धुर्मुसलाई हौसाउँदै हरिवंशले भने- तपाईं सालिकजस्तै मान्छे हो, देशले मूल्यांकन गर्नेछ – Nepal Press

धुर्मुसलाई हौसाउँदै हरिवंशले भने- तपाईं सालिकजस्तै मान्छे हो, देशले मूल्यांकन गर्नेछ

काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले अर्को पुस्ताका हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको प्रशंसा गर्दै उनलाई ‘सालिक’को संज्ञा दिएका छन् । धुर्मुसले अघि बढाएको सामाजिक अभियानलाई ईंगित गर्दै उनले यस्तो संज्ञा दिएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा हरिवंशले जनतासँग पैसा उठाउने काम अत्यन्त संवेदनशील हुने बताए । आफूहरुको अनुभव पनि सुनाउँदै उनले धुर्मुसको सहनशक्ति उच्च रहेको उल्लेख गरे ।

‘सामाजिक काम गर्दा एकदमै पोल्छ । जनतासँग पैसाका लागि हात थाप्दा त्यो पैसा होइन आगोजस्तो लाग्छ,’ हरिवंशले भने, ६२/६३ को आन्दोलनका क्रममा हामीले पनि आह्वान गरेर दुई करोड ५० लाख उठाएका थियौं । तर, त्यसमा सानो-सानो प्रश्न उठ्दा पनि रातभरि निद्रा लाग्दैनथ्यो । कोही नकारात्मक प्रवृत्तिका मान्छेले यत्तिकै पनि आरोप लगाइदिन्छन् । त्यसैले हामीलाई यति पोल्यो कि त्यो पैसा आफूसँग राख्नै सकेनौं । एउटा कमिटी बनाएर साइन पनि नगरी हस्तान्तरण गरिदियौं ।’

हरिवंशले आफूहरूको भन्दा धुर्मुसको सहनशक्ति धेरै रहेको बताए ।

उनले भने, ‘धुर्मुस भाइ, तपाईं अगाडि बढ्नुस् । तपाईं फलामको मान्छे हो । ढुंगाको मान्छे हो । मलाई त तपाईं एउटा सालिकजस्तै लाग्छ । सालिकलाई सानो ढुंगालो हानो भने ट्वाङ्ग आवाज आउँछ, केही हुँदैन । तपाईंको पनि सहनशक्ति त्यति धेरै छ । तपाईंको महान कामको मूल्यांकन पछि देशले गर्नेछ ।’

चितवनमा धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपालमा कसैको व्यक्तिगत पहलमा अघि बढेको सबैभन्दा ठूलो अभियान भएको हरिवंशले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर