प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार – Nepal Press

प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका प्रभावशाली मन्त्रीहरूसँगको छलफलमा निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा आफ्ना आधा दर्जन सरोकार राखेको छ । आयोगले औपचारिक विषयबाहेक अरुमा चासो नराख्ने भन्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सकिने समेत जनाएको छ ।

आयोगले वैशाख १७ र २७ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ६३ लाख ४५ हजार मतदाताको नाम संकलन भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ६ देखि नै शुरू भएको मतदाता नामावली संकलन सकिएको बताएका हुन् ।

पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिक मतदाता सूचीमा समेटिएका छन् । फागुन २१ गते अन्तिम मतादाता नामावली सार्वजनिक गरिने जानकारीसमेत आयोगले सरकारलाई गराएको छ । अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य भइरहेको र निर्वाचन प्रयोगजनका लागि दल दर्ता तथा आचारसंहिताको मस्यौदा तयार भइरहेको थपलियाले बताए ।

आयोगका तर्फबाट प्रमुख आयुक्तले प्रधानमन्त्रीसमक्ष मुख्यगरी ६ वटा सरोकार राखिएको स्रोतले जनाएको छ । प्रमुख आयुक्त थपलियाले बुँदागतरूपमा प्रधानमन्त्रीसँग आयोगको धारणा राखेका थिए ।

छलफलमा सहभागी स्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको नोट अनुसार आयोगको सरोकार यसप्रकार छन् ।

१. कानून- निर्वाचन सम्पन्न गराउन कानुनी समस्या नरहेको भन्दै आयोगले कार्यविधि,निर्देशिका,आचारसंहिताजस्ता आन्तरिक कामहरू गरिरहेको थपलियाले बताएका छन् ।

२. बजेट- कोभिड महामारीका कारण यो चुनावमा अतिरिक्त खर्च लाग्न सक्ने भन्दै आयोगले करिब ७ अर्ब रूपैयाँ माग गरेको जानकारी थपलियाले गराएका थिए ।

३. सुरक्षा- आयोगले निर्वाचनको लागि सुरक्षाा योजना बनिरहेको भन्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्णसुनिश्चितता गर्ने थपलियाले बताए ।

४. प्राविधिक कार्य- आयोगको तर्फबाट गर्नुपर्ने प्राविधिक कार्यमा कुनै कमी नहुने थपलियाले बताए ।

५. अन्तर्राष्ट्रिय मान्यता- प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक कार्य अघि बढाउने थपलियाको भनाइ थियो ।

६. राजनीतिक वातावरण- आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने थपलियाले बताए । उनले नेकपा विवादको सन्दर्भमा माघ ११ गते आयोगले एउटा निर्णय गरिसकेको भन्दै एउटा पक्षले माघ २० गते राजनीतिक दल सम्बन्धी दफा ४३ र ४४ बमोजिम निवेदन दिएको जानकारी गराएका थिए ।

थपलियाले निर्वाचन आयोग औपचारिक जानकारी बाहेकका विषयमा नअल्मलिने भन्दै वैशाख १७ गते शुक्रवार र २७ गते सोमवारका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न दृढ रहेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठसहितको छलफलमा निर्वाचन तयारीकै विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले नेकपा विवादको बारेमा कुनै छलफल नभएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर