राजनीतिक संस्कार नभएको आरोप लगाएर ओलीतिर गएका मेयर प्रचण्ड-माधव पक्षमै फर्किए – Nepal Press

राजनीतिक संस्कार नभएको आरोप लगाएर ओलीतिर गएका मेयर प्रचण्ड-माधव पक्षमै फर्किए

सुर्खेत । कालीकोट रासकोट नगरपालिकाका नगरप्रमुख काशीचन्द्र बरालले आफू प्रचण्ड-माधव पक्षीय नेकपामै फर्किएको घोषणा गरेका छन् ।

फागुन ४ गते नेपाल प्रेससँग कुरा गर्दै बरालले राजनीतिक संस्कार हराएको प्रचण्ड-माधव पक्षमा नबस्ने भन्दै आफू ओलीतिर लागेको बताएका थिए । उनले भनेका थिए, ‘मैले टिम बदलेको सत्य हो । कहिले घोषणा हुन्छ अहिले भन्दिन । म आफैंले ओली पक्षमा लागेको घोषणा गर्छु । प्रचण्ड पक्षले राजनीतिक संस्कार खत्तम बनाए । त्यही समूहमा रहेर काम गर्न सक्ने वातावरण भएन । अति पेलेपछि विस्फोट हुने रहेछ, भयो ।’

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो विषयमा सञ्‍चारमाध्यमले अर्नगल प्रचार गरेको आरोप लगाएका छन् ।

यता, ओलीपक्षीय नेकपा कालीकोटका सचिव नेश्नल शाहीले मेयर फर्किएको कुरा सामाजिक सञ्जालबाटै थाहा पाएको बताए । ‘उहाँलाई हामीले ओली समूहमा आउन भनेका थिएनौं । उहाँ आफै राजनीतिक संस्कार ओली समूहमा छ भन्दै आउनु भएको हो । उहाँलाई पार्टीले केन्द्रीय सदस्य पनि बनाइसकेको थियो ’, उनले भने, ‘प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ को अध्यक्ष माग्नु भएको थियो । त्यो अहिले नै हुन नसक्ने देखेपछि जानु भएको हो कि थाहा भएन ।’

बरालले विज्ञप्तिमा लेखेका छन्, ‘केही संचार माध्यम र सामाजिक सञ्जालमा मेरो नाम, फोटो, कपोलकल्पीत पद जोडेर मेरो औपचारिक धारणा सार्वजनिकजनिक नहुँदै ‘हामी नै आधिकारिक हौं’ भन्दै नानाथरी गरिएका प्रचारबाजीको म घोर भर्त्सना गर्दछु । विगतदेखि अहिलेसम्म आइपुग्दा आम समुदायको भावना, क्रान्तिमा गरेको त्याग, तपस्या, बलिदानी, शहीदका अधुरा सपनाहरू पूरा गर्ने अभिभारा, पार्टी नेतृत्व र कार्यकर्ताको भावनाको उच्च कदर गर्दै अध्यक्षद्वय कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र कमरेड माधव कुमार नेपालले नेतृत्व गरेको नेकपामै निरन्तर रहिरहेको स्पष्ट पार्न चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर