संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा – Nepal Press

संसद बैठकको शून्य समय : थरिथरि माग र गुनासा

काठमाडौं । पुन:स्थापनापछि प्रतिनिधिसभाको पाँचौ बैठकमा पहिलो पटक शून्य समयको कार्यसूची समेत राखियो । शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारीबिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद अन्जना विसंखेले कोरोना भाइरसले नयाँ रूपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने ध्यानाकर्षण गराइन् ।

सांसद अमनलाल मोदीले कोरोना महामारीपछि सरकारले देश-विदेशमा रोजगार गुमेका मजदुरहरूलाई रोजगारी दिन नसकेको बताए । उनले मलको अभाव भएको पनि जानकारी गराए । विजनेश नदिएर सरकारले संसदलाई गतिहीन बनाएको उनको आरोप छ ।

सांसद आशाकुमारी वि.क. ले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेको विषय अघि सारिन् । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्न विकको माग थियो ।

इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षीय मुसाफिर झा र पत्नी गीतादेवी झालाई सुतिरहेको अवस्थामा विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषी पत्ता लगाउन प्रहरी/प्रशासन उदाशीन बनेको टिप्पणी गरिन् ।

सांसद उमा रेग्मीले महिलाहरूको हत्या, हिंसा र बलात्कारको घटनाको बिगबिगी रहेको भए पनि यस विषय सरकारको प्राथमिकतामा किन नपरेको ? भनी प्रश्न गरिन् । यस्ता घटनाका अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न उनको माग छ ।

बाराबाट वीरगञ्जसम्म पुग्ने हाइटेन्सन लाइनको बीचमा २५/३० वटा गाउँ परेकोप्रति ध्यानाकर्षण गराउँदै सांसद एकवाल मियाँले जनता त्रासमा रहेकोले व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएका र ९ जनाको जयन गइसकेको अवस्थामा सरकारले सुरक्षाको उपाय नअपनाएको आरोप लगाइन् । बर्दियाको नेपाल-भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाली भूमि अतिक्रमण भइरहेको भए पनि सरकारको ध्यान जान नसकेको भन्दै थापाले असन्तुष्टि पोखिन् ।

सांसद कृष्णप्रसाद दाहालले नेपालको गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गरे ।

सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजनतु एकसिंगे गैँडाको गणना शुरू गरेकोमा स्वागत गरे । घाँसे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारीका कारण संकटमा पर्दै गएका प्रकृतिका सम्पत्तिको रक्षा गर्नुपर्नेमा उनको जोड थियो ।

सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरि दोस्रो चरणको महामारी शुरू भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध पक्षसँग माग गरे ।

सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गरे।

सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्‍तर्गत धादिङमा पर्ने सडक निर्माण कार्य रोकिएकाले तत्काल शुरू गर्न अनुरोध गरे ।

सांसद गगनकुमार थापाले सरकारले संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिएको आरोप लगाए । प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने उनको टिप्पणी थियो ।

सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझैपनि बिजुली नपुगेर अँध्यारै रहेको भए पनि देशलाई अल्पविकसितबाट विकसितमा पुगेको भनिएको भन्दै असन्तुष्टि जनाए । विकसितको प्रमाणपत्र नेपाललाई कसले दिएको हो ? भन्दै महतले कर्णालीको जनतालाई चासोको विषय भएको बताए।

सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताइन् । आफ्नै पार्टीभित्रबाट हलो अड्काउने अनि गोरु चुट्ने काम भएको टिप्पणी उनको थियो ।

सांसद घनश्याम खतिवडाले सरकारले अघि सारेका कामहरू ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए । उनले मोरङमा ठेकेदारको लापरबाहीले विकासको काम नभएको उदाहरण पेश गरे ।

सांसद चाँदतारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढिरहेकोले तराई क्षेत्रमा कोरोनाविरुद्धको भ्याक्सिन बढाउन माग गरिन् ।

सांसद जिपछिरिङ लामाले भारतले मिचेको दार्चुलाको जमिन कहिले फिर्ता आउँछ ? भनेर प्रश्न गरे।

सांसद जीवनराम श्रेष्ठले काठमाडौंमा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे । सडक आयोजनालाई समीक्षा गर्नुपर्ने उनको माग छ ।

सांसद झपटबहादुर रावलले संसद पुन:स्थापनापछि दल विभाजनको गतिविधि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर