सेभियासँग हार्‍यो एट्लेटिको, ला लिगा उपाधि तीनै टोलीका लागि खुला – Nepal Press

सेभियासँग हार्‍यो एट्लेटिको, ला लिगा उपाधि तीनै टोलीका लागि खुला

एजेन्सी । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले गएराति सेभियासँग १–० गोलको पराजय ब्यहोरेको छ । यो हारपछि ला लिगाको उपाधि होड रियल मड्रिड र बार्सिलोनाका लागि समेत खुल्ला भएको छ ।

२९ खेलबाट एट्लेटिकोको ६६ अंक छ । समान खेलबाट रियल मड्रिड ६३ अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

एट्लेटिकोलाई हराएर चौथो स्थानको सेभियाले पनि तेस्रो स्थानको बार्सिलोनासँगको दूरी ४ अंकमा झारेको छ ।

घरेलु मैदानमा सेभियाका लागि ७० औं मिनेटमा मार्कस अकुनाले गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि खेलको आठौं मिनेटमा सेभियाका लुकास ओकाम्पोसको पेनाल्टी एट्लेटिकोका जान ओब्लाकले बचाएका थिए ।

एट्लेटिकोका सउल निगुजले इभान राकिटिचमाथि फल गरेपछि सेभियाले पेनाल्टी पाएको थियो ।

ला लिगामा ९ खेल बाँकी हुँदा एट्लेटिको तीन अंकको अग्रतासहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोनाले आज १६ औं स्थानमा रहेको रियल भालाडोलिडसँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर