्यवस्थापन गर्न सकेको छैन ।

समयमै ल्यान्डफिल्ड साइट व्यवस्थापन नगर्दा बिहीबारदेखि अनिश्चित कालका लागि पोखरा महानगरको उठ्न छोडेको छ । पिपिपी मोडलअनुसार महानगर क्षेत्रमा फोहोर मैला उठाइरहेका विभिन्न ७ वटा कम्पनी अनिश्चित समयका लागि फोहोर उठाउन बन्द गरेका छन् ।

निर्माणधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको हालको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालनमा आइसकेपछि बन्द हुने हुँदा त्यसको विकल्प नसोचिएको र आफूहरुसँग महानगरले गरेको सम्झौताबमोजिम जिम्मेवारी पूरा नगरेको आरोप लगाउँदै उनीहरुले फोहोर उठाउन बन्द गरेका हुन् ।

‘सम्झौता गरेर पनि सधैं अस्थायी ढंगले काम ग¥यौं । काम पूरा गरिसक्दासमेत पूरा भुक्तानी पाएका छैनौं,’ लेकसाइट क्षेत्रमा फोहोर मैला उठाउने गरी जिम्मा लिएको भद्रकाली वेस्ट म्यानेज्मेन्ट प्रालिका सुजन गुरुङ भन्छन्, ‘फोहोर मैला व्यवस्थापनमा महानगर सिरियस देखिएन । पटकपटक कुरा राख्दा पनि सुनुवाइ भएन । त्यसैले फोहोर उठाउन छोडेका हौं ।’

उसो त, पोखरा महानगरमा फोहोर व्यवस्थापन गर्न निजी कम्पनीसँग गरिएको सम्झौता सकिइसकेको छ । तर, सम्झौता सकिँदा पनि महानगरले फोहोर मैला व्यवस्थापनका लागि अर्को विकल्प सोचेको छैन । जसका कारण पोखरा क्षेत्रमा दैनिक ठूलो मात्रामा फोहोर मैला थुप्रिने निश्चित भएको सुजनको दाबी छ ।

‘सम्झौता सकिइसक्यो । तर, अहिलेसम्म सम्झौताबमोजिम रकम पाएका छैनौं । सम्झौता सकिइसकेकाले कि तिमीहरु जाऊ काम नगर भन्न सक्नुपर्यो कि हाम्रो व्यवसायको सुरक्षा हुनुपर्यो,’ गुरुङ भन्छन्, ‘कोरोना लकडाउनमा पनि दिनरात नभनी काम ग¥यौं । २, ३ सय कामदार राखेका छौं । महानगरले ठोस निर्णय दिनुपर्छ ।’

महानगर क्षेत्रमा फोहोर मैला व्यवस्थापका लागि ३३ वटा गाडी प्रयोग हुन्छन् । जसमध्ये ४ वटामात्रै महानगरको हो भने बाँकी सबै ती निजी कम्पनीको । सम्झौताअनुसार फोहोर मैला व्यवस्थापनबाट भएको आम्दानी २० प्रतिशत महानगरले र ८० प्रतिशत कम्पनीले राख्ने हुन्छ । फोहोर मैला व्यवस्थापन गर्न महानगरले मासिक ८ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म सेवा शुल्क उठाउँदै आएको छ ।

आन्तरिक विवाद छः सरसफाइ शाखा

महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले महानगरको ‘आन्तरिक विवाद मिलाउन बाँकी हुँदा’ फोहोर उठाउन रोकिएको बताइन् । उनले निजी कम्पनीले फोहोर उठाउनै नछोडेको र आन्तरिक कुरा मिलिसकेपछि फेरि उठाउन सुरु गर्ने दाबी गरिन् ।

‘फोहोर उठाउन छोडेको भन्ने होइन । थोरै आन्तरिक कुरा हो । कार्यपालिका बैठकमा कुरा जान्छ । कार्यपालिका बैठकले जे निर्णय गर्छ । त्यही हुन्छ,’ उनले भनिन्, ‘आन्तरिक कुरा अलिअलि मिलाउन बाँकी छ । फिर्ता दिनुपर्ने पैसा अलिकति बाँकी छ । त्यसैले पनि होला ।’

बरालले पोखरामा एकदिन फोहोर नउठे त्यसले पोखराकै सौन्दर्य बिगार्ने भएकाले जतिसक्दो चाँडो वार्ता मिल्नुपर्ने बरालको भनाइ छ । ‘एकदिन फोहोर नउठ्दा त कत्रो समस्या हुन्छ । उहाँहरुले गाडी नै थन्क्याएपछि झनै समस्या हुन्छ । मेयर सा’ब सँग उहाँहरु छलफल गर्नुहुन्छ त्यसपछि के निर्णय निस्किन्छ हेरौं,’ उनले भनिन् ।

नयाँ ल्यान्डफिल्ड साइट चाँडै व्यवस्थापन हुन्छ: समिति

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको ल्यान्डफिल्ड साइटको विकल्प खोजी गर्न महानगरले पोखरा १३ वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा समिति गठन गरेको छ । समिति गठन भएको लामो समय भइसक्दा पनि ठोस निर्णय दिन सकेको छैन ।

तर, समिति संयोजक लामा आफूहरुले २ महिनाअघि नै नयाँ ल्यान्डफिल्डबारे अध्ययन गरी रिपोर्ट महानगरमा बुझाइसकेको बताउँछन् । ‘हामीले ५ वटा सम्भावित ठाउँमा ल्यान्डफिल्ड साइट हुन सक्ने रिपोर्ट महानगरमा बुझाइसकेका थियौं । महानगरको ४७ औं कार्यपालिका बैठकमा राख्ने कुरा थियो । खै किन प्रस्तुत भएन,’ उनले भने, ‘अर्को बैठकमा कुरा जाला !’

संयोजक लामाले अध्ययन भएका ५ ठाउँमध्ये २ ठाउँ राष्ट्रिय नागरिक उड्ड्यन प्राधिकरणका प्राविधिकलाई पनि देखाइसकेको जानकारी दिए । ‘प्राविधिकलाई नै जग्गाा देखाएर रिपोर्ट तयार पारेका छौं । चाँडै ठोस निर्णय आउँछ,’ उनले भने ।

मेयर जिसी भन्छन्ः म्याद थपेर फोहोर उठाउन लगाइन्छ

पोखरा महानगर मेयर मानबहादुर जिसी काम रोकेका ७ निजी कम्पनीको म्याद थप गरेर भएपनि फोहोर मैला व्यवस्थापन गरिने बताए । ती कम्पनीको पहिले गरेको कामको भुक्तानी पाउन बाँकी देखिएको र भुक्तानी भइसकेपछि काम सुरु हुने जानकारी दिए ।

‘नयाँ ल्यान्डफिल्डसहित नयाँ योजनाका साथ अघि बढिरहेका छौं । तर, योजना अहिले नै कार्यान्वयनमा ल्याइहाल्ने अवस्था छैन,’ मेयर जिसीले भने, ‘नयाँ व्यवस्थापन नहुँदासम्म यिनीहरु काम गर्न ईच्छुक छन् भने म्याद थपेर यिनीहरु नै काम गर्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर