पत्रकार महासंघको उपत्यका प्रदेशमा ज्ञानप्रसादको उम्मेदवारी, स्वरोजगारमूलक मिडियाको संरक्षण एजेण्डा – Nepal Press

पत्रकार महासंघको उपत्यका प्रदेशमा ज्ञानप्रसादको उम्मेदवारी, स्वरोजगारमूलक मिडियाको संरक्षण एजेण्डा

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावमा साना लगानी र पत्रकार आफैंले सञ्चालन गरेका स्वरोजगारमूलक मिडियाको संरक्षणको एजेण्डाले प्रवेश पाएको छ ।

महासंघका ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वरोजगारमूलक मिडियाको संरक्षण तथा नीतिगत र व्यवस्थापकीय पहल गर्न नेतृत्वमा पुग्नु आवश्यक रहेको भन्दै उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

महासंघमा श्रमजिवी पत्रकारका हकहित,पारिश्रमिक र सेवा सुविधाका एजेण्डाले प्राथमिकता पाइरहेका बेला पौडेलले भने साना लगानीका मिडियाको संरक्षणलाई प्रमुख मुद्दा बनाएका छन् ।

श्रमजिवी पत्रकारले चलाएका स्वरोजगारमूलक मिडियाको संरक्षण हुन नसके स्वतन्त्र पत्रकारिता नै संकटमा पर्ने र कर्पोरेट मिडियाले संकटका लोकतन्त्रको पक्ष नलिने भएकाले यो एजेण्डा अघि सारिएको पौडेलले बताए ।

२० वर्षदेखि पत्रकारितामा रहेका पौडेल हाल आफैंले सन्चालन गरेको नयाँ सडक दैनिक र नयाँ सडक अनलाइनको सम्पादक छन् । जन्मभूमि साप्ताहिक,ताजाखबर दैनिक,चाणक्य मासिक र तराई टेलिभिजनमा काम गरिसकेका पौडेलले उपत्यका प्रदेशका सदस्य रहेका पत्रकारमध्ये श्रमजिवी पत्रकारको बाहुल्य रहेको र उनीहरुका समस्याको नीतिगत समाधान खोज्न महासंघबाटै पहल गर्नुपर्ने भएकाले आफू नेतृत्वमा जान चाहेको बताए ।

उनी विपुल पोखरेल नेतृत्वको प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल पक्ष)को संयुक्त प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका हुन् ।

श्रमजिवी पत्रकार ऐन कार्यन्वयन,न्युनतम पारिश्रमिकका साथै लोककल्याणकारी विज्ञापन बृद्धि र समानुपातिक विज्ञापन प्रणालीको कार्यन्वयनमा अब महासंघको जोड रहनुपर्ने उनले बताए ।

पत्रकार महासंघले साना लगानी र पत्रकार आफैंले चलाएका मिडियाको संरक्षण,विकास र क्षमता अभिबृद्धिमा अहिलेसम्म नीतिगत तहमा सम्बोधन गराउन नसकेकाले अब हस्तक्षेपकारी भूमिका हुनुपर्ने आवाज उठिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *