वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट – Nepal Press

वाग्मतीको पहिलो जित, सोनु देवकोटाले लिए ६ विकेट

काठमाडौं । सोनु देवकोटाको ६ विकेटप्रेरित वाग्मती प्रदेशले काठमाडौं मेयर कप २०७७ मा मंगलबार विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबलाई २७ रनले पराजित गरेको छ ।

सुरुआती दुई खेलमा पराजित भएको वाग्मतीको जारी प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको वाग्मती दोस्रो खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले हारेको थियो ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीले कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवको अर्धशतक मद्दतमा २३३ रनको योगफल तयार गरेको थियो ।

जितका लागि २३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ४४.५ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो । एपीएफका लागि ओपनर आशिफ शेखले ३८ बलमा ७ चौका र २ छक्कासहित ५० रनको योगदान गरेका थिए ।

त्यस्तै, शंकर रानाले ५८ बलमा ३ चौकासहित २९ तथा अमरसिंह रौतेलाले २७ र सन्दीप जोराले २५ रन जोड्दा अविनाश बोहरा १ रनमा अविजित रहे ।

वाग्मतीका लागि सोनुले १० ओभरमा ४१ रन खर्चेर सर्वाधिक ६ तथा रामनरेश गिरी र आरियो पौडेलले २/२ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको वाग्मतीका लागि कप्तान ज्ञानेन्द्रले ८४ बलमा ७ चौकासहित ५७ तथा नन्दनले ५६ बलमा ७ चौका २ छक्कासहित ६० रनको योगदान गरेका थिए ।

त्यस्तै, आदिल खान ३४ तथा इशान पााण्डे ३१ रन बनाएर पेभेलियन फर्किँदा पारस खड्काले २९ रनको योगदान गरेका थिए ।

एपीएफका लागि अमरसिंह रौतेला र किशोर महतोले २/२ तथा अविनाश बोहरा र बसन्त रेग्मीले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *