वित्तीय कर्जा उपलब्ध गराउन उद्योग बाणिज्य र बैंकर्सबीच सम्झौता – Nepal Press

वित्तीय कर्जा उपलब्ध गराउन उद्योग बाणिज्य र बैंकर्सबीच सम्झौता

काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बिहीबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार वाणिज्य बैंकले लघु घरेलु तथा मझौला उद्यमको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्नेछन् ।

लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजिकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ ।

उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको लागि आवश्यक नीतिगत सुझाव तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्नेछ ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले साना उद्यमीका लागि ऐतिहासिक सम्झौता भएको बताए । यसबाट महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीका समस्या समाधानमा समेत प्रतिवद्ध छ भन्ने प्रमाणित हुने बताए ।

संघका अध्यक्ष दाहालले देशभरका चार  स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमलाई सहजै एसएमएस बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताए ।

वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एक पक्षले भङ्ग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *