क्यामरुनी टिमलाई हराउँदै संकटा विराट गोल्कपको सेमिफाइनलमा – Nepal Press

क्यामरुनी टिमलाई हराउँदै संकटा विराट गोल्कपको सेमिफाइनलमा

विराटनगर । गत साता पोखरामा सम्पन्न आहा ! रारा गोल्डकपको उपाधि विजेता संकटा क्लब विराटनगरमा जारी छैटौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शहीद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा क्यामरुनको अफ्रिकन रुट्सलाई १-० गोलले हराउँदै संकटाले अन्तिम चार यात्रा तय गरेको हो ।

सेमिफाइनलमा संकटाले बिहीबार दोस्रो भारतको पञ्जाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पञ्जावले सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २-० गोल र गोरखा व्वाइज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।

फाइनल यात्राको लागि बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच बुधबार प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३-० ले र भारतको युनिाइटेड सिकिम फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले अर्को विभागीय टोली नेपाल पुलिसलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

मंगलबार साँझ भएको खेलमा संकटा र अफ्रिकन रुट्स दुवैले आक्रामक फुटबल खेले । पहिलो हाफ बराबरी रहे पनि विराट गोल्डकपको पूर्व बिजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालको गोलबाट अग्रता लियो । त्यही गोल उसको जितमा निर्णायक बन्यो ।

क्यामरुनी खेलाडीहरुको आक्रामण रणनीतिका कारण संकटाको रक्षापंक्ति निकै व्यस्त थियो । तर उनीहरुले गोल हुन दिएनन् । खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

१९ औं आहा ! रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई नै ४-२ गोलले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

जितपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्ना खेलाडीले बहादुरीपूर्वक खेलेको बताए । क्यामरुनी टिमका प्रशिक्षक सरजेल बोरीसले केही राम्रा खेलाडी पोखरामा छुट्दा हार भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *