माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा ईन्द्र आङ्बो – Nepal Press

माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा ईन्द्र आङ्बो

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो चुनिएका छन् ।

दलको आजको बैठकले पूर्वआर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोलाई दलको नेताकोरूपमा चयन गरेको हो । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षबाट मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आङ्बोले मन्त्रीबाट राजीनामा दिएका थिए ।

बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा शौभाग्यवतिदेवी राई चयन भएका छन् ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद खाली रहेको थियो ।

प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सांसद छन् । दलको नेता छनोट गर्दा यसअघि पनि आङ्बोले दाबेदारी प्रस्तुत गरेका थिए । तर, उनी आर्थिक मामिला तथा योजनामन्त्री भएपछि दलको नेताको जिम्मेवारी आङ्बुहाङले पाएका थिए । पछि एमाले र माओवादी केन्द्र एकता हुँदा आङ्बुहाङ संसदीय दलको उपनेता बनेका थिए ।

आङबुहाङ मुख्यमन्त्री शेरधन राईले पछिल्लोपटक विस्तार गरेको मन्त्रिमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर