कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा २० लाख लिटर पानी भरियो – Nepal Press

कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न, पोखरीमा २० लाख लिटर पानी भरियो

काठमाडौँ । कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । अब फिनिसिङ र बत्तीलगायतको काम मात्र बाँकी रहेकोले त्यो पनि दुई हप्ता भित्र सम्पन्न हुने निर्माण कम्पनी जय धनञ्जय कडेँल निर्माण सेवा जेभीले जनाएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको निरिक्षणका क्रममा निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले बढीमा दुइ हप्ता भित्र पुननिर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

सिटौलाले चैत मसान्त भित्रै काम सम्पन्न गर्ने गरी काम भैरहेको भए पनि भक्तपुर र ललितपुरको बुङमतीका कामदारले काम गरिरहेको र उनीहरु पछिल्लो समय नेवार संस्कृतिका चाडका कारण विदामा बसेकाले केही दिन ढिलाई भएको पनि जानकारी गराएका छन् ।

निरिक्षणका क्रममा प्रमुख शाक्यले सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन् । उनले भने ‘चैत मसान्तसम्म काम सक्ने गरी हामीले ठकेकेदार कम्पनीलाई अन्तिम मौका दिएका हौँ,’ शाक्यले पोखरीतिर देखाउँदै भने, ‘केही दिन भित्रै यो पोखरीमा पानी टनाटन बनाउने तयारीमा छौँ । हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ ।’

प्रमुख शाक्यसँगै रहेका काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले कमलपोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी गराए । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ । हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’ उनले भने ।

करीब एक घण्टा कमलपोखरीको निरीक्षण गरेका प्रमुख शाक्यले केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि आग्रह गरे । शाक्यले निरीक्षणकै क्रममा कमलपोखरीमा ४ ओटा कुनामा आकर्षक र संस्कृति झल्किने ४ वटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी ५ वटा मण्डप रहने जानकारी गराए ।

उनले पहिला बेबारिसे र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएको भन्दै डिजाइनमा पनि ती सबै कुरालाई ध्यान दिएको प्रष्ट पारे ।

‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीको प्रवद्र्धन र संरक्षण गर्ने महानगरपालिकाले अभियान रहेको भन्दै प्रमुख शाक्यले त्यहि अभियान अन्तरगत वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई मास्टरप्लान बनाएर पुननिर्माण गर्ने अभियान अघि बढाएको पनि स्मरण गराए । ‘यो अभियान अघि बढाउँदा संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएका हौँ, दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात कमलपोखरी प्रहरी बीट जुन भत्काइसकेका छौँ त्यो क्षेत्रमा दोस्रो चरणमा कमलपोखरीको क्षेत्र विस्तार गर्दै आकर्षक पार्क निर्माण गर्छौ ।’ उनले भने ।

काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जनाएको छ । पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

निरीक्षणका क्रममा प्रमुख शाक्यले निर्माण कम्पनीका प्रतिनिधिसँग पुननिर्माणको काममा ढिलासुस्ती भएको भन्दै पटक–पटक सयमसिमा थप गर्ने पक्षमा महानगरपालिका नरहेको स्पष्ट पारे । उनले भने । ‘काम जुन गतिका साथ हुनुपर्ने हो त्यो अनुसार भैरहेको छैन, पटक–पटक समय थप गर्ने र काममा ढिलासुस्ती गर्ने भन्ने हुँदैन । के–कति काम भएको छ । त्यो सबै विवरण मलाई तत्काल उपलब्ध गराउनुहोला । मलाई परिणाम चाहियो ।’ शाक्यले निरीक्षणका क्रममा डिजाइन अनुसार तलमाथि नहुने गरी काम पनि निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर