रंगले रंगियो कञ्चनवन, जहाँ भगवान रामले खेलेका थिए होली – Nepal Press

रंगले रंगियो कञ्चनवन, जहाँ भगवान रामले खेलेका थिए होली

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ९ मा पर्ने कञ्चनवन रंगले रंगिएको छ । फागुन २९ गते फागुन औंसीको दिन धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित सुरु भएको मिथिला माध्यमिकी परिक्रमाका यात्रीले शनिबार होली खेलेपछि कञ्चनवन रंगिएको हो ।

कञ्चनवन– जहाँ त्रेतायुगमा भगवान रामले होली खेलेको किंवदन्ती छ । यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोह आयोजना गरी परिक्रमा यात्रीले होली खेलेका छन् । शनिबारबाट होलीको विधिवत रुपमा सुरुवात भएको मानिन्छ ।

कञ्चनवनमा भगवान रामले होली खेलेको हुनाले यहाँको माटो अहिले पनि रातो छ । त्यसैले परिक्रमाका यात्रीले यहाँ हरेक वर्ष यस दिन धुमधामसँग होली खेल्छन् । कञ्चनवनमा होली समारोहको आयोजना भंगहा नगरपालिकाले गरेको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र जनकपुरका अधिकांश मन्दिरका महन्थ कञ्चनवनमा रंगअविर खेलेर शुभकामना साटासाट गरेका छन् । होली समारोह हेर्न परिक्रमावासीबाहेक छिमेकी गाउँघरबाट समेत हजारौंको संख्यामा सर्वसधारण कञ्जनवन पुगेका थिए ।

भगवान रामले होली खेलेको ठाउँमा आएर होली खेल्न पाउँदा अत्यन्त गौरब महशुस भएको महेन्द्रनगरका रामदेव पण्डितले बताए । उनले भने, ‘हामी हरेक वर्ष यहाँ आएर होली खेल्छौं ।’

परिक्रमाका यात्रु शनिबार कञ्चनवनमा विश्राम गरी पर्वता पुग्छन् । १५ दिनको यात्रामा महोत्तरी जिल्लामा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका चार स्थानमा परिक्रमा टोली विश्राम गर्छन् । कूल १ सय ३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा समापन गर्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर