दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा – Nepal Press

दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा

विराटनगर । प्रदेश १ सरकारले ताप्लेजुङको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने भएको छ । बिहीबार आगलागी पीडितहरूको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले राहतको घोषणा गरेका हुन् ।

आगलागीले खरानी भएको बस्तीमा पुगेर प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका हुन् ।

बिहीबार नै प्रदेश सरकारको पक्षबाट मुख्यमन्त्री राईले आगलागी पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री राईले पीडितहरूको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने बचन दिएका थिए । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए ।

आगलागीमा परी घाइते भएका मेरिङदेन-३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको पहलमा थप उपचारका लागि काठमाडौं पठाइएको छ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको थियो ।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको थियो । नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा एक करोड बराबरको क्षति भएको आङ्देम्बेले जानकारी दिएका छन् । मङ्गलबार भएको आगलागीबाट ४९ वटा घर जलेर नष्ट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर