बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ – Nepal Press

बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ

पोखरा । बालिकामाथि बलात्कार गरेको आरोपमा करिब ६ महिनादेखि फरार रहेका एक प्रतिवादी ५ दिनअगडि पक्राउ परे । प्रहरीका अनुसार ती आरोपीमाथि अदालतबाट ५ दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

आरोप पुष्टि नहुँदै परिवारलाई खबर आयो, ‘अदालतदेखि प्रहरीसम्म चिनेका मान्छे छन् । १ करोड दिने भए मिलाइदिन्छौं । नत्र १५ वर्ष जेल जान्छन् ।’

परिवारको सदस्य बलात्कारजस्तो संगीन आरोपमा पक्राउ परेपछि आफन्तहरु पनि धर्मर थिए । उनीहरुले ती व्यक्तिलाई सुरुमा १ लाख ५० हजार रुपैयाँ बुझाए । त्यसपछि बुधबार फेरि उनीहरुले ६/६ लाखका दुई वटा चेक बुझाउँदै थिए । तर, उनीहरु पक्राउ परे ।

‘बलात्कार केस मिलाइदिन्छु’ भन्दै आरोपीका आफन्तसँग पैसा असुल्न खोज्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ५ का ५८ वर्षीय सूर्यलाल खड्का, धाडिङ जिल्ला घर भई हाल पोखरा २५ बस्ने कमन भनिने ३९ वर्षीय कमानबहादुर तामाङ छन् ।

‘रनिङ केसलाई मिलाइदिन्छौं । नत्र जेल पठाउँछौं भन्दै पैसा असुल्ने रहेछन् । त्यसबारे जानकारी हुन आएपछि तत्काल पक्राउ गर्न सफल भयौं’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले भने, ‘उनीहरुलाई राष्ट्र बैंकको चोकसहित एक होटलबाट पक्राउ गरेका हौं ।’ उनले घटनामा अर्का थप एकजनाको पनि संलग्नता खुल्न आएको जानकारी दिए ।

प्रहरीले उनीहरुबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको छ ।

प्रहरीले उनीहरुलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ । ‘यस्ता घटनामा नयाँ नीति अनुसार थप कारबाही हुनसक्ने व्यवस्था छ । हामी अनुसन्धान गरिरहेका छौं’, डीएसपी हमालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर