डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने – Nepal Press

डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

मन्त्रिपरिषद् पुनर्गठन गर्न मुख्यमन्त्रीको गृहकार्य

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन् ।

करिव चार महिनाअघिदेखि आफ्नै पार्टीका सांसदहरूका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका बेला पौडेलले दलको बैठक बोलाएका हुन् ।

सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए ।

सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ । यसअघि प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको थियो ।

संसदीय दलको बैठकमा माधव नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन । वागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त हुने भएका छन् ।

यसअघि तीनजना मन्त्रीहरु शालिकराज जमरकट्टेल,युवराज दुलाल र अरुण नेपालले राजिनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव अरुण नेपाल एमालेका नेता हुन् ।

हाल वागमती प्रदेश सरकारमा अर्थमन्त्री कैलाश ढुंगेल, भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल र उद्योग पर्यटनमन्त्री दावादोर्जे लामा मात्रै छन् । अबको मन्त्रिपरिषद् विस्तारमा महिलासहित कम्तीमा ५ जना नयाँ मन्त्री थप्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

यसअघि प्रदेश १ मा अविश्वास प्रस्ताव कायम रहेकै अवस्थामा मुख्यन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेर माओवादी र माधव नेपाल गुटबाट प्रवेश गरेकाहरूलाई मन्त्री बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर