डिजिटल नेपालका लागि प्रधानमन्त्री दाहालदेखि पूर्वप्रधानमन्त्री ओलीसम्मको प्रतिबद्धता – Nepal Press

डिजिटल नेपालका लागि प्रधानमन्त्री दाहालदेखि पूर्वप्रधानमन्त्री ओलीसम्मको प्रतिबद्धता

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । शुक्रवार काठमाडौंको म्यारियट होटलमा आयोजना भएको डिजिटल नेपाल कन्क्लेभ २०२४ प्रधानमन्त्री सहित सरकारमा रहेका मन्त्री र पूर्वप्रधानमन्त्रीको समेत उपस्थिति सम्पन्न भएको हो ।

डिजिटल नेपालको डिजिटलाइजेसन र विकासबिचको समन्वय थिमका साथ सुरु गरिएको तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्व प्रधानमन्त्री केपी ओलीसम्मले डिजिटल नेपालको विकासका लागि आफ्नो प्रतिबद्धता जनाएका हुन् ।

कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र आर्थिक संवृद्धि हासिल गर्ने मुख्य क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरेर बजेटमा उच्च प्राथमिकता दिएको बताए ।

‘पावर संवाद विथ नेशनल कि लिडरसिप’ सेसनमा बोल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रविधिमैत्री सेवा प्रवाह र पूर्वाधार विकासमा जोड दिएको बताए ।

५ वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एपजस्ता रूपान्तरणकारी योजनाहरू सुरु भए पनि फेरिएको सरकारले त्यसलाई प्राथमिकता नदिएको ओलीको भनाई छ ।

डिजिटलाइजेसन, विकास र नीतिगत सुधारमा समन्वय तथा तालमेल हुन नसक्दा नीतिगत विचलन हुने र टिकटक जस्ता सामान्य विषयमा अल्झिनुपर्ने स्थिति आएको ओलीले बताए ।

एआइ प्रविधिको बारेमा बोल्दै ओलीले भने, ‘प्रविधिसँग हामी डराउने हैन, सदुपयोग गरेर नयाँ सिर्जना र उपलब्धि हासिल गर्ने हो, प्रविधिले जागिर खान्छ भनेर बस्ने हैन नयाँ जागिरको सिर्जना गरी छोटो समयमा अधिकतम फाइदा लिनेगर काम गर्नेतर्फ अग्रसर हुनुपर्छ” । स्टार्टअप र इन्नोभेसनलाई जोड दिँदै ओलीले आजको जमानामा सम्पत्ति धरौटी राखेर ऋण दिने नभई आइडिया लगानी गर्नुपर्ने बताए, त्यसो भएमा पैसा नभएको तर इन्नोभेटिभ मान्छेले केही गर्न सक्छ, असाधारण उपलब्धि पाउन सक्छ ।’

त्यसैगरी, कन्क्लेभको पावर संवाद सेसनमा बोल्दै सञ्चारमन्त्री शर्माले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्साहपूर्ण वातावरण बनेको बताइन् । सरकार, निजी क्षेत्र सबैको सामूहिक प्रयासमा सूचना प्रविधिलाई अगाडि बढाउनुपर्ने मन्त्री शर्माको भनाई छ ।

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने महत्त्वपूर्ण क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरी रूपान्तरणकारी क्षेत्रमा समावेश गरिएको बताए ।

‘आईसीटीको क्षेत्रमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ । प्रतिस्पर्धा गरी पनि रहेका छौँ । अझै यो क्षेत्रलाई प्राथमिकता दिएर तीव्र गतिमा लैजानु पर्छ भन्ने सरकारको निष्कर्ष छ । त्यसै अनुसार बजेटमा कार्यक्रम समावेश गरेका छौँ’, अर्थमन्त्री पुनले भने ।

२० बढी डिजिटल इनिसिएटिभहरुको प्रदर्शनीका साथै डिजिटल नेपालको विभिन्न क्षेत्रमा भइरहेका डिजिटल इनिसिएटिभ र प्रविधिहरूको बारेमा १२ आइडियाहरूले पिचिङ समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर