माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार – Nepal Press

माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार

जनकपुरधाम । सर्वोच्चबाट नेकपा एकता बदर भएपछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका प्रदेश–२ को प्रदेशसभामा चार सांसद माओबादीमा नफर्किने बरु कारबाही भोग्न तयार हुने निर्णयमा पुगेका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरले सांसद पद गुमे पनि एमालेमै बस्ने बताएका छन् ।

शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टै स्पष्टीकरण सोधेका थिए । तर उनीहरु कोही पनि स्पष्टीकरणको जवाफ दिएनन् । सांसद मण्डलले भने, ‘स्पष्टीकरण बुझाउँदिन, कारबाहीबाट डराएको छैन ।’

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन् । स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन् ।

झण्डै ६ महिनापछि प्रदेश–२ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा बैठकमा पनि सहभागी नहुने उनीहरुले बताएका छन् । साँसद मण्डलले भने, ‘म त प्रदेशसभा बैठकमा जादिनँ । साथीहरु पनि जानुहुन्न होला ।’

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । जसमध्ये चार साँसद एमालेमा पुगेपछि माओवादी कमजोर बन्ने निश्चित छ । उनीहरुलाई पदमुक्त गरेमा माओवादीका मात्र ७ सांसद प्रदेशसभामा रहनेछन् ।

सांसद मण्डल माओवादी केन्द्रका संसदीय दलका नेता थिए । तर उनी एमालेमा पुगेपछि सांसद भरत प्रसाद साहलाई माओवादी केन्द्रले शुक्रवार नै संसदीय दलका नेता चयन गरिसकेको छ । आजको प्रदेशसभा बैठकमा साहले नै संसदीय दलका नेताको मान्यता पाउनेछन् ।

यस्तै नेकपा एमालेमा पनि विवाद देखिएको छ । एमालेका २१ सांसदमध्ये माधव नेपाल पक्षका १३ सांसदले बहुमतको आधारमा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेका छन् ।

मण्डल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । नयाँ संसदीय दलका नेतामा महतोलाई चयन गरिएको कुरा सभामुख सरोज कुमार यादवलाई पत्रमार्फत जानकारी गराइसकेको सांसद प्रमोद यादवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर