लगानी सम्मेलन गर्न मन्त्रीको संयोजकत्वमा तयारी समिति गठन – Nepal Press

लगानी सम्मेलन गर्न मन्त्रीको संयोजकत्वमा तयारी समिति गठन

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी चैत १९ र २० गते गर्न लागेको लगानी सम्मेलनको तयारी गर्नका लागि तयारी समिति गठन गरेको छ ।

बिहीबार बसेको लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सम्मेलन गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव सदस्य रहेको तयारी समिति गठन गरेको हो ।

कोरोना भाइरसको संक्रमणपछि थलिएको आर्थिक क्षेत्रलाई माथि उठाउनका लागि लगानी सम्मेलन गर्न लागिएको र त्यसका लागि तयारी समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले हाल कोरोना संक्रमणको जोखिम रहेकाले प्रदेशका ४ वटा आइसोलेसन केन्द्र संचालन तथा व्यवस्थापनको लागि आगामी चैत्र मसान्तसम्मको म्याद थप गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्रबहादुर जिसीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । जिसीलाई राज्यमन्त्री सरहको सेवा सुविधा दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । गतवर्ष सरकारले यस्तो सम्मेलनको तयारी गरेको समयमा कोरोना महामारी शुरु भएपछि रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *