बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ – Nepal Press

बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

पोखरा । बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादीको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पैसा असुल्ने एक जना वकिल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।

लमजुङ दोर्दी गाउँपालिका-३ स्थायी घर भएका घिमिरे पुरानो कानुन व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

घिमिरेले जबर्जस्ती करणी आरोप पक्राउ परेका आरोपीसँग मुद्दा मिलाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको पाइएकाले पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए ।

‘सुरुमा पीडकसँग एक करोड रूपैयाँ माग गरेका रहेछन् । पछि बार्गेनिङ चल्दै जाँदा १५ लाखमा कुरा मिलेको रहेछ,’ डिएसपी हमालले भने, ‘त्योमध्ये एक लाख १० हजार रुपैयाँ क्यास लिइसकेको रैछ । बाँकी १२ लाखको चेक लिँदा लिँदै राष्ट्र बैंक चोकमा प्रतिनिधि समायौं ।’

प्रहरीले फागुन १९ गते राष्ट्र बैंक चोकबाट बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडक परिवारसँग चेक बुझिरहेकोबेला २ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले उनीहरूबाट उनीहरूबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको थियो ।

‘उनीहरूको बयानका क्रममा बुझ्दै जाँदा यसको मास्टरमाइन्ड ‘वकिल साप’ पो रहेछन्,’ डिएसपी हमालले भने । पक्राउ परेका घिमिरेलाई ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

‘पहिले पक्राउ परेका २ जनालाई ठगी मुद्दामात्रै थियो । तर, अहिले आएको नयाँ अध्यादेश अनुसार बलात्कारजन्य घटनामा मेलमिलाप गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बलात्कारका मतियार ठहरिएका छन्,’ उनले भने, ‘घिमिरेलाई त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’

पोखराकै एक युवतीलाई पटकपटक बलात्कार गरेको आरोपमा ६ महिनादेखि फरार अभियुक्त करिब २० दिनअघि पक्राउ परेका थिए । पक्राउ परेका ती ५७ वर्षीय पुरुषको मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने खोजेको आरोपमा ३ जना पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस्

बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर