एमालेका भ्रातृ संगठन फुट्न थाले, महिला र युवामा माधव पक्षको अलग नेतृत्व – Nepal Press

एमालेका भ्रातृ संगठन फुट्न थाले, महिला र युवामा माधव पक्षको अलग नेतृत्व

काठमाडौं । नेकपा एमालेले गुटको भेला गरेको भन्दै माधव नेपाल लगायतका चार नेतासँग स्पष्टीकरण लिएकै बेला नेपाल पक्षले भने भ्रातृ संगठनहरुको भेलाबाट अलग्गै नेतृत्व चयनको प्रक्रिया अघि बढाएको छ ।

ललितपुरमा सम्पन्न माधव नेपाल पक्षको राष्ट्रिय भेला लगत्तै भएको महिला भेलाले जयन्ती राईको अध्यक्षतामा अखिल नेपाल महिला संघको समानान्तर कमिटी गठन गरेको छ । एमालेको महिला संघकी अध्यक्ष सीता पौडेल छन् ।

माधव नेपाल पक्षले अलग्गै नेतृत्व चयन गरेसँगै एमाले सम्बद्ध महिला संगठन औपचारिक रुपमा विभाजित भएको छ । माधव नेपाल पक्षीय अध्यक्ष राईका अनुसार भेलाले ४७५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । जसको महासचिवमा शान्ति अधिकारी छन् । सात जना उपाध्यक्षमध्ये प्रदेश १ यशोदा अधिकारी, २ उषा पोखरेल, वागमतीमा सावित्रा भुसाल, गण्डकीमा सीता गिरी वली, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिममा माया भट्ट र कर्णाली विजया विष्ट छन् । उपमहासचिव सरला यादव, कोषाध्यक्ष देवकी श्रेष्ठलाई बनाइएको छ ।

यता युवा संघ पनि विभाजित भएको छ । शनिवार सम्पन्न माधव नेपाल पक्षीय युवा संघको भेलाले नरेश शाहीलाई अध्यक्ष चयन गरेको छ । संघका बरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दिपक जीएम सहित नयाँ नेतृत्व चयन भएको हो ।

संस्थापन पक्षले केही समयअघि नेकपा विभाजन भए लगत्तै वचनबहादुर सिंहलाई अध्यक्ष बनाएर युवासंघ पुनर्गठन गरेको थियो । माधव नेपाल पक्षले चैत १० गते विद्यार्थी भेला गरी अनेरास्ववियुको पनि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

देशैभरका कमिटीहरुमध्ये विगतमा माधव नेपाल पक्षको नेतृत्व भएकाहरुलाई यथावत क्रियाशील गराउने र नभएका ठाउँमा सोही कमिटीका सिनियर नेताको संयोजकत्वमा नयाँ कमिटी बनाउने निर्णय नेपाल पक्षको भेलाले गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर