प्रिमियर लिगमा चेल्सीको खराब लय, म्यानचेस्टर सिटीसँग पराजित – Nepal Press

प्रिमियर लिगमा चेल्सीको खराब लय, म्यानचेस्टर सिटीसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा गएराति चेल्सीले म्यानचेस्टर सिटीसँग ३–१ गोलअन्तरको हार ब्यहोरेको छ ।

पछिल्ला खेलहरुमा खराब लयबाट गुज्रिरहेको चेल्सीका प्रशिक्षक तथा क्लबका पूर्व लेजेण्ड फ्र्यांक लाम्पार्डमाथिको दबाब बढिरहेको छ । प्रिमियर लिगका पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्र विजयी रह्यो ।

उपाधि दावेदार टोली सिटीविरुद्ध स्टाम्फोर्ड ब्रिजमा चेल्सीले कठिन चुनौती पेश गर्नै सकेन । घरेलु मैदानमा पहिलो हाफमै चेल्सी ३–० ले पछि पर्‍यो ।

१८ औं मिनेटमा फिलिप फोडेनको पासमा गुण्डोगानले गोल गरेपछि सिटीको अग्रता सुरु भएको हो । त्यसको तीन मिनेटपछि फोडेनले पनि गोल गरे । यसपल्ट केभिन डी ब्रुयनले उनलाई पास मिलाएका थिए ।

३४ औं मिनेटमा डी ब्रयनले गोल गरे र पहिलो हाफमै आरामदायी अवस्थामा पुर्‍याए । घरेलु टोलीका लागि कलम हड्सन ओडोईले खेलको इन्ज्युरी समयमा सान्त्वना गोल फर्काए ।

१७ खेलबाट २६ अंक भएको चेल्सी तालिकाको आठौं स्थानमा छ । म्यानचेस्टर सिटीको १५ खेलबाट २९ अंक पुगेको छ भने तालिकामा पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर